एनआरएनए कतारले ५५ नेपालीलाई हवाइ टिकट उपलब्ध गराउने, पीडितलाई सम्पर्कमा आउन आह्वान

डिसी नेपाल
३१ असार २०७७ १७:४१

काठमाडौं। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कतारले ५५ जना नेपालीलाई हवाइ टिकट उपलब्ध गराउने भएको छ । संघले कोरोनाका कारण रोजगारी गुमाएर टिकट काट्न नसकी कतारमै अड्किएका नेपालीलाई टिकटको व्यवस्था गर्न लागेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्त्तदाले डिसी नेपाललाई जानकारी दिए।

अध्यक्ष मुक्त्तदाका अनुसार नेपाली दूतावासको संरक्षकत्वमा कतारमा क्रियाशिल रहेका अन्य नेपाली संघसंस्थासँग समन्वय गरेर संघले पहिलो चरणमा अत्यन्तै समस्यामा परेका ५५ जना पीडित नेपालीलाई स्वदेश फर्कन टिकटको व्यवस्था गर्न लागेको हो। ‘एनआरएनएले कतारमा रहेका विभिन्न संघसस्था र नेपाली व्यवसायीहरुको समन्वयमा वास्तविक पीडितलाई टिकट उपलब्ध गराउने निणर्य गरेको छ। पहिलो चरणमा ५५ जनालाई उपलब्ध गराइनेछ,’ मुक्त्तादाले दोहाबाट टेलिफोनमा भने, ‘ त्यसका लागि स्वयं मेरो संयोजकत्वमा ११ सदस्यीय एक समिति गठन भएको छ ।’ समितिमा कतारमा सक्रिय रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिलाई पनि समावेश गरिएको उनले बताए।

संघले त्यसका लागि एउटा मापदण्ड समेत बनाएको उनले जानकारी दिए। स्वास्थ्यमा गम्भिर समस्या भएका, लामो समयदेखि कतारको अस्पातालमा उपचार गराइरहेका र कोरोनाका कारण रोजगारी गुमाइ बाध्यतावस स्वदेश फर्कनै पर्ने तथा कुनै माध्यमबाट पनि टिकटको जोहो गर्न नसक्ने अवस्थामा रहेका नेपालीहरु प्राथामिकतामा पर्ने उनले बताए।

त्यसका लागि कतारमा रहेका नेपाली संघसंस्थाहरुलाई पीडित नेपाली श्रमिकहरुको विवरण एनआरएनएको इमेलमापठाउन समेत अध्यक्ष मुक्तादाले अनुरोध गरेका छन्। इमेलमा विवरण पठाउँदा पीडितको नाम थर, राहदानीको प्रतिलिपी, नेपालको ठेगाना,कम्पनीको नाम, आइडी वा रोजगार समाप्त भएको मिति र घर फर्कन आर्थिक श्रोत नजुटेको कारण समेत खुलाउनु पर्नेछ। इमेलमा प्राप्त प्रमाण हेरेर प्राथामिकतका आधारमा कार्यान्यन समितिले ५५ जना पीडितलाई छनोट गर्ने उनले बताए।  समितिले छनोटमा परेका पीडितहरुको नाम दूतावासमा पठाउनेछ ।

सरकारले कतारबाट फर्कन चार्टर्ड उडानका लागि ३९२ अमेरिकी डलर भाडादर तोकेको छ । कतारबाट अबको एक हप्ताभित्रमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका छ–छ वटा जहाजले उडान भर्ने तालिका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *