नेकपा विवाद : प्रधानमन्त्री ओलीसँग सहमितका लागि पहल गर्ने जिम्मेवारी प्रचण्डलाई

डिसी नेपाल
१३ साउन २०७७ १८:१५

काठमाडौं। सत्तारुढ दल नेकपामा देखिएको विवादले मंगलबार नाटकीय रुपमा नयाँ मोड लिएपछि प्रचण्ड–माधव निकट स्थायी कमिटीका सदस्यहरुको बैठक बस्यो भने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरे।

गएको असाढ १० गते शुरु भएको बैठक साउन १३ गतेसम्म आइपुग्दा मंगलबार (साउन १३)को गतेको दृश्य भिन्न खालको देखिएको एक स्थायी कमिटी सदस्यले बताए। एक अध्यक्षले बैठक स्थगित गर्ने र अर्को अध्यक्षले बैठक चलाउने निर्णय गरेपछि नेकपामा मंगलबार विवादले नयाँ मोड लियो। स्थायी कमिटी बैठक अनिश्चित बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओली इतर समूहका नेताहरुको बैठक गरे। जसलाई ‘स्थायी कमिटीका बहुमत सदस्यको बैठक’ भनिएको छ।

यो बैठकले मंगलबार दुई वटा निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एकलौटी रुपमा मंगलबारको स्थायी कमिटी बैठक स्थगित भएको सूचना गर्नु विधिअनुसार अनुचित भएको र यस विषय परिस्थितिमा पार्टीको एकता जोगाउन अध्यक्ष ओलीसँग छलफल गरी स्थायी कमिटीको बैठक बोलाउने जिम्मेवारी अर्का अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरिएको छ।’

उनकाअनुसार बैठकले गरेको अर्को निर्णय हो – पार्टीमा संकट देखिएकाले यो संकटलाई सकरात्मकरुपमा टुंगोमा पुर्याउन सबै नेता तथा कार्यकर्ताहरुलाई आव्हान गर्ने। यो बैठकमा दुईजना आमन्त्रित स्थायी कमिटी सदस्यसहित २९ जना उपस्थित रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *