ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

डिसी नेपाल
२६ वैशाख २०८१ १८:३५

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडलेवित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ उक्त कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो।

बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो।

बैंकले कोशी प्रदेश आयोजना गरेको कार्यक्रममा २ हजार ५ सय, मधेश प्रदेशमा २ हजार, बागमती प्रदेशमा ५ हजार, गण्डकी प्रदेशमा ४ हजार ५ सय, लुम्बिनी प्रदेशमा ३ हजार ५ सय, कर्णाली प्रदेशमा ५ सय र सूदुरपश्चिम प्रदेशमा २ हजार ५ सय भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको थियो।

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्न गइरहेको छ। कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *