कांग्रेस विवाद : देउवाले पौडेललाई तर्साएको कि पौडेलले देउवालाई?

खेमराज थापा
१६ साउन २०७७ ९:४६

काठमाडौं। लामो रस्साकस्सीपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति तय भएपनि संस्थपान पक्षले महाधिवेशनलाई प्रभावित पार्ने खेल गरेको भन्दै संस्थापन इतर पक्षधरले असन्तुष्टी जनाउँदै आएका छन्।

आगामी महाधिवेशन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले सभापति शेरबहादुर देउवालाई बिहीबार लिखित पत्र नै बुझाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले महाविधशेनमा कब्जा गर्ने गरी सभापति देउवाले विधान उल्लंघन गरेर विभिन्न पदमा मनोनयन गरेकाले लिखित पत्र बुझाउनु परेको बताए।

उनले डिसी नेपालसँग भने, ‘सभापतिजीले अहिले जुन मनोयन गर्नुभएको छ, त्यो महाधिवेशन प्रभावित पार्ने उद्देश्यले गरिएको हो भन्ने हाम्रो साथीहरुको निश्कर्ष छ। हामी साथीहरुबीच छलफल गरेरै सभापतिलाई लिखित असन्तुष्टि प्रकट गरेका हौं।’

पौडेल समूहको आशंका
महाधिवेशनको मिति नजिकिँदै गर्दा सभापति देउवाले एकपछि अर्को गर्दै विभाग गठन गर्न थालेपछि पौडेल पक्ष सशंकित बनेको छ। विभाग गठन गर्दा संस्थापन पक्षले पौडेल पक्षधरसँग नाम माग्ने गरेका छन्। तर पौडेल पक्षधरले नाम नदिँदा देउवाले आफू पक्षधरको बाहुल्यता हुने गरी विभाग गठन गरेका छन्।

पौडेल समूहका केन्द्रीय सदस्यहरूको बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले महाधिवेशनको कार्यतालिका तय भइसकेपछि पार्टीका केन्द्रीय विभागहरूको विस्तार रोक्न माग गर्दै सभापति देउवालाई लिखित पत्र बुझाउने निर्णय गरेको थियो।

विधानतः १३ औं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभागहरू १४ औं महाधिवेशनको कार्यक्रम अघि बढिसकेपछि गठन गरिएका छन्। विधानमा २९ विभाग हुने भनिए पनि देउवाले विभागको संख्या बढाएर ४५ पुर्याएका छन्। यतिमात्र होइन सभापति देउवाले आफ्नै संयोजकत्वमा रहेको पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा ४७९ सदस्य मनोनयन गरेका छन्।

सभापति देउवालाई बुझाइएको पत्रमा पार्टीको १४औं महाधिवेशन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न हुनेमा आशंका व्यक्त गर्दै अविश्वासको वातावरण समाप्त गरेर पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिइएको छ।

आवश्यक परामर्श गरी विधिपूर्वक बाटोबाट आगामी महाधिवेशन सम्पन्न गर्ने प्रमुख कर्तव्यप्रति सभापतिको गम्भीर ध्यानाकर्षण गराउँदै पत्रमा भनिएको छ, ‘यही उद्देश्य र कर्तव्यलाई मनन गर्दै नेपाली कांग्रेसको आसन्न १४औं पार्टी–महाधिवेशनलाई ऐतिहासिक महत्वको, एकताबद्ध तथा युगान्तकारी बनाउन स्वच्छ, निष्पक्ष र पारदर्शी तरिकाले पार्टीको क्रियाशील सदस्यता वितरणदेखि नै पार्टी विधानको अक्षर र भावनाअनुरूप विधि र प्रक्रियालाई निष्ठापूर्ण ढंगले अघि बढाउनु जरुरी छ।’

देउवाको रणनीति
विधानतः १३ औं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभागहरू १४ औं महाधिवेशनको कार्यक्रम अघि बढिसकेपछि गठन गरिएका छन्। विधानमा २९ विभाग हुने भनिए पनि देउवाले विभागको संख्या बढाएर ४५ पुर्याएका छन्। यतिमात्र होइन सभापति देउवाले आफ्नै संयोजकत्वमा रहेको पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा ४७९ सदस्य मनोनयन गरेका छन्।

विभाग, राजीतिज्ञ सभा, विभिन्न जनसम्पर्क समितिहरु गरेर करिब २५ सय जनालाई देउवाले मनोनित गरेको पौडेल पक्षको दावी छ। यसरी महाधिवेशनको मिति नजिकिँदै जाँदा भएका मनोनयले पक्कै पनि महाविधेशनमा देउवालाई फाइदा पुग्ने छ।

यसरी प्रत्येक्ष रुपमै देउवालाई फाइदा हुने गरी भएका मनोयनले पौडेल समूहलाई झस्काइदिएको छ। त्यसैले पनि पछिल्ला दिनहरुमा देउवा इतर समूहका नेताहरुले महाधिवेशन निष्पक्ष हुनुपर्छ भन्ने कुरा बोल्न छोड्दैनन्। हालै आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व महामन्त्री प्रकाशमान सिंहले भनेका थिए, ‘महाविधेशन हुने कुरामात्र ठूलो होइन, निष्पक्ष हुन्छ कि हुँदैन भन्ने कुरा पनि महत्वपूर्ण हो।’

पार्टीमा नयाँ नेताहरुको प्रवेश
देउवा सभापतिमा निर्वाचित भइसकेपछि फोरम लोकतान्त्रिक कााग्रेसमा विलय भएको छ भने राप्रपाको एक भंगलोको नेतृत्व गर्दै पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा सुनील थापा पनि काँग्रेसमा प्रवेश गरेका छन्।

यी दुईवटै पार्टीबाट काँग्रेसमा आउने नेताहरुलाई आफ्नै समूहमा राख्ने गरी सभापति देउवाले उनीहरुलाई भूमिका दिएका छन्।  फोरमका तत्कालीन अध्यक्ष विजयकुमार गच्छदारलाई उपसभापति बनाइएको छ भने, अन्य १० जनालाई पार्टीको केन्द्रीय सदस्य बनाइएको छ।

गच्छदारलाई उपसभापति बनाउँदा वरिष्ठ नेता पौडेलले विरोध गरेका थिए। तर, उनले गच्छदारलाई उपसभापति बन्नबाट रोक्न सकेनन्। उपसभापति मनोयनको विरोध गर्दा गच्छदारसँग दूरीमात्र बढाए, जसको फाइदा आगामी महाधिवेशनमा देउवाले लिने लगभग निश्चित जस्तै छ।

उता सुनील थापालाई पनि देउवाले पार्टीको सहमहामन्त्रीमा मनोनयन गरेका छन्। पार्टीका उपसभापति विमलेन्द्र निधिले थापालाई काँग्रेसमा भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसैले पनि महाधिवेशनमा थापाको सहयोग देउवालाई हुने सम्भावना देखिएको छ।

एकअर्कालाई तर्साउने रणनीति

काँग्रेसको महाधिवेशन सम्पन्न हुँदासम्म लामो प्रक्रिया पूरा गर्नुपर्छ। क्रियाशील सदस्यता वितरण, वडा अधिवेशन, स्थानीय तह अधिवेशन, क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन काँग्रेसको महाधिवेशनसम्म पूरा गर्नुपर्छ।

त्यसैले आगामी महाधिवेशनमा सभापतिका आकांक्षीहरु क्रियाशील सदस्यता वितरणदेखि नै आफ्नो पक्ष बलियो पार्ने गरी सक्रिय हुन्छन्। त्यसैले पौडेल समूहले बाहिर मनोयनमा असन्तुष्टि जनाए पनि उसको मुख्य आशंका क्रियाशील वितरणमै छ। तर, यसरी आशंका गर्नुपर्ने कुनै कारण नरहेको सभापति निकट मानिएका पार्टीका सहमहामन्त्री डा. प्रकाशसरण महत बताउँछन्।

उनले डिसी नेपालसँग भने, ‘पार्टीमा महाधिवेशन लागेको छ। सबैले त्यही अनुसार रणनीतिहरु बनाउँदै छन्। उहाँ (पौडेल समूह) को असन्तुष्टि पनि त्यस्तै एक हो। तर, पार्टीको केन्द्रीय समितिले सर्वसम्मत रुपमा निर्णय गरेर बनाएको मापदण्डअनुसार क्रियाशील सदस्यता वितरण हुन्छ। यसमा वडा सभापतिको बढी भूमिका होला, केन्द्रीय सभापतिको कुनै भूमिका हुँदैन।’

तर पार्टीमा विलय भएको फोरम लोकतान्त्रिकका तत्कालनी सदस्यहरु र अहिले राप्रपाबाट काँग्रेस प्रवेश गरेकाहरुलाई एकमुष्ट सदस्यता दिने सभापति देउवाको तयारी छ। यसरी उनी एकमुष्ट सदस्यता दिन सफल भए भने पौडेल समूहलाई झट्का लाग्न सक्छ।

यसको काउन्टर रणनीतिमा पौडेल समूहले देउवाको यो बलमिच्याईँलाई पार्टीको महाविधेशनसम्म मुद्दाका रुपमा उठाउने तयारी गरेको छ। बिहीबार पत्रकार सम्मेलनमै वरिष्ठ नेता पौडेलले भनेका थिए, ‘हामीले असन्तुष्टि राख्दा सभापतिले यसलाई गम्भीर रुपमा लिनुभएन, अब हामी यो विषयलाई महाधिवेशनकै मुद्दाका रुपमा उठाउँ छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *