‘लकडाउन’ र ‘सिल’ मा के फरक छ? विज्ञ भन्छन्- प्रभावकारी भएन

तर्कबहादुर थापा
१ भदौ २०७७ १२:२०

काठमाडौं। सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने भन्दै गत वर्षको चैत्र ११ गतेबाट लागू भएको लकडाउन यही साउन ६ गते औपचारिक अन्त्य गरेको थियो। सरकारले लकडाउनको अन्त्य गरेपछिमात्र करिव ६४ जनाको मृत्यु भइसकेको छ भने करिव ८ हजार ६ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्।

सरकारले लकडाउनको औपचारिक अन्त्य गरेपछि कोरोनाको संक्रमण झन बढेपछि लकडाउनलाई प्रयोग नगर्ने नीति लियो र स्थानीय तहहरुलाई यो अधिकार दियो। हाल धेरैजसो स्थानीय निकायले ‘सिल’ गर्ने गरेका छन्।

‘यो सिल र लकडाउन धेरै फरक कुरा हो,’ काठमाडौं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तुल्सीराम पौडेलले भने, ‘लकडाउन देशभर नै हुन्छ। यसअघि लकडाउन गरिएको थियो। तर, सिल निश्चित ठाउँलाई गरिन्छ।’

‘सिल’ भनेको कोरोना संक्रमण भएको क्षेत्रलाई सिल गर्दा संक्रमितको सम्पर्कमा अर्को मान्छे नआओस र सम्पर्कमा आएकाहरुको स्वाब संकलन गर्न सजिलो होस भनेर प्रयोग गरिएको टुल्समात्र भएको सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका सूचना अधिकारी पौडेलले जानकारी दिए।

‘यो सिल र लकडाउन धेरै फरक कुरा हो, लकडाउन देशभर नै हुन्छ। यसअघि लकडाउन गरिएको थियो। तर, सिल निश्चित ठाउँलाई गरिन्छ।’

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘सरकारले स्थानीय तहलााई सिल गर्ने अधिकार दिएको छ। सिल गर्दा सामाजिक र भौतिक दुरी कायम होस्। संक्रमितको सम्पर्कमा अर्को व्यक्ति नआओस् र आइसकेकाको ‘कन्ट्रयाक्ट टे«सिङ’ गर्न सजिलो होस भनेर प्रयोग गरिएको टुल्समात्र हो सिल। यसमा जनजीवन सामान्य नै हुन्छ। आउजाउ गर्न पाउँछन्।’

सिल र लकडाउनका बारेमा प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायत सिल भनेको ‘मुभमेन्ट कन्ट्रोल’ मात्र भएको बताउँछन्। उनले भने, ‘लकडाउन भनेपछि पुरै बन्द भन्ने हो। सिल भनेको निश्चित एरियाको मुभमेन्ट कन्ट्रोल मात्र हो। हामीले निश्चित एरियाभित्र कोही आउजाउ नगरुन र संक्रमितको सम्पर्कमा कोही नआउन भन्नका लागि सिल गर्ने गर्छौं।’

तर, जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे भने नेपालमा गरिएको ‘सिल’ आधारहीन र नबुझिएर गरिएको बताउँछन्। उनले लकडाउन र सिल फरक भएको तर नेपालमा यी दुवै कुराको प्रयोगमा अपरिपक्वता भएको बताए। उनले भने, ‘पहिलो कुरा त लकडाउन र सिल गर्नु पर्ने अवस्था भन्दा फरक समयमा गरिएको पाइएको छ। फाटफुट देखिने अवस्थामा सिल गर्नु पर्ने हो तर नेपालमा लकडाउन भयो। हाल लकडाउन गर्नु पर्ने बेलामा सिल भनेर गरिदैँ छ।’

यसरी लकडाउन र सिल गर्ने कुरामा कमजोरी हुनुमा विज्ञहरुसँगको छलफलको कमी र अन्तर्राष्ट्रिय अभ्यासको कमि भएको बताए। उनले भने, ‘जव फाटफुट देखिन्छ अनि त्यो ठाउँलाई सिल गर्ने। सिल गर्दा एउटै परिवारका सदस्यहरु पनि बाहिर र भित्र रहन सक्छन्।’

उदाहण दिदैँ डा. पाण्डेले भने, ‘न्यू रोडको व्यवसायीलाई कोरोना संक्रमित भयो। उनी मानौं पेप्सीकोला बस्छन्। अब न्यूरोडलाई सिल गर्ने की पेप्सीकोला ? तर, हाम्रो देशको अभ्यास हेर्नेहो भने न्यूरोडलाई सिल गरिएको छ।’ मानववस्ती भएका गल्लीहरु र टोलहरुमा लकडाउन प्रभावकारी नभएका कारण अहिलेको अवस्था आएको उनले जिकिर गरे। उनले सिल पनि त्यस्तै प्रभावकारी नहुँने तर्फ संकेत गरे।

‘हामीले मेन रोड, मेन बजारमा लकडाउनको प्रभावकारी कार्यान्वयन भएको देखियो। गल्ली र टोलमा भएन।’ उनले भने, ‘सिल पनि यस्तै भयो भने कुनै पनि यस्तो टुल्सहरुको प्रयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रयमा प्रभावकारी हुँदैन।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *