समयमै वस्ती नसार्दा लिदी पहिरोमा पुरिए ३७ घर, पहिरो जाने भन्दै पहिले नै सहयोग मागिएको थियो

खेमराज थापा
३० साउन २०७७ १८:५१

काठमाडौं। २०७२ मा गएको भूकम्पले थिलो थिलो बनाएको क्षेत्र हो सिन्धुपाल्चोक। त्यसैले त्यहाँ भूकम्पपछि हरेक वर्ष ठूल्ठूला पहिरो गइरहेका छन्। मानिसहरु पहिरोको गर्भमा पुरिरहेका छन्।

यो वर्षमात्र सिन्धुपाल्चोकमा दुई वटा ठूला पहिरो गइसकेको छ। गएको असाढ २५ गते बाह्रबिसे नगरपालिकामा पहिरो जाँदा २१ जनाको मृत्यु भयो। त्यसको करिब एक महिनापछि शुक्रबार बिहानै सिन्धुपाल्चोकले पहिरोको अर्को बितण्डा भोग्नु पर्यो। शुक्रबार बिहानै जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा परी बेलुका साढे ६ बजेसम्म ११ जनाको मृत्यु भइसकेको पुष्टि भइसकेको छ भने २७ जना अझै बेपत्ता रहेका छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार सो पहिरोमा ३७ घर परिवार पुरिएका छन्। उनले डिसी नेपालसँग भने, ‘३७ घर परिवारका ३८ जना पुरिएका हुन्। ती मध्ये ११ जनाको शव फेला परेको छ। अरुको खोजी कार्य जारी छ।’

उनका अनुसार पहिरोमा परी घाइते भएका ९ जनाको उपचार भइरहेको छ। ती मध्ये ५ जनाको हेलिकोप्टरमाफर्त उद्धार गरिएको छ। उनले डिसी नेपालसँग भने, ‘हेलिकोप्टरबाट उद्धार गरिएका मध्ये ४ जनाको चतरामा उपचार भइरहेको छ, एकजनालाई काठमाडौं पठाएका छौं।’ जिल्ला विपद् व्यवस्थापन समितिले शुक्रबार नै पीडितहरुलाई राहत पनि उपलब्ध गराएको उनले बताए। उनका अनुसार ४० परिवारका लागि राहत सामाग्री दिइएको छ। २ लाख नगद समे वितरण गरिएको उनले बताए। सरकारले निर्णय गरेअनुसार प्रतिमृतक एकलाखका दरले पनि राहत दिइने उनले बताए।

शुक्रबार बिहानै भएको जनधनको क्षति समयमै विचार पुर्याएको भए रोक्न सकिने अवस्था थियो। यतिमात्र होइन गाउँलेलाई त्यहाँ पहिरो जाने पूर्वाभाससमेत थियो। प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार लिदीका स्थानीयहरु केही दिन अगाडि आफ्नो वस्ती पहिरोको जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा आएका थिए। प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘केही दिन अगाडि उहाँहरु यहाँ आउनु भएको थियो, पहिरोको जोखिम रहेको बताउनु भएको हो। हामीले ३ सय पाल र टेन्ट दिएर पठाएका थियौं। पहिरोले क्षति नगरेको स्थानमा केही टेन्ट र पालमा बसेका छन्। यदि सबै टेन्ट र पालमा बसेको भए यो मानवीय क्षति हुने थिएन।’

पहिरो जाने पूर्वाभास हुँदा पनि समयमै सहयोग माग्दा पनि जोखिमको अवस्था नबुझ्दा ठूलो धनजनको क्षति हुन पुगेको छ लिदीमा। भूकम्पपछि राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले गरेको अनुसन्धानमा लिदीमा पहिरोको जोखिम रहेको देखिएको थियो। प्रमुख जिल्ला अधिकारी ढकालले अनुसन्धानमा यो क्षेत्रलाई पहिरो जोखिमको यल्लो जोनमा राखिएको जानकारी आफूले पाएको बताए। उनले भने, ‘आज पहिरो गएको क्षेत्रलाई एल्लो जोनमा राखिएको रहेछ। जोखिम थियो भने वस्ती सार्नुपथ्र्यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *