मन्त्रिपरिषद् बैठक आज: चार मन्त्रालय खारेज र ६ वटाको नाम फेर्ने खाका पेस गरिँदै

डिसी नेपाल
२१ वैशाख २०८३ ७:३२

काठमाडौं। प्रधानमन्त्रीले आज बिहान साढे १० बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। आजको बैठकमा विशेषगरी सरकारको प्रशासनिक व्ययभार कटौती र कार्यसम्पादनमा प्रभावकारिता ल्याउन मन्त्रालयहरूको पुनर्संरचना गर्ने सम्बन्धी महत्वपूर्ण खाका पेस गर्ने तयारी गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार हाल कायम रहेका मन्त्रालयहरूमध्ये चारवटालाई खारेज गर्ने र अन्य ६ वटा मन्त्रालयको नयाँ नाम कायम गर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको छ।

“केही मन्त्रालयहरू पूर्ण रूपमा खारेज भई अन्यमा गाभिनेछन् भने केहीका महत्वपूर्ण विभागहरूलाई मन्त्रालयबाट छुट्टाएर सिधै प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव आजको बैठकमा छलफल हुनेछ,” स्रोतले जानकारी दियो।

मन्त्रालयहरूको मर्ज र खारेजीको विस्तृत खाका तयार पार्न सरकारले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले संघीय सरकारमा मन्त्रालयको संख्या घटाएर १७ वटामा सीमित गर्न सुझावसहितको प्रतिवेदन बुझाएको थियो। आजको बैठकमा सोही कार्यदलको प्रस्तावमाथि केन्द्रित रहेर मन्त्रिपरिषद्ले ठोस निर्णय लिने सम्भावना छ।

सरकारले युवा तथा खेलकुद, खानेपानी, सहरी विकास र संघीय मामिला जस्ता मन्त्रालयहरूलाई अन्यसँग गाभ्ने र सूचना प्रविधि तथा विज्ञान-प्रविधि जस्ता रणनीतिक क्षेत्रलाई प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निगरानीमा लैजाने योजना बनाएको छ।

आजको बैठकले यसबारे औपचारिक निर्णय गरेमा नेपालको निजामती प्रशासनमा यो एउटा ठूलो र साहसिक सुधारको कदम मानिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *