खेलाडीको हकहितका लागि संसद्मा आवाज उठाउँछु : सभापति देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीको हकहितका लागि सङ्घीय संसद्मा आवाज उठाउने बताएका छन । गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकूद (साग) मा स्वर्ण पदक विजेता खेलाडीका लागि पार्टीको केन्द्रीय खेलकूद विभागले शुक्रवार सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा उनले खेलाडी देशको गहना र शान भएको उल्लेख गरे ।

सभापति देउवाले काँग्रेसको सरकार भएका बेला खेलाडीका लागि आवश्यक पहल गर्ने आश्वासन दिए । विगतमा पनि काँग्रेसले सरकारको नेतृत्व गरेको बेला खेलाडीको हितमा काम गरेको स्मरण गराउँदै उनले खेलाडीले नै विश्वमा नेपालको इज्जत र प्रतिष्ठा बढाएको बताए । आफ्नो संक्षिप्त मन्तव्यमा सभापति देउवाले १३औँ सागमा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेकामा उनीहरुको प्रशंसा गरे । खेलाडीले देशको गौरव बढाउन खेल्ने भन्दै उनले हरेक नागरिक स्वस्थ रहन खेलकूद आवश्यक भएको उल्लेख गरे । काँग्रेस सधैँ खेलाडीको पक्षमा रहेको बताउँदै उनले केही अप्ठेराहरु भए खेलाडीको पक्षमा लाग्न आफूले सरकारलाई दबाब दिने बताए ।

कोरोना भाइरसको सङ्क्रमणका बेला खेलाडी आफू स्वस्थ रही देशलाई नै स्वस्थ बनाउन भूमिका निर्वाह गर्न उहाँले सम्पूर्ण खेलाडी हरुलाई आग्रह गरे । कोरोना सङ्क्रमण बढ्दै गएको तर्फ उपस्थित सबैको ध्यान केन्द्रित गर्दै सभापति देउवाले कार्यक्रम आयोजना गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने बताए । पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको भन्दै उनले त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरे ।

सम्मान कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले देशको इतिहास बोकेको पार्टी काँग्रेसले खेलाडीलाई सम्झेकामा राखेपका तर्फबाट धन्यवाद दिए । रकम ठूलो होइन सम्मान ठूलो कुरा हो भन्दै उनले देश विदेशमा राष्ट्रिय धुन बजाउन खेलाडीको अहम् भूमिका रहेको उल्लेख गरे । सदस्यसचिव सिलवालले खेलकूद ऐन, २०७७ ल्याउनुअघि संसद्मा सांसदहरुले पर्याप्त ध्यान र समय नदिएकामा गुनासो गरे । खेलाडीको हकहितका लागि हाल जारी ऐनमा अझै धेरै कुरा गर्न बाँकी रहेको भन्दै उनले आगामी दिनमा सबैले थप छलफल गर्नुपर्नेमा जोड दिए ।

सम्मानित खेलाडीका तर्फबाट बोल्दै सागमा करातेमा दोहरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठले कोरोना कहरका बीचमा समेत सम्मान गरेकामा सम्पूर्ण खेलाडीका तर्फबाट आयोजकलाई धन्यवाद दिए । खेलाडी एक्लैले पदक प्राप्त गर्न नसक्ने भन्दै उनले आयोजकले खेलाडीसँगै प्रशिक्षकलाई पनि सम्मान गर्न सुझाव दिए । श्रेष्ठले प्रशिक्षक खेलाडीको आमाबुबा भएको आयोजकलाई स्मरण गराए । पछिल्लो समय सरकारले खेलाडीको भविष्यको सुनिश्चितता र विभूषण प्रदान गर्दा सागमा पदक प्राप्त गर्ने सबै खेलाडीलाई नसमेटेकामा गुनासो गरे । नवौँ सागपछि विभूषण प्रदान गर्ने क्रममा तथा जागिर दिलाउनमा कन्जुस्याइँ गरिँदै आएको प्रति श्रेष्ठले असहमति प्रकट गरे । पदक जितेको केही महिनासम्म सम्मान गर्ने र पछि खेलाडीलाई सबैले बाई बाई गर्दै आएको परिपाटी चित्तबुझ्दो नभएको उनको भनाइ थियो ।

काँग्रेस खेलकूद विभागले चार स्वर्ण जित्नेलाई रु २५ हजार, दोहोरो स्वर्ण जित्नेलाई रु १५ हजार तथा एउटा स्वर्ण जित्नेलाई रु १० हजार नगद र प्रमाणपत्रसहित खेलाडीलाई सम्मान गरेको हो । सर्वाधिक चार स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले रु २५ हजार तथा दुई दुई स्वर्ण जितेका करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फ खेलाडी सुवास तामाङले जनही रु १५ हजार प्राप्त गरे ।

सागमा एकल र समूहगत रुपमा स्वर्ण जित्ने कूल ८० खेलाडीलाई सम्मान गरिएको हो । गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३औँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक प्राप्त जितेको थियो । नेपालले व्यक्तिगत र समूहगत गरी १३ खेलमा स्वर्ण पदक जितेको थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय खेलकूद विभाग प्रमुख मोहनबहादुर बस्नेतले १३औँ सागमा स्वर्ण जित्ने खेलाडीलाई मात्र नभई रजत र कास्य प्राप्त गर्ने खेलाडीलाई पनि विभागले सम्मान गर्ने बताएका छन । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै आज स्वर्ण जित्नेलाई मात्र सम्मान गरिएको उनको भनाइ थियो ।

आत्मसम्मान र प्रोत्साहनका लागि खेलाडीलाई सम्मानित गरिएको बस्नेतले बताए । विभागले टोकियो ओलम्पिक छनोटको तयारीमा रहेका खेलाडी र प्रशिक्षकको कोरोना बीमा गर्ने शुक्रवार आयोजित सम्मान कार्यक्रममा उनले घोषणा गरे । उनले अहिलेको राखेपको नेतृत्वबाट खेलकूदले ठूलो आशा राखेको बताउँदै खेल र खेलाडीको हकहितका लागि काँग्रेसले सधैँ वर्तमान नेतृत्वलाई सघाउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा उनले नेपाल ओलम्पिक कमिटीलाई प्राप्त हुँदै आएको वैदेशिक आर्थिक सहयोगबारे सरकारलाई जानकारी गराउनुपर्ने तथा सहयोग लिनु अघि सरकारको स्वीकृति लिनुपर्ने माग गरे ।

हाल जारी ऐनमा उक्त सहयोग लिँदा सरकारको स्वीकृति आवश्यक नभएको प्रसङ्ग उल्लेख गर्दै बस्नेतले सो व्यवस्थाले खेलकूद ऐनमा गम्भीर त्रुटि भएको बताए । कोरोना भाइरसको सङ्क्रमणका कारण आजको कार्यक्रममा स्वर्ण पदक विजेता २३ खेलाडी अनुपस्थित थिए । उनीहरुलाई सम्बन्धित जिल्लामै सम्मान गरिने प्रमुख बस्नेतले बताए ।

सम्मान कार्यक्रममा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्वमन्त्री एवं नेता गोपालमान श्रेष्ठ, काँग्रेस केन्द्रीय खेलकूद विभागका उपप्रमुख मोहनकुमार राई, विभागका सचिव मीनकृष्ण महर्जन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका संस्थापक अध्यक्ष एवं ओलम्पियन दीपक विष्ट, सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, पूर्वसांसद राजीवविक्रम शाह, विभिन्न खेल सङ्घका अध्यक्ष तथा पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो