नक्कली कागजात तयार गरी मिर्गौला तस्करी गरेको आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ
फाईल तस्बिर
काठमाडौं। मिर्गौला प्रत्यारोपण गर्दा कानुनी प्रकृया पूरा गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले वडाध्यक्ष, चिकित्सकसहित १२ जनालाई पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला प्रत्यारोपण गरिएको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसका तीन चिकित्सक तथा कानुनी सल्लाहकारलगायतलाई पक्राउ गरी अनुसन्धान थालेको छ।
चितवनमा शुक्रबार शनिबार गरिएको अप्रेशनपछि ब्युरोको टोलीले चिकित्सकहरू डा. राकेशकुमार बर्मा, डा. सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेती तथा अस्पतालका कानुनी सल्लाहकार रमेश काफ्लेलाई पक्राउ गरी काठमाडौं ल्याएको छ।
प्रहरीले ललितपुर महानगरपालिका– ३ का वडाध्यक्ष गोपाल महर्जन र जिल्ला प्रशासन कार्यालय, चितवनका अधिकृत रामचन्द्र ढकाल पनि पक्राउ गरेको छ। साथै मिर्गौला खरिद–बिक्रीमा संलग्न गिरोहका व्यक्तिहरूसमेत पक्राउ गरेर काठमाडौ ल्याएको छ।
केही महिनाअघि ललितपुरका एक व्यक्तिको कलेज अफ मेडिकल साइन्सेसमा मिर्गौला प्रत्यारोपण गर्दा कुनै पनि आफन्त नपर्ने व्यक्तिको मिर्गौला निकालेर कानुनी प्रकृया पुरा गरी प्रत्यारोपण गरिएको थियो।
प्रहरीका अनुसार उनलाई भोजपुरका एक व्यक्तिले मिर्गौला दिएका थिए। नजिकको नातेदारले मात्रै मिर्गौला दिन पाउने भए पनि उनलाई नातेदार भएको नक्कली कागजपत्र बनाएर प्रत्यारोपण गरिएको थियो।
त्यस्तै, वडाध्यक्ष महर्जनले नाता नै नपर्ने व्यक्तिलाई नाता प्रमाणित गरेको र अधिकृत ढकालले मिर्गौला प्रत्यारोपणमा कागजपत्र र मान्छे प्रमाणित गर्दा आर्थिक प्रलोभनमा परेको प्रहरीको भनाई छ। प्रहरी स्रोतले दिएको जानकारी अनुसार मिर्गौला प्रत्यारोपण गर्ने व्यक्तिले २५ लाख रुपैयाँ खर्च गरेको तर मिगौला दिने व्यक्तिले दुई मात्रै दिइएको थियो।
मिर्गौला दिने व्यक्तिले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुमाथि अनुसन्धान शुरु गरेको थियो। व्यूरोका एसपी गोविन्द थपलियाले यो विषयमा थप अनुसन्धान गरिरहेको जनाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment