वर्षात्का कारण डोटीका ग्रामीण सडक अवरुद्ध

डिसी नेपाल
२६ असार २०७७ ११:०२

डोटी । दुई दिनदेखि जारी भारी वर्षात्का कारण जिल्लाका अधिकांश ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ । वर्षात्ले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो गएपछि सवारीसाधन सञ्चालन हुन सकेको छैन। वर्षात्का कारण जिल्लाको मौवा, मेल्लेक, केआइसिंह, वाइल, कपल्लेकी, गड्सेरा, मुभारा धुर्कोट, चवराचौतारालगायत क्षेत्रका ग्रामीण सडक अवरुद्ध भएका छन्।

जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका ग्रामीण सडकमा दुई दिनदेखि परेको वर्षासँगै सवारीसाधन गुड्न सकेका छैनन्। वर्षा शुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन्।

गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति, निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगमा उपभोक्ता समितिमार्फत मनपरि सडक खनिएका कारण माथिबाट पहिरो खस्ने र अवरुद्ध हुने गरेको कपल्लेकी स्थानीयवासी रतन ऐरले बताए।

यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउनै नमिल्ने गरी बिग्रिएको सायल गाउँपालिका डौड–१ का स्थानीय डिलबहादुर सिंहले बताए ।

उनले भने, “उपभोक्ता समितिको मनपरि ढङ्गले काटिएका सडक बेकामै भएका छन्, सवारीसाधन त के मान्छे हिँड्नसमेत मुस्किल पर्न थालेको छ।” यहाँका अधिकांश ग्रामीण कच्ची सडकमा हिउँदको छ महिनामात्र सवारीसाधन सञ्चालन गर्न मिल्ने तथा हल्का वर्षा शुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदलमय हुने शैलेस्वरी यातायात व्यवसायी समितिका दिपायलका प्रमुख प्रेमबहादुर रावलले बताए ।

उनले भने, “बाटो लैजाने नाममा जथाभावी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुन्छन्, गाडी हाल्ने बित्तिकै दुर्घटना भैहाल्छ ।” यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउन अति जोखिममा रहेका छन्।

बिना मापदण्डका यी ग्रामीण सडकमा ठूलाठूला दुर्घटना हुँदासमेत सडकको स्तरोन्नतिका लागि खासै पहल हुन नसकेको स्थानीयको आरोप छ।

बजेट विनियोजन भएका ग्रामीण सडकमा समेत सरकारले रकम निकासा नदिँदा यहाँका ग्रामीण सडकको अवस्थाजस्ताको तस्तै रहेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय तथा काँग्रेस नेता खडकबहादुर बोहराले बताए ।

उनले भने, “सरकारीस्तरबाट विनियोजन भएको रकम निकासा नदिँदा सडकको दूरावस्ता भएको छ, ग्रामीण सडकको स्तरोन्नति गर्ने हो भने पर्याप्त बजेट आउनु पर्छ ।” ग्रामीण क्षेत्रका सडक ज्यानमारा सडकका रुपमा परिच हुन थालेका छन्।

जिल्ला समन्वय समिति, वडा, निर्वाचन क्षेत्र विकासको वर्षेनी त्यस्ता सडकमा रु १० करोडभन्दा बढी खर्च हुने गरेको छ । ती सडक प्राविधिकको वर्गीकरणमा ‘घ’ वर्गमा र अति जोखिममा परेका छन् ।

वर्षात्ले ग्रामीण सडक बन्द हुँदा उपचारका लागि आउने बिरामीका साथै सुत्केरी महिलाले दुःख पाउनुपरेको बडिकेदार गाउँपालिका–१ विपिनगरका स्थानीयवासी रोजबहादुर कलेलले बताए ।

उनले भने, “गाडीमा चढ्ने बानी परेकाले हिँड्न गाह्रो हुन्छ, गाउँघरमा कोही बिरामी पर्यो की बोक्नको समस्या हुन्छ ।” डोटीका गाउँगाउँमा पछिल्लो केही समययता सडक पुर्याउने होडबाजी नै चलेको छ।

विगतमा नेताले जनतासँग सडक पुर्याउने वाचा गरेअनुसार यहाँका गाउँमा सडक पुर्याउने होडबाजी चलेको स्थानीयवासी बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *