भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड खुल्यो

डिसी नेपाल
३० असार २०७७ १९:१०

हेटौँडा । अविरल आएको वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डको देउराली–गढी र सिमखोलामा गएको पहिरो पन्छाई भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने फाखेल सडकखण्डमा आज बिहानदेखि यातायात सेवा सञ्चालनमा ल्याएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि दक्षिणकालिकासम्मको सडकखण्डमा गएको पहिराहरु पन्छाई भोलि साँझ सम्ममा भीमफेदी काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

सो मन्त्रालयद्वारा भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने साढे १५ मिटर सडक विस्तार गर्ने क्रममा सम्बन्धित निर्माण व्यवसायीहरुले निर्माण कार्य सञ्चालन गरिरहेकाले वर्षात्को पानी अवरुद्ध हुने गरेकाले आगामी केही हप्तासम्मका लागि सबै प्रकारको सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले बताए ।

हेटौँडाबाट काठमाडौँतर्फ जाने सबै प्रकारको सवारीसाधनलाई आवश्यकता हेरी त्रिभुवन राजपथको बाइरोडबाट पठाउने गरिएको र अत्यावश्यक मोटरसाइकल र जीपहरुलाई भीमफेदी कुलेखानीतर्फ पठाउने गरिएको भैँसे प्रहरी चौकीका इन्चार्ज सई कुलबहादुर श्रेष्ठले जानकारी दिए । यसैगरी हेटौँडाबाट ललितपुरको सातदोबाटो जोड्ने करीब ९० किलोमिटर सडकको विभिन्न स्थानमा गएको पहिरो पन्छाउन र बाइपास सडक निर्माण गरी सञ्चालनमा ल्याउन करीब एक महिनाको समय लाग्ने भएको प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *