स्रष्टा उपाध्यायलाई विद्यापति मैथिली भाषा-साहित्य पुरस्कार
जनकपुरधाम । नेपाल सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा बर्सेनि दिइने नेपाल विद्यापति मैथिली भाषा-साहित्य पुरस्कार यस वर्ष धनुषा जिल्लाका चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिएको छ। पुरस्कारको राशि रु दुई लाख रहेको छ।
सुदामा चरित नामक खण्डकाव्यलगायत मैथिल संस्कृति, सभ्यता, भाषा र साहित्यका बारेमा दीर्घ लेखनका लागि उनलाई सो पुरस्कार प्रदान गरिएको हो। प्रदेश नं २ का प्रमुख तिलक परियारले विद्यापति पुरस्कार कोषद्वारा शनिबार जनकपुरधाममा आयोजित विशेष समारोहमा पुरस्कृत स्रष्टालाई पुरस्कार प्रदान गरे।
त्यस्तै कोषद्वारा रु एक लाख राशि भएको नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरी जिल्लाका दिनेश यादवलाई प्रदान गरिएको छ। उनलाई मैथिली भाषा, साहित्य र पत्रकारिताबारे अनुसन्धानका लागि सो पुरस्कारबाट पुरस्कृत गरिएको हो।
त्यस्तै नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार धनुषा जिल्लाका उपेन्द्र भगतनागवंशी, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सुनसरी जिल्लाका शिवनारायण पण्डित र नेपाल विद्यापति मैथिली कला, संस्कृति पुरस्कार धनुषा जिल्लाका लक्ष्मण मण्डललाई प्रदान गरिएको छ।
नागवंशीको काव्यकृति नामक कविता सङ्ग्रहको पाण्डुलिपि, पण्डितलाई भरत जङ्गमको नेपाली भाषाको ‘कालो सूर्य’ नामक उपन्यासको मैथिली अनुवाद र मण्डललाई मिथिला चित्रकलाका लागि पुरस्कृत गरिएको हो । ती पुरस्कारको राशि जनही रू एक लाख रहेको छ। सो अवसरमा प्रदेश प्रमुख परियारले भाषा सभ्यता, संस्कृति, प्रगतिशीलता एवं ज्ञानको सङ्ग्रहको द्योतक भएकाले यसको संरक्षण र विकासमा सबै पक्षको अग्रसरता आवश्यक रहेको प्रसङ्ग उल्लेख गरे।
मधेशी आयोगका अध्यक्ष विजय दत्तले कोषको अक्षयकोषको रकममा वृद्धि गरी अन्य भाषाका स्रष्टालाई पनि पुरस्कृत गर्नु जरूरी भएको बताए। पूर्वमन्त्री रामचन्द्र झाले प्रदेश नं २ सरकारले प्रदेशको कामकाज भाषा निर्धारण कार्यलाई अन्योल पारी भाषिक उत्थानलाई अवरूद्ध बनाएको चर्चा गर्दै मैथिली भाषालाई राजकीय संरक्षण अपरिहार्य भएको बताए ।
पुरस्कृत स्रष्टा दिनेश यादवले मैथिली भाषाको मानकीकरण गरी समावेशी बनाउँदै अविश्वासको वातावरण हटाउनु अपरिहार्य भइसकेको धारणा राखे । कोषका अध्यक्ष डा. रामसागर पण्डितको सभापतित्वमा भएको समारोहमा सदस्यसचिव नवीन मिश्र र सदस्य राजकुमार महासेठले पुरस्कारको महत्वबारे प्रकाश पारेका थिए ।







डिसी नेपाल








Facebook Comment