बैतडीमा स्वचालित मौसम केन्द्र स्थापना

डिसी नेपाल
२८ असार २०७७ २२:२४

बैतडी । बैतडीको सतबाँझमा स्वचालित मौसम उपकरण जडान गरी पूर्वसूचना प्रणालीको स्थापना गरिएको छ । सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्र उक्त उपकरण जडान गरिएको उपकरण कृषि विकास निर्देशनालय डोटीको सहयोगमा जडान गरिएको केन्द्रका कम्प्युटर अपरेटर गणेश भट्टले जानकारी दिए ।

उपकरण जडान गरिएसँगै मौसम पूर्वानूमान गर्न सकिने, वर्षा कति हुने, तापक्रम कति छ भन्ने थाहा पाउन सकिने जनाइएको छ । केन्द्रमा फलफूलका बोटबिरुवा कति तापक्रममा कुन प्रजातिका उत्पादन तथा फलाउन सकिन्छ भनेर पनि सो उपकरण जडान पछि सहज हुने बताइएको छ । कति तापक्रममा कस्तो खाले बिरुवा उपयुक्त हुन्छ सोहीअनुसार बोटबिरुवा लगाइने केन्द्रले जनाएको छ । निर्देशनालयको रु २९ लाखको सहयोगमा उक्त उपकरणहरु जडान गरिएका केन्द्रका निमित्त प्रमुख डम्बरसिंह भाटले बताए । यस केन्द्रबाट हरेक १५ मिनेटमा मौसमी सूचना सङ्कलन गर्ने र सो सूचना इन्टरनेटको सहायताले हेर्न सकिने बताइएको छ ।

विसं २०१९ मा स्थापना भएको बागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचित छ । केन्द्रमा हाल स्याउ, ओखर, खुर्पानी, जैतुनलगायत १३ किसिमका फलफूलका बिरुवा रोपिएका छन् । यसका साथै बिरुवा र तरकारी उत्पादनसमेत गर्ने गरिएको छ ।

सतबाँजमा दुईदशक अगाडि देशभरिकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न छोडेको छ । जलवायु परिवर्तनको असरले स्याउ फल्न छोडेपछि केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारी खेती गर्न थालेको हो । केन्द्रको २९ हेक्टर जमिनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तरकारीखेती गरिँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *