विद्युत्को पहुँच नभएको गाउँमा ४६ किलोवाटको विद्युत् उत्पादन हुँदै

डिसी नेपाल
३० असार २०७७ २२:१९

रुकुमपूर्व । विद्युत्को पहुँच नभएको रुकुम–पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ मा पहिलोपटक विद्युत् उत्पादन हुने भएको छ । सिस्ने–१ स्थित पाखा ओराली खोला लघुजल विद्युत् आयोजनाबाट ४६ किलोवाट क्षमताको विद्युत् उत्पादन हुन लागेको हो ।

सिस्नेको आठ वडामध्ये हालको सिस्ने गाउँपालिका वडा नम्बर १ सिस्ने एवं साविकको सिस्ने गाविसमा विद्युत्, सञ्चार र यातायातको सुविधा अहिलेसम्म पुगेको छैन । यस वडामा ४४१ घरधुरी छन् । उनीहरु सोलार, टर्च लाइट र दियोको भरमा बसिरहेका छन् ।

आर्थिक वर्ष २०७५÷७६ मा वडाको रु ३० लाख र गाउँपालिकाको रु १० लाख गरी रु ४० लाख बजेटले विद्युत् उत्पादनको काम शुरु गरिएको वडाध्यक्ष मानबहादुर बुढाले बताए । रु ४० लाख बजेटले ११ हजार २०० मिटर तार खरिद, एक हजार २०० मिटरमा नहर निर्माण, विद्युत् पावर हाउसको जग निर्माण, ५७ फलामका पोल खरिद र खरिद गरिएको सामान ढुवानी गरिएको वडाध्यक्ष बुढाले जानकारी दिए ।

उक्त वडामा सडक सुविधा नभएकाले मानिस एवं घोडा÷खच्चडबाट सामान ओसारपसार गर्नुपर्ने बाध्यता छ । मानिस वा घोडा÷खच्चडबाट ओसार्न सम्भव नभएका सामानलाई हेलिकप्टरबाट सारिने वडाध्यक्ष बुढाको भनाइ छ । चालु आर्थिक वर्षमा वडाको रु ३० लाख र गाउँपालिकाको रु ५० लाख गरी रु ८० लाख बजेटको काम भइरहेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष रजबहादुर बुढाले बताए । उक्त बजेटबाट २५ केभीको एक ट्रान्सफर्मर खरिद, मूल नहरदेखि पावर हाउससम्म पानी ल्याउनका लागि एक हजार दुई सय मिटरको पाइप खरिद र तत्काल आवश्यक पर्ने सामान खरिद गरी घोडा खच्चडबाट ढुवानी गर्ने काम भइरहेको उनले बताए।

विद्युत् उत्पादनको लागि डिपीआर गर्दा रु तीन करोड ८८ लाख बरावरको लागत स्टेमेट तयार भएको छ । आगामी आर्थिक वर्षका लागि वडाको रु २० लाख, गाउँपालिका र प्रदेश सरकारको रु ५०÷५० लाख गरी रु एक करोड २० लाखमा विद्युत् आयोजनाको काम हुने वडाध्यक्ष बुढाले जानकारी दिए । आगामी वर्षको चैत महिनासम्ममा विद्युत् पुग्ने गरी काम भइरहेको उपभोक्ता समितिले जनाएको छ ।

उक्त विद्युत् आयोजनाको काम सम्पन्न भयो भने सिस्नेवासी अँध्यारोबाट मुक्त हुनेछन् । दियाको भरमा जिन्दगी चलाइरहेका उनीहरुलाई विद्युत् उत्पादन भए धेरै सहज हुने स्थानीयवासीले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *