कैदीको चिन्तनमा सुधार ल्याउन शिक्षा, दीक्षा र मनोपरामर्श आवश्यक छ : गृहमन्त्री थापा

डिसी नेपाल
३० असार २०७७ १७:१८

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कारागारका लागि नयाँ संरचना विकास नगरी सुधार गृहमा परिणत गर्न नसकिने बताएका छन्। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भएको कारागार सुधार तथा कैदी व्यवस्थापनसम्बन्धी छलफलमा उनले अपराध कार्यकै कारण जेल गएका हुनाले चिन्तनमा सुधार ल्याउन कैदीलाई शिक्षा, दीक्षा र मनोपरामर्श सेवाको आवश्यकता औँल्याए ।

उनले भने, “कैदीको व्यवस्थापन र चिन्तनमा सुधार ल्याउन उनीहरुलाई श्रमसँग जोड्न आवश्यक छ, देशको समृद्धिका लागि कैदीको पनि योगदान हुन सक्छ ।” कारगारसम्बन्धी विद्यमान कानूनी व्यवस्थाअनुसार भाइनाइके र चौकीदारबाट कैदी चरम शोषण र उत्पीडनमा परिरहेको बताउँदै उनले भने, “जेलभित्रै पनि ठूलो अपराध छ ।”

बैठकमा यसअघि समितिका सदस्यले कोभिड–१९ को जोखिम बढेकाले कारागारमा कैदीको चाप घटाउन र कैदीलाई मानवीय व्यवहार गर्न सुझाव दिए । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि कारागारभित्र अझै एकतन्त्रीय शासन व्यवस्था विद्यमान रहेको बताउँदै सांसदहरुले जेलमा छुट्टै सत्ता भएकाले खुँखार अपराधीले अरूलाई पीडा र यातना दिइरहेकाले त्यो अवस्था अन्त्य हुनुपर्छ भने ।

मुलुकमा सुशासन कायम भएमा जेलमा रहेको कैदीको चाप स्वतः घट्ने बताउँदै सदस्यहरुले भने, “अपराध घटाउने कि अपराधी घटाउने भन्ने अहिलेको प्रश्न हो ।” कैदीलाई पालनपोषण र उपचार खर्च सरकारले भर्नुको साटो उसले पाउने पारिवारिक अंशबाट व्यहोर्नुपर्ने कानून आवश्यक छ भन्दै सांसदले कैदीले अपराधप्रति पश्चाताप गर्ने र व्यवहार सुधार गर्ने वातावरण बनाई दिनुपर्छ भने। खुला कारागार र सुधार गृहको जति नै कुरा गरे पनि जेल अझै पनि सुधार गृह होइन, यातना गृहका रुपमा रहेको हुँदा नारालाई व्यवहारमै कार्यान्वयनको खाँचो उनिहरुले औँल्याए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *