पुनःस्थापना केन्द्र सञ्चालनसम्बन्धी विधेयक सच्याउन माग

डिसी नेपाल
२० असार २०७७ १८:५९

रुपन्देही । सेवा केन्द्र तथा पुनःस्थापना केन्द्रको स्थापना तथा सञ्चालन सेवा तथा पुनःस्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा रहेका त्रुटि सच्याएर मात्रै पारित गर्न सरोकार पक्षले सुझाव दिएको छ ।

विधेयकमाथि सरोकार पक्षको राय लिन आज बसेको सामाजिक विकास समितिको बैठकमा सहभागी विभिन्न सङ्घसस्थाका प्रतिनिधिले विधेयकको प्रस्तावना, कोषको सञ्चालन तथा पुनःस्थापना केन्द्रका काम, कर्तव्य र अधिकारमा धेरै विषय छुटेका कारण थप गर्न सुझाव दिए ।

बैठकमा मानव अधिकार आयोग प्रदेश नं ५ का निर्देशक सम्झना शर्माले लैङ्गिक हिंसा प्रभावितको सुरक्षा तथा उपचारका लागि पुनःस्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक आउनु राम्रो भएको बताउँदै सञ्चालनमा आउने अप्ठ्यारा परिस्थितिलाई ध्यानमा राखी सबै विषय समेटिनुपर्ने धारणा राखिन्।

कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले घरेलु हिंसा मात्र नभई सबै प्रकारका हिंसापीडितको सुरक्षाका लागि पुनःस्थापना केन्द्र आवश्यक रहने भएकाले प्रस्तावनामा सुधार गर्नुपर्ने बताइन् । माइती नेपालका भैरहवाका प्रमुख माया क्षेत्रीले लैङ्गिक हिंसा पीडितको सुरक्षा र सामाजिक पुनःस्थापनाका लागि दीर्घकालीन रुपमा रोजगारीको व्यवस्था हुनुपर्ने उल्लेख गरिन्।

समितिका सभापति दीर्घनारायण पाण्डेयले सबैका सुझावका आधारमा विधेयकमा छुटेका विषय समेटिने बताए। यसअघि प्रदेशसभामा प्रस्तुत उक्त विधेयक अपुरो भएको जनाउँदै संशोधन प्रस्ताव दर्ता भएपछि थप छलफलका लागि समितिमा पठाइएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *