भारतीय सञ्चारमाध्यमको अर्को प्रोपोगाण्डा, नेपालले भारतीय भूमि डुबादिएको आरोप
काठमाडौं। नेपालले नयाँ नक्सा जारी गरेपछि लगातार नेपालबारे तथ्यहिन समाचारहरु प्रशारण गर्दै आएका भारतीय सञ्चारमाध्यमहरुले त्यसलाई अझै निरन्तरता दिइरहेका छन्। यसैको पछिल्लो उदाहरण हो नेपालले भारतीय भूमि डुबाइदिएको आरोप।
भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले आइतबार एक समाचार प्रकाशित गरेको छ। उसले नेपालले ब्यारेज खोलेर भारतको उत्तरप्रदेशको बहराइच जिल्लाका ६० वटा गाउँ डुबाएको दावी गरेको छ।
तर, बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीहरुले भने भारतीय समाचारमा सत्यता नभएको बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले डिसी नेपालसँग फोनमा भने, ‘हामीले कुनै त्यस्तो ब्यारेज खोलेका पनि छैनौं। हाम्रोमा त्यस्तो ब्यारेज पनि छैन। अहिले त वर्षा पनि त्यति ठूलो भएको छैन। केही दिनअघि कर्णाली नदी र गेरुवा नदीको बाढीले नेपालको राजापुर नगरपालिकाका ४ सय बढी घरपरिवार विस्थापित भएका थिए। हाल ती मध्ये १५ परिवारमात्र अहिले सुरक्षित स्थानमा छन्। अरु पूर्ववत अवस्थामा फर्किसकेका छन्।’
उनले भारतीय सञ्चार माध्यहरुले हुँदै नभएको हल्ला फैलाएको बताए।
उता बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पनि भारतीय सञ्चार माध्यममा आए जस्तो नेपालले भारतीय भूमि नडुबाएको बताए। उनले भने, ‘बरु उनीहरुले ब्यारेज खोलेनन् भने हाम्रो भूमि डुबानमा पर्छ। लक्ष्मणपुर बाँधको ढोका नखोलिए नेपाली भूमि डुबानमा पर्छ। हामीले डूबानमा पार्ने भन्ने हुँदैन।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment