कोभिड -१९ ले महिलाहरू अति प्रभावित : अधिकारकर्मी

डिसी नेपाल
२९ असार २०७७ १६:५५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूकेले) ‘कोभिड १९’ ले महिलामा पारेको प्रभावबारे एक परिणाममुखी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार जुमबाट गरिएको उक्त अन्तरक्रियामा महिला बालवालिका तथा समाज कल्याण मन्त्री पार्वत गुरुङ प्रमुख अतिथि थिए ।

महिला अधिकार तथा सामाजिक अभियन्ताको रुपमा कार्यरत ६ जना वक्ता ‘प्यानलिस्ट’ थिए भने महिला अधिकारकर्मी, एनआरएन अभियन्ता, पत्रकार लगायत झन्डै ९० जना सहभागी थिए । एनआरएनए यूकेले अन्तरक्रियामा विषयगत रुपमा घनिभूत छलफल भएको जनाएको छ ।

नेपालका मन्त्री उपस्थित अन्तरक्रियामा उठान गरिएका विषय र त्यसमाथिको छलफलबाट प्राप्त निष्कर्ष सम्बन्धित क्षेत्रको समस्या पहिचान र समाधानका उपायहरुको कार्यान्वयनमा मद्दत पुग्ने संघका महासचिव फणिन्द्र भट्टराईले बताए।

उक्त कार्यक्रम संयोजन एनआरएनए यूकेकी उपाध्यक्ष रोजिना प्रधान राई र सञ्चालन पत्रकार तथा अधिकारकर्मी निर्मला शर्माले गरेकी थिइन् । गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङले अन्तरक्रिया कार्यक्रमको विषयवस्तु उठान गर्दै अहिले पनि नेपाली महिला देश तथा देश बाहिर पक्षपातपूर्ण व्यवहारको शिकार भइरहेको बताइन् । नेपाल र नेपाल बाहिरका नेपाली संघ संस्थाहरुमा समेत पुरुषहरु नै हावी भएको उनको दावी थियो । एनआरएन यूकेमा अहिले महिला नेतृत्व रहेको र यसमा झन्डै एक तिहाई महिला सहभागिता रहेको उनले जनाइन् ।

सञ्चालिका निर्मला शर्माले घर समस्या र बाध्यताले गर्दा वैदेशिक रोजगारमा गएका महिलाहरु स्वदेश फर्किएर आएपछि त्यही घरमा जान नसक्ने अवस्थामा पुनर्स्थापना सवाल लगायत महिला समस्याका अनेक आयाम उठान गर्दै बहस थालनी गरेकी थिइन् ।

कार्यक्रममा मन्त्री पार्वत गुरुङले एनआरएन यूकेको यस संवादले नीति निर्माण र कार्यान्वयन तहमा नेपाल सरकारलाई ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरे । वैदेशिक रोजगारका सुःखद दुःखद दुवै आयाम रहेको उल्लेख गर्दै मन्त्रीले नेपाल सरकार अल्पकालीन र दीर्घकालीन समस्या समाधानमा क्रियाशील रहेको बताए ।

पुरुषको तुलनामा महिलामा कोभिड(१९ संक्रमण र मृत्युदर कम रहेको उनले जनाए । विदेशबाट फर्किने महिलाका लागि तीनै तहका सरकार र अन्य संघसंस्थाले पनि सक्रिय भूमिका निर्वाह गरेका जनाउंदै मन्त्री गुरुङले संकटको बेला सेवा पुर्याउने संघसंस्थाप्रति आभार व्यक्त गरे । कोरोना पीडित महिलाहरुलाई सेवा पुर्याउने संघ संस्थालाई सरकारले पुरस्कारको व्यवस्था गर्ने पनि उनले जनाए ।

उनले विदेशमा कोभिड भोगेर नेपाललाई दिएको अनुभव र ज्ञान धेरै उपयोगी भएको बताउँदै आर्थिक, सामाजिक र शैक्षिक हिसाबले समाजलाई सक्षम बनाउनुपर्ने बेला भएकाले यसमा स्वतः लैंगिक समस्या जोडिन आउने उल्लेख गरे । समाज समृद्ध बनाउन उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण गर्न एनआरएनसँग साझेदारी गरेर काम गर्न नेपाल सरकार तत्पर रहेको पनि उनले बताए ।

कार्यक्रममा सांसद डिला संग्रौलाले विदेशबाट फर्किएका महिलाको वर्तमान अवस्था र पुनस्थापनाका विषयमा आफ्नो प्रस्तुति दिइन् । उनले कोभिड(१९ पश्चात अहिलेसम्म २४ हजार ३ सय ५१ जना नेपाल फर्किएकामा लैंगिक तथ्यांक नभएकोले महिलाबारे यकिन साथ भन्न नसकिने उल्लेख गरिन् ।

विदेशबाट फर्किएका महिलामा सीमा, विमानस्थल, होल्डिङ सेन्टर र यात्राको समस्या रहेको सांसद संगौलाले जनाइन् । अव्यवस्थित क्वारेन्टाइन र स्वास्थ्य जाँच हुन नसकेको अवस्थाबारे पनि उनले प्रकाश पारेकी थिइन् । उनले महिलालाई आत्मनिर्भर बनाउन सहुलियत ऋण, तालिम र सीप प्रदान जस्ता उपायको अवलम्बन गर्नुपर्नेमा जोड दिइन् ।

सामजिक अभियन्ता डा. रेणु अधिकारी राजभण्डारीले महिला हिंसा हिजो पनि र आज पनि रहेकामा ‘कोभिड १९’ ले समस्या थप उजागर गरेको जनाइन् । समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नदेखिएको बताउंदै उनले चेतना र सोच कसरी बदल्ने भन्ने मुख्य सवाल रहेको उल्लेख गरिन् । नेपाल सरकारले ‘इन्टरभेन्सन’ को योजनामा थुप्रै कम गरेपनि घरेलु हिंसा ब्याप्त रहेको उनले बताइन् । नेपाल फर्किएका महिलाहरु क्वारेन्टाइनबाट समुदायमा जांदा खास समस्या शुरु हुने देखिएको उनको भनाइ थियो । राज्यका स्वास्थ्य लगायत सबै निकायहरु परिचालन गरेर घर घरमै पुग्न आवश्यक रहेको उनले बताइन् ।

एनआरएनए आइसीसी मध्यपूर्वकी प्रतिनिधि यस्मिन बेगमले खाडी मुलुकका समस्या दर्शाइन् । उनले वैदेशिक रोजगारको ज्ञानमा कमी र घरेलु हिंसाका घट्ना पनि समस्याका रुपमा रहेको औंल्याइन् । खाडीबाट नेपाल फर्किएका महिलाको अवस्थामा राज्यको विशेष नजर आवश्यक देखिएको उनले बताइन् ।

एनआरएनए, आइसीसी महिला संयोजक भोमा लिम्बुले संसारभर परेको ‘कोभिड १९’ प्रभाव र विशेषतः महिलाहरुको समस्या बारेमा अध्यावधिक तथ्यांक प्रस्तुत गरिन् । संसारका विभिन्न महादेशमा फरक फरक प्रकृतिका समस्या रहेका बताउँदै उनले विशेष गरेर मध्यपूर्व र अफ्रिकामा गर्भवती लगायतका महिलाहरु शेल्टरमा समेत रहेका उल्लेख गरिन् । एनआरएनका सबै राष्ट्रिय समन्वय परिषदहरु सहयोगका लागि क्रियाशील रहेको जनाउँदै उनले नेपालमा संयुक्त क्वारेन्टाइन र बलात्कारका घटनामा नेपाल सरकारको ध्यानाकर्षण समेत गराइन् ।

पौरखी नेपाल आवद्ध मञ्जु गुरुङले नेपाली महिलाको सवालमा ‘घरले नहेरे माइत जानु, माइतीले पनि नहेरे मुग्लान जानु’ भन्ने उखान चरितार्थ रहेको बताइन् । नेपाल सरकारको प्रयासका बावजुद पनि महिलाका समस्या यथावत रहेका औंल्याउँदै उनले नेपालको सामाजिक सुरक्षा योगदानको आधारमा आधारित रहेको बताइन् । वैदेशिक रोजगार बोर्डको सेवा सुविधाबाट महिला वन्चित रहेको उनको धारणा थियो ।

कार्यक्रमका सहभागीमध्ये आइसीसी सदस्य रामशरण सिम्खडा, वरिष्ठ पत्रकार भागिरथ योगी, धर्म तामाङ ९यूके०, अम्बिका खत्री (कतार), यशोदा गुरुङ, हरी भट्टराई (बेल्जियम) अमृता गिरी, सुनिता गौतम, जानकी पौडेल (अष्ट्रेलिया), बाबा राजेश्वरी थापा ९अष्ट्रिया०, अमित चाम्लिड्ग (कुवेत), प्रकाश कोइराला (यूएई अध्यक्ष) डा सुस्मा बस्नेत, भगवती रानाभाट, राजकुमार थापा (पोर्चुगल), लगायतले मन्त्री तथा अन्य वक्तामाझ प्रश्न र सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अध्यक्ष पुनम गुरुङले छलफलमा उठेका समस्या, समाधानका उपाय, निष्कर्ष सहितको पूर्ण प्रतिवेदन गैर आवासीय नेपाली संघ बेलायतले एनआरएनए, आइसीसी लगायत नेपाल सरकारको सम्बन्धित मन्त्रालय, महिला अधिकारवादी संघसंगठन र अन्य सरोकारवाला निकायमा महत्वपूर्ण दस्तावेजको रुपमा प्रेषण र ‘फलोअप’ गर्ने बताइन् ।

अन्त्यमा गैरआवासीय नेपाली संघ बेलायतका तर्फबाट कार्यक्रम संयोजक रोजिना प्रधान राईले सबैलाई धन्यवाद दिदै यस्ता कार्यक्रमल् महिलाहरुको शसक्तिकरणमा विशेष योगदान रेहने हुंदा अधिकांश सहभागीहरूले यस्ता कार्यक्रम पुन आयोजना गर्न अनुरोध आएको बताइन । सहभागी मध्येकी समर्पण समूहकी कान्ती गुरूङ श्रेष्ठले यो तह र ब्यबस्थित कार्यक्रम मा पहिलो पटक सहभागी हुन पाएको चना एनआरएन यूकेलाई धन्यबाद दिइन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *