काठमाडौंमा थुप्रिन थाल्यो फोहोर

काठमाडौं। वर्षातको समय र फोहर व्यवस्थापन गर्ने निजी कम्पनी सक्रिय नभएका कारण काठमाडौँ महानगरपालिकाका केही स्थानमा नियमित फोहर सङ्कलन हुन सकेको छैन । पर्यटकको मुख्य आकर्षकको केन्द्र मानिने ठमेल क्षेत्रका सडकमा फोहरका डङगुर छन् । कामपा वातावरण विभागका प्रमुख हरिकुमर श्रेष्ठका अनुसार फोहर सङ्कलन गर्ने निजी कम्पनी कोरोनाको कारण सबै काममा नआएकाले फोहर व्यवस्थापनमा केही समस्या आएको हो ।

व्यवस्थापन हुन नसकेको केही स्थानका फोहर पनि केही दिनभित्र उठाइसक्ने पनि प्रमुख श्रेष्ठको भनाइ छ । हाल महानगर काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर ६० प्रतिशत निजी कम्पनीले र ४० प्रतिशत कामपाले व्यवस्थापन गर्दै आएको छ । उपत्यकाको १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलमा व्यवस्थपन हुँदै आएको छ ।

यसैबीच कामपाले वातावरण व्यवस्थापन विभागले एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डको सुन्दरता बढाउने सम्झौता खारेज गरेको छ । गएको वर्ष (२०७६) जेठ ३१ गते एरोपोनिक प्रणालीबाट बाह्रै महिना फूल फुलाउन महानगर, नवील बैंक र एरोरुटहरुमाझ त्रिपक्षीय सम्झौता भएको थियो ।

प्रणाली जडान गर्न रु २० लाख ७९ हजार पहिलो वर्षको वार्षिक सम्भार खर्च रु आठ लाख ८४ हजार र दोस्रो वर्षको वार्षिक सम्भार खर्च रु १० लाख २८ हजार नवील बैंकले एरोरुटलाई उपलब्ध गराउने गरी भएको त्रिपक्षीय सम्झौता साउन २१ गतेदेखि आपसी सहमतिमा खारेज गरिएको छ।

प्रमुख श्रेष्ठmे भने, ‘प्रविधिमा आधारित भएकाले यसबाट हामी थप आशावादी थियौँ तर, प्रणालीबाट अपेक्षा गरिएको परिणाम प्राप्त भएन । त्यसैले सम्झौता भङ्ग गरेका हौँ । अब यी आइल्याण्डको मर्मत सम्भार र व्यवस्थापन महानगर आफैँले गर्नेछ । सम्झौता बमोजिम नयाँ सडक गेट अगाडि पूर्वतर्फ र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिमतर्फ गरी पहिलो चरणमा दुईवटा आइल्याण्डमा यो प्रणाली जडान गरेर सधैंँ पूmल फुलिरहने आइल्याण्ड बनाउनुपर्ने थियो । प्रणाली जडान भएर फूल फुलेको प्रतिवेदन प्राप्त भएको मितिले दुई वर्षसम्म सञ्चालन, व्यवस्थापन, नियमित मलजल, संरक्षण तथा सम्भार गर्ने काम एरोरुटको थियो । सम्भार खर्चको गणना प्रतिवेदन प्राप्त भएको मितिदेखि हुने थियो ।’

बिजुलीबाट चल्ने एरोपोनिक प्रणाली नेशनल एरोनटिक एण्ड स्पेस (नासा) ले आविष्कार गरेको हो । यस प्रणालीमा बिरुवाका लागि आवश्यक पर्ने पानी, पौष्टिक तत्व र अक्सिजन हुस्सुको फर्ममा जरासम्म पुर्याइन्छ । माटोमा हुर्कने बिरुवाले माटोमा भएको ठोस मल प्राप्त गर्छ । यस प्रणालीमा प्रविधिमार्फत बिरुवाका लागि आवश्यक खाद्यवस्तु जरासम्म पुर्याइन्छ । रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो