अपाङ्गता परिचयपत्र वितरण

डिसी नेपाल
२० असार २०७७ १७:२७

कास्की । बन्दाबन्दीका कारण रोकिएको अपाङ्ता परिचयपत्रलाई पोखरा महानगरले वितरण शुरु गरेको छ ।

महानगरको सामाजिक शाखाद्वारा बिहीबार र शुक्रबार दुई दिनमा ६५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको स्वाबलम्बी जीवन पद्धति समाजका महासचिव एवं अपाङ्गता परिचयपत्र वितरण समितिका सदस्य अञ्जना केसीले जानकारी दिइन्। उनले भने, “बन्दाबन्दीका कारण अपाङ्गता भएका थुप्रै व्यक्ति परिचयपत्र पाउनबाट बञ्चित हुनुभएको थियो, त्यसलाई ध्यान दिएर बिहीबार र शुक्रबार ६५ जनालाई परिचयपत्र वितरण भएको छ ।” उनले अति आवश्यक पर्ने केहीलाई बन्दाबन्दीका बीचमा पनि परिचयपत्र वितरण गरेर पछि समितिबाट पारित गरिएको जानकारी दिइन् ।

उनकाअनुसार पोखरा महानगरपालिका उपप्रमुख मञ्जदेवी गुरुङको संयोजकत्वमा गठित समितिले प्रत्येक महिनाको अन्तिम सोमबार अपागङ्ता परिचयपत्र वितरण गर्दै आएको थियो । बन्दाबन्दीका कारण गत फागुनदेखि जेठसम्म परिचयपत्र वितरण हुनसकेको थिएन । परिचयपत्र पूर्ण अशक्त, अतिअशक्त, मध्यम र सामान्य अपाङ्गता गरी चार तहमा विभाजन गरिएको छ ।

पूर्ण अशक्त अपाङ्गता भएकाको मासिक रु तीन हजार र अतिअशक्तले रु एक हजार ६०० मासिक भत्ता पाउँदै आएका छन् भने मध्यम र सामान्यले परिचयपत्रबाट अन्य सुविधा उपभोग गर्न पाउनेछन् ।

परिचयपत्रका लागि चिकित्सकको मेडिकल रिपोर्ट एवं सिफारिस, सम्बन्धित वडाको सिफारिस र आवश्यक कागजातका आधारमा समितिको निर्णयबाट वितरण गर्ने गरिन्छ । महानगरको ३३ वटा वडाबाट हालसम्म अपाङ्गता परिचयपत्र पाउने ७८५ जना रहेको उनले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *