लकडाउनकाकारण विदेशी मुद्रा सञ्चितिमा सरकारलाई राहत

डिसी नेपाल
२ साउन २०७७ १७:४९

काठमाडौं । कोभिड–१९ को महामारी र संक्रमण रोक्नगरिएको लकडाउनका कारण आयात घट्दा सरकारको विदेशीमुद्रा सञ्चिति उच्च भएको छ । जेठ महिनासम्म सरकारसँग एक वर्षको आयात धान्ने विदेशी मुद्रा सञ्चिति पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको देशको आर्थिक अवस्थाबारेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६÷७७को एघार महिनामाकुल वस्तु आयात १५.३ प्रतिशतले घटेर रु.११ खर्ब ८१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.३ प्रतिशत, ९.० प्रतिशत र ४.१ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, कम्प्युटर तथा पार्टपुर्जा, खानेतेल लगायतका वस्तुको आयात बढेको छ भने सुन, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेशीनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबररहेको कुल विदेशी विनिमय सञ्चिति २५.८ प्रतिशतले बृद्धिभई २०७७ जेठ मसान्तमा रु.१३०६ अर्ब ४६ करोड पुगेकोछ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असारमसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ जेठ मसान्तमा १० अर्ब ७९ करोड पुगेको छ । विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को एघार महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.३ महिनाको वस्तु आयात र ११.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

लकडाउनका कारण आयात घटेकाले विदेशी विनिमय सञ्चिति बढेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । कोरोना महामारीका कारण सुनको भाउ उच्चहुँदा आयात भएको छैन । यसैगरी सवारी साधनको साथै प्रेट्रोलियम पदार्थ आयात पनि घटेको छ ।

लकडाउनका कारण पर्यटकबाट हुने विदेशी मुद्रा आम्दानीमा असर परेपनि रेमिट्यान्समा खासै असर नपरेकाले पनि विदेशी मुद्रा सञ्चितिमा असर नपरेको राष्ट्र बैंकले जनाएको छ ।
गत आवको जेठ मसान्तसम्म सातखर्व ७४ अर्ब ८७ करोड रेमिट्यान्स आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *