नेकपा नेता चापागाईँको निधन

डिसी नेपाल
१२ साउन २०७७ १६:५६

पाँचथर । राजनीतिक एवम् सामाजिक व्यक्तित्व थुमनाथ चापागाइँको ६९ वर्षका उमेरमा आज बिहान निधन भएको छ । आफन्तका अनुसार उनको फिदिम नगरपालिका वडा नं १२ स्थित निवासमा निधन भएको हो । अर्बुद रोगबाट पीडित भई लामो समय काठमाडौँका विभिन्न अस्पतालमा उपचार गरिए पनि रोग निको नहुने भएपछि केही दिनअघि मात्रै उनलाई निजी निवास ल्याइएको थियो । उनको मङ्गलबार अन्त्येष्टि गरिने भतिजा मनरथले जानकारी दिए । दिवङ्गत चापागाईँका दुई श्रीमती, सात छोरा र पाँच छोरी छन ।

विसं २००८ जेठ १६ गते जन्मेका चापागाईँ पञ्चायतकालमा जनपक्षीय उम्मेदवार भई एक पटक नांगीन गाउँ पञ्चायतको प्रधानपञ्चमा चुनिएका थिए । यस्तै २०५४ को स्थानीय निर्वाचनमा उनी नांगीन गाविस अध्यक्षमा निर्वाचित भएका थिए । कम्युनिष्ट पार्टीका कुशल सङ्गठक चापागाईँको हक्की र स्पष्टवक्ता स्वभावलाई धेरैले मन पराउँथे । गत स्थानीय तह निर्वाचनमा उनले तत्कालीन नेकपा (एमाले)बाट फिदिम नगरपालिकाको प्रमुखको आकाङ्क्षीसमेत भएका थिए ।

जीवनभर सामाजिक क्षेत्रमा सक्रिय उनले तत्कालीन नेकपा (एमाले) पाँचथरको उपसचिवमा निर्वाचित भएका थिए । स्वास्थ्यमा समस्या भई पछिल्लो पटक सक्रिय राजनीतिबाट बाहिर रहेका चापागाईँ हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ प्रदेश सल्लाहकार परिषद् सदस्य रहेका थिए । उनी सामुदायिक विद्युतीकरण जिल्ला सहकारी सङ्घ पाँचथरको अध्यक्षलगायत विभिन्न सामाजिक सङ्घसंस्थाको नेतृत्वमा समेत रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *