ओली–प्रचण्ड छलफल, निस्किएन निकास

डिसी नेपाल
१८ साउन २०७७ १५:०५

काठमाडौं। झण्डै एक हप्ता लामो मौनता तोड्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता झलनाथ खनाललाई लिएर आइतबार दिउँसो बालुवाटार छिरे। १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि ओली र दाहालबीच भेट तथा संवाद हुन सकेको थिएन।

दाहालले नेता खनाललाई लिएर बालुवाटार आउने थाहा पाएपछि प्रधानमन्त्री केपी ओलीले पनि संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बैठकमा सहभागी गराए। खनाल र नेम्वाङलाई साक्षी राखेर अध्यक्षद्वयले झण्डै तीन घण्टा छलफल गरे।

दाहालले स्थायी कमिटी बैठकबाट कुनै पनि निकास ननिस्किएको भन्दै केन्द्रीय कमिटी बैठक बोलाउन आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कुनै पनि विवादित विषयको अन्तिम टुंगो लगाउने स्थल महाधिवेशन भएकाले अब महाधिवेशनमा जानुको विकल्प नभएको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। स्राेतका अनुसार प्रधानमन्त्रीले महाधिवशेनकाे मिति तय भइसकेकाे अवस्थामा अब सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्नु पर्ने भन्दै यस्ता झिना मसिना कुरा लिएर नअाउन भनेका थिए।

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक दुई अध्यक्षबीच सहमति नजुट्दा पटक पटक स्थगित हुँदै आएको छ। स्थायी कमिटीका अधिकांस सदस्यहरुले केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।

अध्यक्ष ओलीले भने राजीनामा बाहेकका विषयमा छलफल गर्ने सकिने बताएका छन्। दुवै अध्यक्ष आफ्नो अडानबाट पछि नहटेपछि कुनै निष्कर्ष निस्किन सकेन। दुवै अध्यक्षबीच अब सोमबार पुन छलफल हुने सहमति भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *