भारतीय न्युज च्यानल बन्द गरेकोमा आम नागरिक खुशी

डिसी नेपाल
२६ असार २०७७ १३:५९

काठमाडौं। भारतीय न्युज च्यानलले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध भ्रामक समाचार प्रशारण गरेपछि बिहीबार विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटरहरुले भारतीय न्युज च्यानल बन्द गरेपछि नेपाली नागरिक खुशी भएका छन्।

भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि भारतीय न्युज च्यानलले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रामक र आपत्तिजनक समाचार प्रशारण गर्दै आएका थिए। देश र सरकार प्रमुख विरुद्ध भ्रामक समाचार प्रशारण गर्ने भारतीय न्युज च्यानल बन्द भएपनि नागरिकहरु खुशी भएका हुन्।

भारतीय मिडियाले हद पार गरिसक्दा पनि सरकारले कुनै प्रतिक्रिया नजनाउँदा अचम्मित परेकी रामेछाप घर भई काठमाडौ बसोबास गर्ने गिता खाड्काले भनिन्, ‘भारतीय मिडियाको हेपाहा प्रवृत्तिले हद पार गरेको थियो। हाम्रो देश र हाम्रा प्रधानमन्त्रीप्रतिको नकारात्मक टिप्पणी हामी सहन सक्दैनौं। अहिले भारतीय न्युज च्यानल बन्द गरेर ठिक भएको छ।’

एउटा सार्वभौम मुलुक र त्यसका कार्यकारीलाई जोडेन अनर्गल प्रचार गर्नु पितपत्रकारिताको पराकाष्ठा भएको उनको बुझाइ छ।  ‘विश्वमा स्वतन्त्र भनिएर चिनिएको देश नेपाललाई भारतीय केही मिडियाले चीनको पोल्टामा नेपाल गएको भन्दै प्रसारण गरेको समाचारले आम नागरिकलाई नराम्रो लागेको बताउँदै काठमाडौं चावहिलका आयुष रायमाझी भन्छन्, ‘इतिहासमा आजसम्म कसैको गुलाम नभएको स्वतन्त्र मुलुक नेपाललाई भारतीय मिडियाले टिआरपी बढाउने नाममा चीनसँग जोडेर प्रचार गर्नु आपत्तिजनक छ।’

कलंकीका राजु घिमिरे भन्छन्, ‘पुर्खौं पुर्खादेखि स्वतन्त्र देश, स्वाभिमानी नेपाली भन्दै गर्व गरेका हामी कसरी चीनका गुलाम भयौं? त्यस्तो अफवाह फैलाउने भारतीय न्युज च्यानल अब सधैंका लागि बन्द हुनुपर्छ।’

आफूले भनेअनुसार नभएपछि भारतीय मिडियाले अहिले नेपाल र प्रधानमन्त्रीमाथि अफवाह फैलाएको भन्दै नैकापका वसन्त पनेरु भन्छन्, ‘भारतीय न्युज च्यानलको मुख्य उद्देश्य प्रधानमन्त्री केपी ओली र चीनबीचको सम्बन्धमा दरार पैदा गराउने रहेछ, सधैं जुकाले डसेगरी सिमाना डस्न पल्किएको भारतलाई जमिन फिर्ता गर्नुपर्छ भन्ने ठूलो डर भयो। हाम्रो देशको नेताहरुबीच मनमुटाब बढाएर देश कमजोर बनाउन चाहेका थिए भारतीय मिडियाले। बन्द गरेकोमा बढो आनन्द अनुभव भएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *