कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ८१३ नाघ्यो
सुर्खेत । नेपाल सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको बन्दाबन्दी यही साउन ६ गतेराति १२ः०० बजेदेखि खुला गरेपछि नागरिकलाई राहत मिलेको छ । यद्यपि बन्दाबन्दीको राहतमा सरकारले निर्देशन गरेका विषयमा गम्भीर नभएर नागरिकको स्वास्थ्यमा आघात पुग्ने पनि त्यत्तिकै खतरा छ ।
समाजका सबै ठाउँमा कोरोना सङ्क्रमण नियन्त्रण आउन सकेको छैन तर मुलुकका सबै क्षेत्र खुला भइसकेका छन् । कोरोना सङ्क्रमण भने नियन्त्रणमा आएकै छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरडिटी पिसिआर परीक्षणमा बुधबार कालीकोट रास्कोट नगरपालिकाका छ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख ठाँटीकाँध गाउँपालिका १६ गरी २२ जना कोरोना सङ्क्रमित भेटिए ।
आज पनि दैलेख अस्पतालले गरेको आरटी पिसिआर परीक्षणमा २४ र प्रदेश अस्पताल सुर्खेतमा सुर्खेतका पाँच र सल्यानका एक गरी थप ३० जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारी मिडिया ब्रिफिङद्वारा जानकारी दिए।
दैलेखमा २४, सुर्खेतमा पाँच र सल्यानमा एक थपिसँगै आजका दिनसम्म कर्णालीमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ८१३ पुगेको महाशाखा प्रमुख डा तिवारीले बताए । कोरोना सङ्क्रमण पुष्टि भएका ८६ प्रतिशत सङ्क्रमित निको भएर घर फर्के पनि सङ्क्रमण नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ ।
बुधबार दैलेख अस्पतालले सार्वजनिक गरेको आरटी पिसिआर परीक्षणको रिपोर्टअनुसार कोरोना सङ्क्रमण समुदायस्तरसम्म फैलिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना सम्पर्क व्यक्ति थीरप्रसाद रेग्मीले समुदायस्तरमा कोरोना सङ्क्रमण छ वा छैन भनी दैलेख ठाँटीकाँध गाउँपालिकाका ४९ व्यक्तिमा नमूना परीक्षण गरिएकामा १६ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको बताए।
उनका अनुसार सङ्क्रमित व्यक्ति उक्त गाउँपालिकाका १–६ वडाका थिए । यो अवस्थालाई नियाल्दा उनीहरु कोरोना प्रभावित क्षेत्रबाट नआएर गाउँकै व्यक्ति भएको जनाइएको छ । यसबाट समुदायका अन्य नागरिकमा कोरोना सङ्क्रमणको आशङ्का बढेको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले सरकारले बन्दाबन्दी खुला गरिसकेकाले अब नागरिक आफैँ अनुशासित भएर यो रोगबाट बच्नुपर्ने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment