ओली सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर अस्थिरताको ‘ब्रेक–थ्रु’ गर्नुपर्छ : उद्योगमन्त्री भट्ट

डिसी नेपाल
१५ साउन २०७७ १७:५५

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ । पार्टी भनेको सबै हो । अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन् ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक–थ्रु’ हुनुपर्ने बताए । उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास दिलाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सबै एकै ठाउँमा आउनुहुन्छ । र, सहमति हुन्छ । सहमतिको विकल्प छैन् ।’ आफ्नो पार्टीका नेताहरूको कल्चर नै निकै बहस, छलफल गर्ने र निश्कर्षमा सहमतिबाटै परीणाम निकाल्ने रहेकोले अहिलेपनि सहमति हुने उनको दाबी छ । उनले भने,‘पार्टी एकता, संघर्ष र रुपतान्तरणबाटै चल्ने हो ।’

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने र सहमतिको विकल्प नभएको जिकिर गरे । यद्धपी उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप लगाए । उनले भने,‘तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौं ।’ वर्तमान सरकारले गरेका राम्रा काम र यसका उपलब्धिहरु जनतासमक्ष लगिने पनि उनले जनाए ।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशनपनि सहमतिकै आधारमा सम्पन्न गरिने उनको विश्वास छ । उनले भने,‘हामी महाधिवेशनबाट नेतृत्वपनि सहमतिमै टुँगो लगाउँछौं ।’ मन्त्री भट्टले आफू नेता विशेषको क्याम्पमा नभई पार्टीको क्याम्पमा रहेको स्पष्ट पारे । उनले भने,‘म दुवै अध्यक्षको क्याम्पमा छु । दुवै अध्यक्ष एकै ठाउँमा हुनुपर्छ । यदि मैले दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्छ । र, सहमतिकै साथ अघि बढ्नुपर्छ भन्दा धोका दिएको हुन्छ भने धोका दिएकै सही । तर, म एकताको पक्षमा छु । पार्टी एकतालाई सुदृढ बनाउनुपर्छ भन्ने नै मेरो लाईन हो ।’

उनले पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा कोरोनाको संक्रमण बढेकोबारे सरकारको पर्याप्त ध्यान गएको र अब कसरी अघि बढ्ने भन्नेबारे सिसिएमसीको बैठक बस्ने र त्यही बैठकबाट महत्वपूर्ण निर्णय लिईने पनि जानकारी दिए । उनले भने,‘हिजो हामीले लकडाउन गरेकै कारण कोरोनाबाट हामीलाई बचायो । अहिले जहाँ बढि संक्रमण फैलिएको छ, समूदायस्तरमा कोरोनाको संक्रमण देखिएको हो वा होईन भन्नेबारे स्वास्थ्य मन्त्रालयले अध्ययन गरेर आज प्रस्ताव ल्याउँदैछ, संक्रमणको जोखिम हेरेर ती क्षेत्रमा लकडाउनपनि गर्नुपर्ने हुनसक्छ ।’

उनले कोभिड–१९ को संक्रमणका कारण देश गम्भीर मोडमा रहेको र सिंगो देश नै अहिले कोरोनाविरुद्ध लडिरहेको सुनाए । उनले भने,‘तपाई÷हामी सबै कोरोनाविरुद्ध संघर्ष गरिरहेका छौं । अहिले हामी कोरोनासँग एक किसिमको लिभिङ टुगेदरको अवस्थामा छौं । नेपालमा तथ्यांक हेर्दा हामी विजयतर्फउन्मुख भएका छौं । अहिले कोरोना संक्रमण जित्नेहरुको संख्या ठूलो छ ।’

मन्त्री भट्टले पछिल्लो समय तरकारीमा महँगी बढ्नुमा बाढि÷पहिरोले गर्दा बाटो/सडक अवरोध हुनु नै मुख्य कारण रहेको सुनाए । उनले भने,‘बाढि÷पहिरोले बाटो अवरोध हुँदा नियमित आपूर्तिमा बाधा पुगेको छ । त्यही भएर तरकारी महँगी भएको हो । यसबारेमा वाणिज्य विभागले विशेष ध्यान दिएको छ ।’ सरकारले कालोबजारी नियन्त्रणको लागि महत्वपूर्ण काम गरिरहेको उनले दाबी गरे ।

उनले भने,‘हामीले देशभरिका बजार बुझेका छौं । सोहीअनुसार बजार अनुगमनका काम भैरहेका छन् । गलत गर्नेलाई कारबाही भैरहेको छ ।’ उनले बजार व्यवस्थित् गर्ने र गाउँको उत्पादन शहरसम्म ल्याउने र शहरका सामग्री गाउँसम्म पुर्याउने कामपनि सहज रुपमा गर्नेगरि सञ्जाल निर्माण गर्ने कामपनि भैरहेको जानकारी दिए । उनले खाद्यवस्तुमा महँगी बढ्न नदिनेगरि सरकारले काम गरेको विश्वास दिलाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *