जापान पठाइदिन्छु भन्नेहरुको विश्वास नगर्न सरकारको आग्रह, निजी क्षेत्रको कुनै भूमिका नहुने

डिसी नेपाल
११ साउन २०७७ ११:५३

काठमाडौँ । के तपाइको केयर वर्क सम्बन्धी कामको छनौट अन्तर्वार्ता लिने जापानी कम्पनी र त्यसको डिमाण्ड लेटरलाई नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले छनौटको लागि पूर्व स्वीकृति दिएको छ ? कतै तपाइलाई जापानमा काम लगाइदिन्छु भन्दै जापानिजहरुसँग स्काइपमा अन्तर्वार्ता लिँदै जापानिज भाषा प्रशिक्षण केन्द्रहरुले मूर्ख बनाउदै ठगी गरिरहेका त छैनन् ? सचेत रहनुहोस् ! वैदेशिक रोजगार विभागको पूर्व स्वीकृति बिना आफूखुसी छनौट गर्न नपाउने र अन्तिम श्रम स्वीकृति बिना जापानमा कामको लागि उड्न नपाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै जापान पठाइदिने भन्दै भ्रमपूर्ण प्रचार गर्नेहरुको विश्वासमा नपर्न आग्रह गरेको हो । नेपाल सरकार र जापान सरकारबीच भएको स्पेसिफाइड स्कील्ड वर्कर (एसएसडब्लु) प्रणाली अन्तर्गत जापान रोजगारीमा पठाइदिने भनेर केही जापानी भाषा प्रशिक्षण केन्द्र लगायत सीप प्रशिक्षण केन्द्रहरुले भ्रमपूर्ण प्रचार गरिरहेको गुनासो बढेपछि त्यस्ताको विश्वास नगर्न मन्त्रालयले सचेत गराएको हो ।

मन्त्रालयले सन् २०१९ मार्चमा नेपाल सरकार र जापान सरकारबीच भएको एमओसी (सहयोग ज्ञापनपत्र ) अनुसार कामदार पठाउँदा वैदेशिक रोजगार विभागको जापान ईकाई मार्फत कामदार छनौट हुने व्यवस्था रहेको जनाएको छ । कामदार छनौट गर्दा नेपालका निजी क्षेत्रको कुनै भूमिका समेत नहुने हुँदा निजी क्षेत्रहरुसँग कुनै पनि किसिमको कारोबार तथा ब्यबहार नगर्न सचेत गराएको छ।

जापान सरकारले २०१९ सालको अप्रिल महिनाबाट जारी नयाँ भिसा स्पेसिफिक स्किल्स वर्क ( एसएसडब्लु ) अन्तर्गतको केयर वर्कमा जापानमा काम गर्न जान जापान फाउन्डेसनको जापानिज भाषा तथा सीप परिक्षा पास गर्नुपर्ने हुन्छ । यी दुवै परीक्षणहरु जापान सरकारकै तर्फबाट छनौट भएको जापान फाउण्डेसनले मात्र गरिरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले सो परीक्षाहरुको तयारी कक्षा गर्ने धेरै भाषा प्रशिक्षण केन्द्र या कन्सल्टेन्सीहरुले अहिले सामाजिक संजाल फेसबुकमा बिना पूर्व श्रम स्वीकृति तथा श्रम मन्त्रालयले तोकिएको सेवा सुविधा र कम्पनीहरुको निक्र्यौल बिना नै आफैले चिनेको जापानिज कम्पनीहरुको छनौट अन्तर्वार्ता भन्दै विज्ञापन गर्ने गरेकोले भाषा केन्द्रहरुको भ्रममा नपर्न मन्त्रालयले सचेत गराएको हो ।

मन्त्रालयले जापान पठाउन निजी क्षेत्रको कुनै भूमिका नरहेको जनाउँदै वैदेशिक रोजगार विभागबाट यथार्थ र आधिकारिक सूचना लिएर मात्र भाषा परीक्षा तथा सीप परीक्षणको तयारी गर्न समेत अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *