सुदूरपश्चिमका ६ ग्रामीण अस्पतालमा सर्पदंश उपचार सेवा विस्तार गरिँदै, मृत्युदर घटाउने लक्ष्य

डिसी नेपाल
२१ वैशाख २०८३ ७:२३

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका ग्रामीण तथा दुर्गम क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ।

सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई ५० प्रतिशतले घटाउने राष्ट्रिय लक्ष्यअनुरूप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म यो सेवा पुर्‍याउन लागेको हो।

सोही योजनाअन्तर्गत डडेल्धुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउन लागिएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमका अनुसार नयाँ विस्तार गरिने केन्द्रहरूमा सेवालाई प्रभावकारी बनाउन चिकित्सक तथा आकस्मिक विभागमा कार्यरत स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गरिएको छ।

ग्रामीण भेगका नागरिकलाई समयमै उपचार सुनिश्चित गर्न स्वास्थ्यकर्मीहरूका लागि दुईदिने विशेष तालिम सञ्चालन गरी उनीहरूलाई सर्पदंश व्यवस्थापनमा दक्ष बनाइएको छ।

जिल्ला सदरमुकामका अस्पतालहरूमा पहिलेदेखि नै यो सेवा उपलब्ध भए पनि दुर्गम क्षेत्रमा उपचारको पहुँच नहुँदा विगतमा परशुराम नगरपालिका, तल्लो स्वराड र डोटी लगायतका क्षेत्रमा बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहँदै आएको थियो।

सर्पदंशको उपचारमा नेपाली सेनाको भूमिका पनि निकै महत्त्वपूर्ण देखिएको छ। कैलालीको बडैपुर र कञ्चनपुरको अर्जुनीमा सेनाद्वारा सञ्चालित उपचार केन्द्रहरूले नागरिकलाई प्रभावकारी सेवा प्रदान गरिरहेका छन् भने सेना र सरकारी अस्पतालबीचको समन्वयले व्यवस्थापनलाई थप सुदृढ बनाएको छ।

महाकाली प्रादेशिक अस्पतालमा भने विशेषज्ञ चिकित्सक र तालिमप्राप्त जनशक्तिका कारण विगत पाँच वर्षदेखि सर्पदंशबाट हुने मृत्युदर शून्य रहेको छ। पछिल्लो छ महिनामा मात्रै त्यहाँ आएका ३२ जना विषालु सर्पले टोकेका बिरामीको सफलतापूर्वक उपचार गरिएको अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले जानकारी दिएका छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार भौगोलिक विकटता, जनचेतनाको कमी र बिरामीलाई अस्पताल ल्याउनुको साटो झारफुक वा घरेलु उपचारमा अल्झाउने प्रवृत्तिका कारण सर्पदंशबाट मृत्यु हुने गरेको छ।

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बिरामीलाई एम्बुलेन्समा ल्याउँदा बाटोको अवस्थाका कारण ढिलाइ हुन सक्ने भएकाले ग्रामीण भेगमा मोटरसाइकलमार्फत तत्काल अस्पताल पुर्‍याउनु बढी प्रभावकारी हुने सुझाव दिएका छन्।

साथै, उनले पारिस्थितिक प्रणाली सन्तुलनका लागि सर्पको महत्त्व रहेको उल्लेख गर्दै सर्प मार्नुभन्दा टोकाइबाट बच्ने उपाय अपनाउनु बुद्धिमानी हुने बताए। सन् २०३० को लक्ष्य हासिल गर्न स्थानीय तहमा स्वास्थ्य पूर्वाधारको विकास र ‘एन्टिस्नेक भेनम’को सहज उपलब्धता अपरिहार्य देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *