काठमाडौं महानगरबाट दिइने अत्यावश्यकबोहक अन्य सेवा भदौ ८ सम्म बन्द

डिसी नेपाल
२७ साउन २०७७ २०:०९

काठमाडौं। काठमाडौं महानगरपालिकाले अत्यावश्यक र आन्तरिक प्रशासनबाहेक अन्य सेवा भदौ ८ गतेसम्मका लागि बन्द गरेको छ। मंगलबार भएको प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट सेवा बन्द गरिएको हो। कोभिड १९ भाइरसको संक्रमण समुदायस्तरमा फैलिँदै गएपछि यसबाट उत्पन्न हुन सक्ने जोखिम न्युनीकरण गर्न हिजो सभा गृहमा बसेको उपत्यका नगरपालिका फोरमको बैठकले उपत्यकाका स्थानीय तहबाट प्रवाह हुने सेवामध्ये अत्यावश्यकबाहेकका अन्य सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेको थियो।

महानगरले मंगलबार गरेको निर्णयका बारेमा प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने, ‘अत्यावश्यक सेवा प्रवाहमा खटिने कर्मचारी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कार्यालय आउनु पर्ने र अन्य सेवाका कर्मचारी कार्यालयले बोलाएको बेला आउन सम्पर्कमा बस्ने गरी निर्णय गरिएको हो। समुदायमा महामारीको जोखिम बढिरहेका बेला सार्वजनिक सेवा क्षेत्रको सम्भावित खतरा घटाउन अहिलेका लागि यो जरुरी निर्णय हो।’

यस निर्णयका आधारमा मंगलबार प्रशासन बिभागले बिभाग, महाशाखा, वडा, आयोजना, इकाइ र सचिवालयलाई परिपत्र गरेको छ। बिभागका प्रमुख नमराज ढकाल भन्छन्, ‘अत्यावश्यक सेवा प्रवाह गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने, भीडभाड नहुने गरी कर्मचारी र सेवाग्राहीलाई आलोपालोको व्यवस्था मिलाउने कुरा पत्रमा उल्लेख छ।’ ढकालअनुसार अत्यावश्यक सेवा प्रवाह गर्दा, यसैका आधारमा सजगता अपनाएर सेवा प्रवाह व्यवस्थापन गर्नुपर्नेछ।

वडाबाट प्रवाह हुने सेवा व्यवस्थापनको प्रत्याभूति गर्न वडा सचिवले वडाध्यक्षसँग समन्वय गरी अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्नेछ। यसो गर्दा कार्यालयमा भीडभाड हुन नदिने र सेवा प्रवाहको लागि कर्मचारीलाई आलोपालो खटाउनु पर्नेछ।

यस क्रममा सामाजिक भौतिक दुरी कायम गर्ने, स्यानिटाइजर र मास्क लगायतका सुरक्षा सामाग्री प्रयोग गरी स्वास्थ्य सुरक्षा प्रबन्ध मिलाउनु पर्नेछ।

फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा, सञ्चार तथा सूचना प्रविधि सेवा, नगर प्रहरी सेवा, विभाग, सचिवालय तथा वडा कार्यालयहरुले जरुरी ठानेका कामलाई अत्यावश्यक सेवाका रुपमा राखिएको छ।

अत्यावश्यक सेवाका लागि सार्वजनिक सवारी साधन प्रयोग गरी कार्यालय आउने कर्मचारीहरुको हकमा सम्भव भएसम्म कार्यालयको सवारी साधनमा पिक एण्ड ड्रपको व्यवस्था गर्नेछ। यस्तो व्यवस्था गर्न नसकेमा त्यस्ता कर्मचारीहरुलाई सम्बन्धित विभागीय प्रमुख तथा वडा सचिवको स्वीकृतिमा सञ्चित विदाबाट कट्टा नहुने गरी र निरन्तर सम्पर्कमा रहने गरी विदा दिन सक्ने निर्णय गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *