खरिपाटी आइसोलेशन कक्षको अनुगमन

डिसी नेपाल
६ भदौ २०७७ २३:२६

भक्तपुर। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेशन कक्षको वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले अनुगमन गरेका छन्।

सरकारले खरिपाटीमा बनाएको क्वारेन्टिनलाई ५०० श्ययाको आइसोलेशन कक्ष बनाउन निर्देशन दिएपछि भक्तपुर अस्पतालको नेतृत्वमा हाललाई २०० श्ययाको आइसोलेशन बनाएपछि आज मन्त्री दुलालले अनुगमन गरेका हुन्।

सो अवसरमा उनलाई अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले आइसोलेशनको बारेमा जानकारी गराएका थिए। त्यसैगरी मन्त्री दुलालले भक्तपुर अस्पतालमा निर्माण भएको सघन उपचारकक्ष (आईसीयू) र आइसोलेशन सेन्टरको अनुगमन गरे।

अनुगमनका क्रममा अस्पतालका अध्यक्ष सुवाल र मेसु डा गौतमले सरकारको निर्देशनानुसार भक्तपुर अस्पतालमा ३० श्यया आइसीयू र आइसोलेशन तथा खरिपाटीस्थित २०८ श्यया गरी २३८ श्यया तयार गरिएको जानकारी गराए। खरिपाटीस्थित आइसोलेशनमा शनिबार १० र भक्तपुर अस्पतालमा चार बिरामी आइसोलेसनमा राखिएको उनले जानकारी दिए।

मन्त्री दुलालले भक्तपुर अस्पतालले खरिपाटीको आइसोलेशनलाई २०० बाट बढाएर ५०० श्यया पु¥याउन निर्देशन दिए। उपचारबाट कोही पनि बञ्चित हुन नहुने भन्दै उनले भक्तपुर अस्पतालमा थप दुईवटा भेन्टिलेटर भोलि नै प्रदेश सरकारको तर्फबाट पठाइदिने बताए।

तत्कालका लागि आईसीयू सञ्चालनका लागि शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकसमेत टोलीले आइसीयू सञ्चालन भएको जानकारी गराइएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *