जेरीजस्तै जेलिएको नेकपाको विवाद

डिसी नेपाल
२० साउन २०७७ १२:४१

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किएको लामो समय भइसकेको छ। तर, यो विवादको निकास के हुन्छ भन्ने कुनै मेसो पाइएको छैन। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली इतरसमूहले उनको राजीनामा मागिरहेको छ, तर ओलीले राजीनामा नदिने अडान राखिरहेका छन्।

विवादका बीच दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच निष्कर्षविहीन वार्ताको लामो श्रृंखला चलिरहेको छ। गएको असार १० गते शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि उत्पन्न विवाद समाधानका लागि भन्दै दुई अध्यक्षबीच हालसम्म दर्जन पटक वार्ता भइसकेको छ। तर, कुनै निष्कर्ष निस्केको छैन।

यही बीचमा सोमबार बालुवाटारमा भएको दुई अध्यक्षबीचको वार्तामा खाजाको रुपमा टेबुलमा जेरी आइपुग्यो। जेरी बनोटका हिसाबले जेलिएको हुन्छ, स्वाद गुलियो हुन्छ। बालुवाटार वार्ता पनि जेलिएको जस्तै छ।

नेकपाको विवाद अहिले जेरी जस्तै जेलिएको छ। जेरीको फेद पनि हुँदैन, टुप्पो पनि हुँदैन। नेकपाको विवाद पनि त्यस्तै देखिएको छ। यो विवादको पनि कुनै फेद र टुप्पो छैन। र, विवाद समाधानका लागि ‘यही’ हुनुपर्छ भन्ने सर्वामान्य रोडम्याप पनि छैन।

तर स्वाद भने गुलियो रहेको प्रधानमन्त्री ओलीले नै बताएका छन्। आफ्नो निजी निवास भक्तपुरको बालकोट पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ आफ्ना पार्टीका कार्यकर्तासँग कुरा गर्दै सोमबारको बैठकमा प्रचण्डलाई जेरी खुवाएको बताए। उनले भनेका छन्, ‘प्रचण्डसँगको छलफलमा जेरी खाएर छुट्टियौँ, जेरी मीठो थियो, कहिले जेरी खुवाएर, कहिले तीते करेला खुवाएर कुरा गर्नुपर्छ।’

नेकपाको विवाद अहिले जेरी जस्तै जेलिएको छ। जेरीको फेद पनि हुँदैन, टुप्पो पनि हुँदैन। नेकपाको विवाद पनि त्यस्तै देखिएको छ। यो विवादको पनि कुनै फेद र टुप्पो छैन। र, विवाद समाधानका लागि ‘यही’ हुनुपर्छ भन्ने सर्वामान्य रोडम्याप पनि छैन। किनकि यो विवाद सत्ता राजनीतिसँग जोडिए पनि जनतासँग भने सम्बन्धित छैन।

नेकपाका नेताहरु सत्ताका लागि विवाद गरिरहेको तर देश कोरोना महामारी र मनसुनजन्य विपदमा परेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार सरकारमाथि प्रश्न उठाइरहेको छ। हालै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका थिए, ‘नेकपालाई जनताले लगभग दुई तिहाई बहुमत दिए। सत्तामा पुर्याए। तर नेकपा नेताहरुले सत्ता चलाउने मेसो पाएनन्। बहुमतको उपयोग गर्न जानेनन्।’

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण भएर बनेको नेकपामा अहिले विभिन्न गुटहरु देखिन्छन्। प्रधानमन्त्री तथा अध्यक्ष ओली निकट गुट, अर्का अध्यक्ष प्रचण्ड निकटको गुट, वरिष्ठ नेता माधवकुमारको गुट निकै सक्रिय छन्।

यतिमात्र होइन, नेकपामा उपगुटहरु पनि छन्। त्यसमा वरिष्ठ नेता झलनाथ खनालको उपगुट, पार्टी उपाध्यक्ष वामदेव गौतमको उपगुट, पार्टी सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाको उपगुट, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपगुट र महासचिब विष्णु पौडेलको उपगुट सक्रिय छन्।

यसरी अहिले नेकपाको बनोट नै जेरी जस्तै जेलिएको छ र यसले नतिजा पनि जेलिएकै जस्तो दिइरहेको छ। जेरी जस्तो जेलिएको पार्टी नेकपाले गुलियो स्वाद दिन्छ कि दिँदैन, त्यो भने भविष्यले नै बताउला।

अहिले नेकपाभित्र आफ्नो पक्षमा बहुमत पुर्याउने खेलसमेत हुँदै आएको छ। केही समय अगाडि मात्रै प्रधानमन्त्री ओलीको पक्षमा लागेका उपाध्यक्ष बामदेव गौतमलाइ फकाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल मंगलबार मात्रै गौतम निवास भैंसेपाटी पुगेका थिए। गाैतमले के जवाफ दिए भन्ने खुलेकाे छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *