चितवनमा दुई महिनामै ४३ सवारी दुर्घटना, १५ जनाले गुमाए ज्यान

डिसी नेपाल
९ असोज २०८३ १६:२२

भरतपुर । चितवनमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा ४३ वटा सवारी दुर्घटना भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार ती दुर्घटनाहरूमा परि १५ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन्।

तथ्याङ्क अनुसार साउनको तुलनामा भदौमा दुर्घटनाको सङ्ख्या घटे पनि मानवीय क्षति भने दोब्बर भएको छ। साउनमा २३ वटा दुर्घटना हुँदा ५ जनाको मृत्यु र ६० जना घाइते भएका थिए। भदौमा भने २० वटा दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् भने २७ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु थापाका अनुसार तीव्र गति, लापरबाही, ट्राफिक नियमको उल्लङ्घन र सवारीको चापका कारण दुर्घटनाको जोखिम बढेको हो। गत आर्थिक वर्ष २०८२/८३ मा चितवनमा कुल ५४५ वटा सवारी दुर्घटना हुँदा १०५ जनाको मृत्यु र ९०२ जना घाइते भएका थिए।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जाँच र कारबाहीलाई तीव्र बनाएको छ। चालु आवको दुई महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ५५२ वटा सवारीसाधनलाई कारबाही गरी ३१ लाख ४८ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। जसमध्ये साउनमा १ हजार ८१० सवारीबाट १५ लाख ५१ हजार र भदौमा १ हजार ७४२ सवारीबाट १५ लाख ९७ हजार ५०१ रुपैयाँ राजस्व उठेको छ।

प्रहरीले सडक सुरक्षाका लागि नियमित जाँचका साथै चालक, विद्यार्थी र सर्वसाधारण लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको प्रयाससँगै चालक, यात्रु र पैदलयात्री सबैले सडक अनुशासन र नियमको पूर्ण पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *