महिलाले अवसर पाए काम गर्न सक्छन् भन्ने मान्यतालाई स्थापित गरेकी छु : वडाध्यक्ष सापकोटा

डिसी नेपाल
३० असार २०७७ १६:३१

काठमाडौं । जनताले मत दिएर जिम्मेवारी दिएपनि महिला जनप्रतिनिधिलाई काम गर्न त्यति सहज छैन। महिला भएकै कारण आफ्ना साथी भाइबाट पनि अटेर गरिने र हेपिने गरिएको कतिपय महिला जनप्रतिनिधिको अनुभव छ। काठमाडौं जिल्लामा केवल २ जना वडा अध्यक्ष छन्।

संवैधानिक व्यवस्थाले वडाको कार्यकारी प्रमुखको अधिकार र जिम्मेवारी दिएपनि कतिपय कानुनी र प्राविधिक जटिलताले गर्दा खुलेर काम गर्न पाइएको गुनासो आइरहेका बेला काठमाडौं महानगरपालिका १४ वडाकी अध्यक्ष शोभा सापकोटा आफ्नो हालसम्मको कार्य अवधिमा नगरपालिकाबाट अपेक्षा गरिएको भन्दा बढी नै सहयोग पाएको बताउँछिन्।

नागरिकबाट सहयोग पाएजत्तिकै अन्य जनप्रतिनिधि र कर्मचारीबाट पनि पाएको उनको भनाइ छ। वडाका जनप्रतिनिधि र कर्मचारीबाट सहयोग पाएपनि आफ्ना केही सहयोगीबाट अपेक्षाकृत सहयोग नपाएको उनको गुनासो छ।

सार्वजनिक रुपमा लैंगिक समानताको कुरा गरिँदै गर्दा भित्रभित्रै महिला भएकै कारण असफल बनाउने प्रयास भइरहेको उनी गुनासो गर्छिन् । ‘एउटा वडा अध्यक्षको कुर्सी सम्हाल्दै गर्दा मसँग महिला भएकै कारण हेप्न खोज्ने प्रवृत्तिको अनुभव छ । सकेसम्म यसलाई तल पारौं भन्ने सोच हावी भइरहेको महसुस हुन्छ । मैले गरेका राम्रा कामको पनि नराम्रो प्रचार गरिन्छ’ उनले भनिन् ‘यसको कारणमा कुनै दुई मत नै छैन।’

५ वर्षको कार्यकालमा तीन वर्ष अवधी पार गर्दै गरेकी सापकोटा दुई बर्षपछि पनि नागरिकबाट आफ्नो पद यथावत राखिनेमा ढुक्क छिन्। कार्यकारी अधिकारसहित काम गर्दै जाँदा वडावासीको प्रशंशा पाएको दावी गर्ने सापकोटाले वडाबासीले आफूलाई सफल अध्यक्षको रुपमा स्वीकार गरेको समेत दावी गरिन् । ‘वडाबासीहरु बेलाबेलामा आउनु हुन्छ, मेरो कामप्रति सन्तुष्टि जनाउँदै धन्यवाद दिनुहुन्छ’ उनले थपिन् । समाजसेवाकै उद्देश्य लिएर राजनीतिमा आएको र निडर भएरै अहिलेसम्म टिकेकेो सापकोटा प्रस्ट रुपमा भन्छिन् ।

‘हामी महिलालाई टिक्न गाह्रो छ । कमजोर बनाउन धेरै प्रयास भए, म निडर भएरै टिकेकी हुँ’ जनआन्दोलनको क्रममा गोलीसमेत खाइसकेको अनुभव सुनाउँदै सापकोटा भन्छिन् ‘बन्दूकअगाडि जान सक्ने मलाई त गाह्रो छ सामान्य महिलाको अवस्था के होला ?’ नेपालमा एक समय राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख गरी टप ५ मध्ये ३ जना महिला भइसकेको स्मरण गर्दै सापकोटा भन्छिन् ‘सेरेमोनियल होइन कार्यकारी प्रमुख महिला हुनुपर्छ, देशले काँचुली फेर्छ ।’

स्थानीय तहको निर्वाचनमा संविधानले अनिवार्य गरेको पदबाहेक अन्य पदमा महानगरमा कुनै पनि दलले महिलालाई टिकट नदिएको स्मरण गर्दै उनले भनिन् ‘यसको कारण महिलाले सम्हाल्न सक्दिनन भन्ने सोच हो ।’ महानगरभित्र १० जना महिला वडाध्यक्षमा हुनुपर्ने उनको माग छ । ‘देशलाई समृद्धितिर लम्काउने हो भने महिला नेतृत्व चाहिन्छ । स्थानीयदेखि संघीय सरकारसम्म दस जना महिला वडाध्यक्ष दिएर हेर्नुस् अनि अनुभव गर्नुस् महिलाको काम कस्तो हुन्छ ?’

महिलाले पद सम्हालेको अधिकांश स्थानमा भ्रष्टाचार कम भएको दावी गर्दै सापकोटा भन्छिन् ‘महिलालाई पद दिएर हेर्नुस् म लेखेर दिन्छु, महिला नै अगाडि आउने हुन् भने हाम्रो देशमा हुने गरेको भ्रष्टाचार कम भएर जान्छ।’ अमेरिकाको पूर्व राष्ट्रपति बाराक ओबामाको भनाइ स्मरण गर्दै उनले भनिन् ‘ओबामाले सिंगापुरमा भएको एक सम्मेलनमा घोषणा गरेका थिए । देशका निर्णायक ठाउँमा महिला हुनुपर्छ । यदि देशलाई भ्रटचारबाट रोक्ने हो भने महिलाई निर्णायक जिम्मेवारी । त्यही कुुरा हाम्रो देशमा लागु हुनुपर्छ ।’

जनतासँग प्रत्यक्ष जोडिएको हुनाले वडा कार्यालयलाई बढी भार परेको छ । वडा सम्हाल्न जो कोहीलाई कठिन छ, कठिनाइमा लैंगिक विभेद छैन । ‘वडा कार्यालय प्रत्यक्ष जनतासँग जोडिएको सरकारी तह हो । जनताको समस्या प्रत्यक्ष महसुुस गर्नपर्छ। वडामा सजिलो छैन । तर, महिला भएकैले कठिनाइ छैन ।’

राजधानीमै लैंगिक विभेदको स्थितिबारे कुरा गर्दै गर्दा उनी दुर्गम नेपाल सम्झिन्छिन् ‘महानगरमै त महिला अगाडि आएको देखिदैन । पिछडिएका ठाउँका महिला कस्तो अवस्थामा होलान ?’ महानगरमा ‘सफल’ मानिएकी अध्यक्ष सापकोटाले वडाका महिलालाई प्राथमिकतामा राख्ने गरेकी छिन् । ‘महिलाल मेरो प्राथमिकता हुन्’ उनी भन्छिन् ‘हामिले महिला समूह गठन गरेका छौ । म आफैं सक्रिय छु । विभिन्न तालिम दिने गरेका छौ ताकि महिला आफै सक्षम बनुन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *