बुढानिलकण्ठमा काँग्रेस पदाधिकारीको बैठक

खेमराज थापा
२२ साउन २०७७ १७:४०

काठमाडौं। महाधिवेशनका कार्यक्रम अगाडि बढाइसकेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर उनी इतर समूह असन्तुष्ट बनिरहेका बेला बिहीबार देउवा निवासमा पार्टी पदाधिकारीको बैठक भएको छ।

पार्टी महाधिवेशनमा होमिसकेका बेला सभापति देउवाले विभिन्न विभाग गठन, भातृ संस्थाको म्याद थप र राप्रपाबाट काँग्रेसमा प्रवेश गरेका सुनिल थापालाई सहमहामन्त्री बनाउने घोषणा गरेकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाउँदै आएका छन्।

बैठकमा आफूले सभापतिले पार्टीको विधानविपरित गरेका मनोनयनबारे असन्तुष्टि राखेको वरिष्ठ नेता पौडेलले बताए। तर, त्यसको जवाफ सभापतिले लटरपटर दिएको उनको भनाई छ। वरिष्ठ नेता पौडेलले डिसी नेपालसँग भने, ‘हामीले पार्टीको विधान विपरित भएका मनोनयबारे कुरा उठायौं। उहाँ (सभापति)ले स्पष्ट जवाफ दिनुभएन। लटरपटर जवाफ दिनु भयो।’

बैठकमा पार्टीको कियाशील सदस्यता वितरणमा पनि निष्पक्ष हुनुपर्ने विषयमा छलफल भएको वरिष्ठ नेता पौडेलले बताए। उनले भने, ‘पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरणमा निष्पक्ष नहुने देखिएपछि यो विषयमा पनि कुरा भयो। क्रियाशील सदस्यता छानविन समिति बनाउने कुरा भएको छ।’

बैठकले पार्टीको क्रियाशील सदस्यता शतप्रतिशत बढाउन अनुमति दिनेसमेत निर्णय गरेको छ। यसअघि ५० प्रतिशत सदस्यता बढाउने भनिएकोमा विभिन्न जिल्लाहरुबाट थप सदस्यताका लागि माग भएकाले शतप्रतिशत सदस्यता बढाउने तयारी भएको हो।

काँग्रेस महाधिवेशनको मिति नजिकिँदै जादा सभापतिका आकांक्षीहरुले आफ्नो सक्रियता पनि बढाएका छन्। देउवा इतर समूहले एउटै सभापतिको उम्मेदवार बनाउने बताइरहेका भए पनि सो समूहमा सभापतिका आकांक्षी ४ जनाभन्दा धेरै छन्।

उता सभापति देउवा समूहसमेत दुईजना आकांक्षी छन्। देउवा इतर समूहमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह सभापतिका आकांक्षी छन्। उता सभापति देउवा र उपसभापति विमलेन्द्र निधी पनि सभापतिका आकांक्षी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *