बर्सेनि पहिरोकै पिरलो, वर्षाले झनै जोखिम बढायो
सांकेतिक तस्विर
बैतडी । मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ डोलमा करिब ६० वर्षदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा उक्त क्षेत्रका नागरिकलाई बर्सातको समयमा हरेक वर्ष चिन्ता हुने गरेको छ।
विसं २०१८ देखि शुरु भएको पहिरोले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिरोले खेत बगाउने क्रम जारी छ।
तत्कालीन राजा वीरेन्द्रले डोल बस्ती स्थानान्तरणका लागि हुकुमप्रमाङ्गी दिएको भए पनि राजनीतिक खिचातानीले बस्ती स्थानान्तरण हुन नसकेको स्थानीयवासी वीरसिंह भण्डारीले बताए।
ठूलो पहिरो भएकाले हरेक वर्ष खस्ने गरेकाले पहिरोले बर्सेनि सताउने गरेको स्थानीय भोजराज जोशीले बताए । “कमेरोयुक्त माटो भएकाले पहिरो नियन्त्रणमा आउन सकेको छैन”, उनले भने, “वर्षा शुरु भयो कि पहिरोकै डर हुने गर्दछ।”
पहिरोकै कारण घर भत्कने अवस्थामा पुगेको स्थानीय लोगसिंह भाटले जानकारी दिए । उनले भने, “आँगन नजिकैबाट पहिरो गएकाले निकै डर लाग्ने गर्दछ।” अहिले पनि २०–२५ परिवार पहिरोको जोखिममा रहेका भाटको भनाइ छ।
यस्तै पुर्चौंडी नगरपालिका–८ लामुनी पहिरोको सास्ती पनि उस्तै छ । पहिरोले प्रत्येक वर्ष नोक्सानी गर्ने गरेको स्थानीय गणेश साउदले जानकारी दिए ।
पहिरोका कारण खेतीयोग्य जमीन प्रत्येक वर्ष बग्दै गएको छ। उनले भने, “पहिरो नियन्त्रणका लागि करिब रु दुई करोड खर्च भइसकेको भए पनि पहिरोमुनि तटबन्ध निर्माण गरेको हुँदा तटबन्ध पनि पहिरोले बगाउने गरेको छ।”
यस्तै मेलौली नगरपालिकाको विशालपुरमा पनि पहिरोको जोखिम रहेको स्थानीय महेश भट्टले जानकारी दिए । उनले भने, “पहिरोका कारण प्रत्येक वर्षामा स्थानीयवासी डरमै बस्नुपर्ने अवस्था छ।”
वर्षा शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्दै गएको स्थानीयवासीले बताएका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार बैतडीका आठ स्थानीय तहमा पहिरोको उच्च जोखिम छ तर पनि धेरै स्थानीय तहहरुले विपद् व्यवस्थापन योजना बनाउन सकेका छैनन्। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment