द्वारीमा सडक भासियोः आवाजजावत ठप्प

डिसी नेपाल
२३ असार २०७७ २२:३२

बाजुरा । अविरल वर्षाका कारण साँफे –मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाका बूढीगंगा र बडिमालिका नगरपालिकाको सिमाना नजीकै पर्ने द्वारीमा सडक तलबाट बूढीगंगा नदीले काटेपछि पहिरो बगी सडक भासिएको हो ।

वर्षायाम शुरु भएसँंगै लगातारको वर्षाका कारण सडक ठाउँठाउँमा भत्किएको छ । सडक भासिएसंँगै साँफे –मार्तडी राजमार्ग अवरुद्ध हुनाका साथै आवतजावत ठप्प भएको छ । आज बिहान आएको भारी वर्षाका कारण द्वारीमा करीब चार मिटर सडक तल भासिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।

सडक खोल्नका लागि सडक डिभिजन कार्यालय अछामबाट स्काइभेटरसहित इञ्जिनीयरहरुको टोली आए पनि वर्षा नरोकिएका कारण सडक पुनः सञ्चालन नसकेको र बुधबार साँझसम्म मात्रै हुन सक्ने प्रजिअ गैरेले बताए।

अहिले साँफे –मार्तडी सडकमा साना तथा ठूला कुनै सवारी साधन चल्न सकेका छैनन् । मालवाहक ट्रक, ट्रयाक्टरलगायत साधन सडकमै अलपत्र छन् । पैदल यात्राबाट नै मानिसले सामान ओसारपसार गर्नुपर्ने बाध्यता रहेको र त्यसको प्रत्यक्ष मारमा ग्राहक नै पर्ने उद्योग वाणिज्य संघ बाजुराको भनाइ छ । हरेक वर्ष वर्षायाममा साँफे –मार्तडी सडक अवरुद्ध हुँदै आएको छ ।

तलबाट नियमित सडक भासिन थालेपछि अम्कोटबासीमा समेत चिन्ता थपिएको तथा रातभर जाग्राम बसेर रात कटाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी मनराज पाध्यायले गुनासो गरे ।

भत्किए दुई घर

निरन्तर परिरहेको वर्षाका कारण खप्तड छेडेदह गाउँपालिकामा दुई घर भत्किएका छन् । खप्तड छेडेदह –५ डोगडीका लालबहादुर रावतको घर भत्किँदा लाखाँैंको क्षति भएको स्थानीयवासीले बताएका छन् ।

कुनै मानवीय क्षति नभए पनि घरमा रहेका अन्नपात र लत्ताकपडा सबै पुरिएर नष्ट भएको वडाध्यक्ष हर्क रावतले बताए। वर्षाका कारण डोगडी गाउँको बिडेपाटाको रावतबाड टोलमा एक घर भत्किनाका साथै २५ घर पहिराको उच्च जोखिममा रहेको अध्यक्ष रावतको भनाइ छ ।

त्यस्तै वर्षाका कारण वडा नं ६ को सुदाडाका प्रभते नेपालीको घर भत्किएको बताइएको छ । पहिरो जोखिममा रहेका घरपरिवारलाई सतर्क रहन गाउँपालिकास्तरीय विपत् व्यवस्थापन समितिले आह्वान गरी गाउँपालिकाले पत्र समेत पठाइसकेको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *