नेकपा स्थायी कमिटीमा पासा पल्टिएको हो?

डिसी नेपाल
१२ साउन २०७७ ८:०८

काठमाडौं। पटक पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक मंगलबार बस्ने कार्यसूची छ। साउन ६ गते बसेर १३ गतेसम्मका लागि स्थगित भएको बैठक बस्ने बारेमा भने अन्यौल सृजना भएको छ।

पछिल्लो समय नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि त्यसको प्रभाव स्थायी कमिटी बैठकमा परेकाे छ। सहमतिका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटक पटक ‘वान टु वान’ छलफल भएपनि निष्कर्षमा पुग्न नसकेपछि स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ।

र, यो बीचमा दुई अध्यक्षबीच भएका छलफल पनि सकारात्मक नभएपछि १३ गते बस्ने भनिएको बैठकसमेत प्रभावित हुने देखिएको छ। ६ गते बसेको बैठक १३ गतेसम्मका लागि दुई अध्यक्षबीच छलफल गर्न भन्दै स्थगित गरिएको थियो।

यो बीचमा गत शुक्रबार ओली र दाहालबीच छलफल भएको थियो। छलफल सकारात्मक नभएपछि दाहालले आक्रामक अभिव्यक्ति दिएका थिए। दाहालले पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिले नेकपाभित्रको विवादको चित्रण गर्छ। दाहालले विशेष गरी सरकारले भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसको ‘क्रेडिट’ आफूले पाउनु पर्ने आशय व्यक्त गरेका थिए।

उनले आफ्नै दबावमा सरकारले नक्सा जारी गरेको तर आफूलाई दलाल र प्रधानमन्त्री ओलीलाई देवत्वकरण गरेको भन्दै असन्तुष्टि जनाएका थिए। दाहालको अभिव्यक्तिपछि प्रधानमन्त्री ओलीसमेत असन्तुष्ट बनेका छन्।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले संसदको बजेट अधिवेशन असार १८ गते अन्त्य गरेका थिए।

ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने अडान दाहाल–माधव नेपाल पक्षले राखेपछि स्थायी कमिटी सदस्यहरुले गुट फेरबदल गर्ने क्रम सुरु भयो। ४४ सदस्यीय स्थायी कमिटीमा सुरुमा दाहाल–नेपाल पक्षधरको स्पष्ट बहुमत थियो। तर पछिल्लो समय दाहाल–नेपाल समूह कमजोर भएको र स्थायी कमिटीमा ओलीको पल्ला भारी भएपछि अर्का अध्यक्ष दाहालले ओलीसँग मिल्नुको विकल्प नभएको अभिव्यक्ति दिएका थिए।

‘केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने माग नै विधान विपरित छ,’ नेकपा स्थायी कमिटी सदस्य मणि थापाले भने, ‘त्यसमा पनि अहिले स्थायी कमिटी बैठकमा उहाँहरुको (दाहाल–नेपाल) बहुमत छैन। स्थायी कमिटीमा कसैको पनि बहुमत नपुग्ने अवस्थामा नेताहरुले सहमतिमा जोड दिनु भएको हो।’

स्रोतका अनुसार पछिल्लो समय दाहाल र नेपाल समूहका स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री ओलीलाई समर्थन गरेपछि दाहाल र नेपाल पक्षधर दबावमा परेका छन्। दाहाल पक्षका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साहसहितको समूह ओली पक्षमा लागेको छ। यसैगरी नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराईसहितका सदस्यले प्रधानमन्त्रीलाई राजीनामा गर्न नलगाइ सहमति खाेज्न दबाव दिएपछि दाहाल–नेपाल समूह दबावमा परेको हो।

साउन ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्ली महाधिवेशनका प्रस्ताव गर्दा अध्यक्ष दाहालले त्यसको समर्थन गरेका थिए। तर माधव नेपाल पक्षधरले विरोध गरेपछि दाहालले आफूले महाधिवेशनका विषयमा सहमति नगरेको अभिव्यक्ति दिए।

अध्यक्ष ओलीको महाधिवेशन गर्ने प्रस्तावको समर्थन गरेपछि नेपाल पक्षधरले असन्तुष्टि जनाएपछि पछि हटेका दाहाल अहिले सरकार र प्रधानमन्त्रीप्रति आक्रामक अभिव्यक्ति दिन थालेका छन्।  सार्वजनिक रुपमा सरकार र प्रधानमन्त्री विरुद्ध आक्रामक देखिएपछि प्रधानमन्त्रीसँगै सहमति गर्नुपर्ने भन्दै दाहाल ओलीसँगको छलफललाई निरन्तरता दिने पक्षमा रहेको बताइएको छ।

दाहालले सार्वजनिक रुपमा सरकारलाई हेप्ने गरी अभिव्यक्ति दिन थालेपछि ओली पक्षधर नेताहरुले पनि सामाजिक संजालमार्फत दाहाललाई जवाफ फर्काउन थालेका छन्।  प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापा, पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले सामाजिक संजालमार्फत दाहाललाई जवाफ दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *