बाढी नियन्त्रणमा प्रदेश नं ५ सरकारको चासो

डिसी नेपाल
१२ साउन २०७७ १३:१८

बर्दघाट। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा बर्सेनि हुने बाढी नियन्त्रण तथा कृषि बालीको क्षति न्यूनीकरणको पहलका लागि प्रदेश ५ सरकारले चासो देखाएको छ। सत्तरी वर्षदेखि बाढी र डुबानका कारण यहाँ बर्सेनि हजारौँ बिघा खेतीबाली नष्ट हुने गरेको छ।

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न आइतबार प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले स्थलगत निरीक्षण गरे। मन्त्रीद्वयको टोलीले पाल्हिनन्दन र सरावल गाउँपालिकामा बाढी र डुबानले पारेको असर तथा कृषि बालीमा पु¥याएको क्षतिको अवलोकन गरेको थियो ।

सरावल गाउँपालिका–५, ६ र ७ तथा पाल्हिनन्दन गाउँपालिका–१ का विभिन्न स्थानमा डुबानका कारण यस वर्ष एक हजार ५०० भन्दा बढी बिघामा लगाइएको धान खेती नष्ट भएको स्थानीयवासीले बताएका छन् । यहाँ प्रत्येक वर्ष नै डुबानको समस्या रहेकोले दिगो समाधानका लागि पहल गर्न आवश्यक रहेको प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले जोड दिए।

“बर्सेनि हुने डुबानका कारण यस क्षेत्रमा कृषकले लगाएको धान, केरा, उखुलगायतमा ठूलो क्षति पुगेको छ, कृषकको श्रम र लगानी खेर गएको छ, कृषि बालीमा पुगेको क्षतिको राहत र उनीहरुलाई बाँच्ने आधार बनाउन आवश्यक देखिएको छ”, उनले भने । बर्सेनि हुने डुबानलाई नियन्त्रण गर्न ठूलो लगानी आवश्यक पर्ने भएकाले प्रदेश सरकारले यसको दिगो समाधान हुने गरी पहल गर्नुपर्ने पाल्हिनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताले उल्लेख गरे।

स्थलगत निरीक्षणका क्रममा भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले बाढी नियन्त्रणलाई प्रदेश सरकारले व्यवस्थित ढङ्गले समाधान गर्ने बताए। प्रदेश ५ मा सबैभन्दा ठूलो डुबान क्षेत्र नै यही रहेको उल्लेख गर्दै मन्त्री चौधरीले भरही खोला र धनेवा खोला पानीको बहावलाई अवरोध नहुने गरी चौडा गर्ने, सफाइ गर्ने तथा तटबन्ध निर्माण गर्ने गरी डुबानको समस्यालाई सकेसम्म नियन्त्रण गर्ने कार्यमा पहल गर्ने बताए।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पौडेलले बाढी नियन्त्रण गरेर कृषि बालीमा हुने क्षति न्यूनीकरण गर्न प्रदेश सरकार लागिरहेको बताइन्। कृषकलाई बाढी र डुबानले सधैँ सताउने परिपाटी अन्त्य गर्न उचित उपाय अवलम्बन गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् पश्चिम नवलपरासीको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका बाढी र डुबानबाट बर्सेनि प्रभावित हुँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *