कतारको सूचिमा नेपाल उच्च जोखिममा, विदामा आएका कामदार तत्काल फर्कन मुस्किल

बिनेश खनाल
७ साउन २०७७ ९:००

काठमाडौँ । कतारले नेपाललाई कोरोनाको उच्च जोखिम रहेको देशको रुपमा सूचिकृत गरेको छ । कतारको जन स्वास्थ्य मन्त्रालयले मंगलबार कोभिड–१९ को महामारीको जोखिम न्यून भएका देशहरुको सूची जारी गरेको छ । मन्त्रालयले जारी गरेको सो सूचिमा नेपाललाई न्यून जोखिममा नभई उच्च जोखिममै राखिएको छ ।

कतारले बुधवारदेखि लागू हुने गरी नेपालबाहेकका अन्य ४० वटा देशहरुलाई न्यून जोखिमको सूचिमा राखेको छ । कतारले नेपालबाहेकका भारत, बंगालादेश, पाकिस्तानलगायतका देशहरुलाई समेत कोरोनाको उच्च जोखिम रहेका मुलुकहरुमा राखेको छ ।

कम प्रभावित मुलुकमा समावेश भएका यी ४० देशका नागरिकहरुले आउँदो १ अगष्टदेखि कतारमा प्रवेश पाउनेछन् । तर, उच्च जोखिममा रहेका नेपाल लगायतका मुलुकका नागरिकहरुले भने तत्काल कतार जान पाउने छैनन् । सिधा रुपमा प्रवेश नपाइने नभनिएको भए पनि उच्च जोखिममा परेका देशका नागरिकले प्रवेश पाउने मापदण्ड नै तोकिएको छेन । जसको अर्थ कतार प्रवेश नपाउनु नै हुन्छ । उनीहरुले कतार प्रवेशका लागि अझै केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

जोखिमयुत्तः देशहरुको सूचि हरेक २ हप्तामा अद्यावधिक गर्ने भनिएको छ । अबको २ हप्तापछि यो सूचि अद्यावधिक हुँदा नेपाल न्यून जोखिमयुक्त देशमा सूचिकृत भएमा नेपालीको लागि कतार जाने बाटो खुल्नेछ तर उच्च जोखिमयुक्त सूचीमै रहेमा भने नेपालीले कम्तीमा अर्को २ हप्ता पर्खिनुपर्नेछ ।

अहिले न्यून जोखिम परेका देशहरुबाट कतार जानेहरुले समेत त्यहाँको सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्नेछ । कम प्रभावितको सूचिमा परेका नागरिकहरुले कतार फर्कनको लागि ४८ घण्टासम्म मान्यता हुने कोरोनाको संक्रमण नभएको रिपोर्ट साथमा राख्नुपर्ने हुन्छ । त्यस्तै उनीहरुले दोहाको विमानस्थलमा ओर्लिएपछि १४ दिनसम्म आफ्नै खर्चमा तोकिएको होटेल क्वारेन्टाइनमा बस्नु पर्नेछ, होटेल क्वारेन्टाइनको बसाइ सकाएपछि एक हप्ता होम क्वारेन्टाइनमा बस्नु पर्नेछ र एह्तराजको एपको प्रयोग गर्नु पर्नेछ । यी नियम पालना गर्नका लागि विमानस्थलमा ओर्लिनासाथ सरकारसँग लिखित सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विदामा आएका नेपाली फर्कन नपाउने

कतार सरकारले जारी गरेको यो नियमबाट कोरोनाको महामारीअघि घर विदामा आएका नेपाली त्यहाँ कहिले फर्कन पाउने भन्ने विषय अन्यौल बनेको छ । यद्यपि कतारले पछिल्लो अवस्था हेरेर हरेक दुई हप्तामा यो सूचि फेरबदल गर्न सकिने जनाएकोले उनीहरु छिटै फर्कन पाउने सम्भावना भने कायमै छ । नेपाल सरकारले विदेशबाट घर विदामा आएका नेपालीहरुलाई सोही कम्पनीमा रोजगारीको लागि फर्कन पुनः श्रम स्वीकृती दिन थालिसकेको छ । सरकारले पुन : श्रम स्वीकृती प्रदान गर्न थालेपछि कतारबाट विदामा आएका सयौँ नेपालीले फर्कनको लागि श्रम स्वीकृती लिइसकेका छन् । नलिएकाहरुले पनि लिने क्रम जारी छ ।

वैदशिक रोजगार कार्यालय, ताहाचलका सूचना अधिकारी छत्र शाहका अनुसार सरकारले पुनः श्रम स्वीकृती दिन सुरु गरेयता कतारका लागि ६०७ जना नेपालीले पुनः श्रम स्वीकृती लिएका छन् । जसमा ५८८ पुरुष र १९ जना महिला कामदार छन् । गत असार १८ गतेदेखि पुनः श्रम स्वीकृती खुला गरिएको थियो ।

यसरी श्रम स्वीकृती लिइसकेकाहरु कतार फर्कनको लागि उडानको प्रतिक्षामा थिए । सरकारले पनि आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको थियो । सरकारको यो निणर्यसँगै उनीहरु कतार फर्कन अन्तर्राष्ट्रिय उडान कुरेर बसिरहेका थिए । तर, कतारले नेपाललाई उच्च जोखिममा राखेपछि उनीहरु फर्कन नपाउने भएका छन् ।

कतार फर्कन हतारिनु हुँदैनः राजदूत भारद्वाज

कतारका लागि नेपाली राजदूत डा. नारद भारद्वाजले विदामा नेपाल आएकाहरुलाई कमर्थलो कतार फर्कन हतार नर्गन सुझाव दिएका छन् । कतारमा कोरोनाको महामारी पहिलाको तुलनामा कम हुँदै गएता पनि साम्य अझै नभएकोले फर्कन हतार नर्गन उनले सुझाएका छन् ।

‘पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणदर घट्दो रुपमा रहेपनि निर्मुल भएको छैन,’ उनले डिसी नेपालसँग टेलिफोनमा भने, ‘स्वदेशमा रहेका नेपालीहरु अहिले नै यता फर्कन हतारिनु हुँदैन । अघिल्ला दिनहरुको अवस्था पनि हेर्नुपर्ने हुन्छ ।’

कतारले नेपाललाई न्यून जोखिममा सूचीकृत गरेर फर्कन सहज गराइदिए पनि अहिले नै फर्कदाँ विभिन्न झमेला समेत व्योहोर्नु पर्ने उनले बताए । ‘केही समयपछि अवस्था हेरेर नेपाललाई न्यून जोखिममा राख्ला । नेपालीहरु फर्कन थाल्छन होला,’ उनले भने, ‘तर, यहाँ फर्किएपछि त्यति सहज हुनेछैन। खर्च पनि उत्तिकै हुन्छ । विभिन्न झमेला पनि हुन्छ ।’

कतार पुगेपछि जोसुकै पनि १४ दिनसम्म सरकारले तोकेको होटल क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । राजदूत भारद्वाजका अनुसार यसरी १४ दिनसम्म होटेल क्वारेन्टाइनमा बस्न ३ हजार कतारी रियल (नेपाली करिब ९० हजार) खर्च हुन्छ । त्यसपछि फेरि होम क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । घरमा बस्दा पनि रोजगारी नहुँदा खर्च मात्रै हुन्छ । क्वारेन्टाइनको सबै प्रक्रिया पूरा गरेपछि पनि कम्पनीको काममा फर्किहाल्ने अवस्था नहुने उनले बताए ।

कतारका कम्पनीहरु यतिबेला पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । कोरोना कहर अझै नसकिएको हुनाले कम्पनीहरुले परियोजनाहरुको काम सुरु गरिसकेका छैनन् । कम्पनीहरुले ठूला प्रोजेक्ट नलिइकेको अवस्थामा अहिले चलिरहेका कम्पनीहरु बन्द नै हुने जोखिम हुने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *