नेकपा स्थायी कमिटी बैठक आठौं पटक स्थगित

डिसी नेपाल
१३ साउन २०७७ १०:११

काठमाडौं। मंगलबार (आज) बस्ने तय भएको सत्तारुढ दल नेकपा स्थायी कमिटी बैठक आठौं पटक स्थगित भएको छ। बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल गर्ने सहमति भएपनि दुई अध्यक्षबीच छलफल हुन नसक्दा बैठक स्थगित भएको हो।

नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीका दुई अध्यक्षबीच आवश्यक परार्मश र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी भएकाले स्थायी कमिटी बैठक स्थगित भएको जानकारी दिए।

पछिल्लो समय सार्वजनिक मञ्चमा एक अर्काप्रति आरोप प्रत्यारोपमा नेताहरु उत्रिएपछि दुई अध्यक्षबीच संवाद हुन सकेको छैन। गत शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएपनि त्यसयता संवाद हुन सकेको छैन।

पुष्पकमल दाहाल र माधव नेपाल समूहले स्थायी कमिटी बैठकलाई निष्कर्षमा पुर्याउन दबाव दिएपनि प्रधानमन्त्री ओली पक्षधरले भने पहिला दुई अध्यक्षबीच सहमति हुनुपर्ने र त्यसपछि मात्रै बैठक बस्नु पर्ने अडान राख्दै आएका छन्।

साउन तीन गते बसेको सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान गर्न अर्ली महाधिवेशन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा अध्यक्ष दाहालले सहमति गरेको भन्दै सोही अनुसार अगाडि बढ्नु पर्ने निष्कर्ष ओली पक्षधरले निकालेका छन्। ‘सविचलायमा मंसिरमा महाधिवेशन गर्ने निर्णय भइसकेको छ,’ ओली निकट एक सदस्यले डिसी नेपालसँग भने, ‘सोही सहमति अनुसार अब चल्नुको विकल्प छैन।’

अर्ली महाधिवेशन गर्ने विषयमा सहमति जनाएका अर्का अध्यक्ष दाहाल माधव नेपाल पक्षधरको दवाब थेग्न नसकेर पछि हटेका छन्। तर ओली पक्षधरले भने सचिवालयले गरेको निर्णय आफूहरुसँग रहेको भन्दै सोही निर्णय अनुसार अगाडि बढ्नुको विकल्प नरहेको बताएको छ। दुवै पक्ष आफ्नो अडानबाट पछि नहटेका कारण आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएकाे हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *