सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

डिसी नेपाल
९ असोज २०८३ १६:०२

धनगढी । लगातारको भारी वर्षा, बाढी तथा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक बस सेवा रोकिएका छन्। सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाहरूका साथै धनगढीबाट काठमाडौँ, पोखरा लगायतका गन्तव्यतर्फ छुट्ने बस सेवा प्रभावित भएका हुन्।

विपद्को जोखिमका कारण यातायात व्यवसायीहरूले शुक्रबारदेखि आइतबारसम्मका लागि लामो दूरीका सवारीसाधन नचलाउने निर्णय गरेका छन्। सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहका अनुसार बिहीबारदेखि नै रात्रिबस रोकिएकोमा शुक्रबार बिहानदेखि पहाडी तथा विकट क्षेत्रका बस सेवा पनि स्थगित गरिएको छ।

धनगढीबाट काठमाडौंका लागि दैनिक छूट्ने १३ वटा र पोखराका लागि छूट्ने दुई वटा रात्रिबसको सेवा पनि दुई दिनका लागि बन्द गरिएको उनले जानकारी दिए।

सरकारको आग्रह र यात्रुको सुरक्षालाई ध्यानमा राखेर निर्णय लिइएको बताउँदै व्यवसायीहरूले मौसममा सुधार आएपछि मात्रै सेवा नियमित गर्ने जनाएका छन्।

लामो दूरीका बस नचल्दा यात्रुहरू छोटो दूरीका सवारीसाधन प्रयोग गर्न बाध्य भएका छन्। तर, कतिपय रुटमा छोटो दूरीका सवारीसाधनसमेत सहज उपलब्ध नहुँदा यात्रुले सास्ती खेप्नुपरेको छ। व्यवसायीहरूले तत्कालका लागि अनावश्यक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित यातायात कम्पनीसँग बुझेर मात्रै निस्कन यात्रुहरूलाई आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *