संक्रमित भन्छन्, ‘आमा पाएका छौं’ उपमेयरले भनिन्, ‘सामाजिक सदभाव कायम राख्न गरेकी हुँ’ – Dcnepal

संक्रमित भन्छन्, ‘आमा पाएका छौं’ उपमेयरले भनिन्, ‘सामाजिक सदभाव कायम राख्न गरेकी हुँ’

काठमाडौं। कोरोनाले थला परेको जगत। समाजको दृष्टिकोण र व्यवहारबाट आत्महत्या गर्न वाध्य संक्रमित। सबै तिर कहर। अशान्त मनस्थिति। विचलित हुने अवस्थामा रहेको मानव सभ्यता। अझ भनौं प्रकृति र मानिसबीचको अघोषित महायुद्ध। पहिलो घेरामा रहेर युद्धभूमिमा होमिएका स्वास्थ्यकर्मी, दोस्रो घेराका सुरक्षाकर्मी, तेस्रो घेरामा रहेका जनप्रतिनिधिहरु।

समाजको व्यवहारले अविचलित रहलान् भन्न सकिँदैन। एकातिर कोरोना सर्ने डरले घरमा डेरा नदिने समा, अर्को तिर विरोधका नाममा मात्र विरोध गर्न समाज छ। अफ्ठेरोमा परेका जनप्रतिनिधिहरुले पनि विभिन्न आरोप प्रत्यारोप व्यहोर्दै आएका छन्।

सबै तिरबाट सबैको मनोबल खस्की रहेका बेला इटहरी उपमहानगरपालिकाकी उपमेयरले भने अलगै ‘युद्ध’ को सुरुवात गरेकी छन्। स्वास्थ्य लाभको कामना लेखिएको पत्र, फलफूल, कोरोनाका संक्रमितको लागि आवश्यक गुर्जो, अन्य औषधि र औषधि प्रयोग गर्ने तरिका सिकाइएको पर्चा, पलास्टिकको झोलामा हालेर संक्रमितको घरको गेटमा पुग्छिन् उनी।

झोला गेटमा झुण्ड्याउँछिन् र सोध्छिन केही समस्या छ? आफ्नो घरको दैलोमा उपमेयर जस्तो प्रतिनिधि र स्वास्थ्यकर्मी आउँदा खुसीले गद्गद् हुन्छन् परिवार, हर्षका आँशु बगाउँछन् विरामी। ओल्लो पल्लो घरले समेत कोरोना घर भनेर नामाकरण गर्ने समाजमा उपमेयरको पाइला परेपछि सबैको ध्यानाकर्षण हुन्छ। हरेकले आ–आफ्नो बालकोनीबाट हेर्छन् उपमेयरलाई।

‘कोरोना रोग हो। यो कुनै अपराध हैन,’ उपमेयरले सम्झाउँन थाल्छिन्, ‘ढिलो चाँडो सबैलाई यो रोग लाग्न सक्छ। आज तपाईँले गरेको व्यवहारले भोलि तपाईँलाई नै पोल्ने दिन आउँन सक्छ। हामी छिमेकी हौँ, जिउँदाको जन्ती मर्दाको मलामी हौं। सबैले यस्तो बेलामा सहयोग गर्नु पर्छ। स्थानीय सरकार तपाईँको साथमा छ।’

सबैले खुसी व्यक्त गर्छन्। हिजोसम्म कोरोना घर भनेर नामाकरण गर्ने समाज आफ्ना बारीमा फलेका तरकारी र फलफूलको पोको बनाएर उपमेयरले जस्तै गेटमा झुण्ड्याउँछन्। अनि उपमेयरको फोनको घण्टी बज्छ।

‘धन्यवाद उपमेयर साब हाम्रो छिमेकीले तरकारी बाँड्नु भयो। हामीलाई सहयोग गर्दै हुनुहुन्छ। सरकार छ भन्ने भान भएको छ। खुसी लाग्यो तपाईँ हाम्रो आगनमा आएपछि छिमेकीको व्यवहार चेन्ज भयो। हाम्रो आधा रोग निको भएको अनुभव भएको छ।’ ‘हामी त साह्रै खुसी छौं।’

‘कोरोना रोग हो। यो कुनै अपराध हैन, ढिलो चाँडो सबैलाई यो रोग लाग्न सक्छ। आज तपाईँले गरेको व्यवहारले भोलि तपाईँलाई नै पोल्ने दिन आउँन सक्छ। हामी छिमेकी हौँ, जिउँदाको जन्ती मर्दाको मलामी हौं। सबैले यस्तो बेलामा सहयोग गर्नु पर्छ। स्थानीय सरकार तपाईँको साथमा छ।’

एकजना संक्रमितले भनिन्, ‘म संक्रमित भएको १८/१९ दिन भयो। समाजले हामी संक्रमितलाई गर्ने व्यवहारबाट दिक्क भएकी थिएँ। आत्मबल गिर्दै गएको थियो। आत्महत्या गर्नेहरुले त्यसै गर्दैनन् होला जस्तो लाग्न थालेको थियो। उपमेयर आउनु भयो। के कस्तो छ भनेर सोध्नु भयो। हामीलाई फलफूल, औषधि ल्याउनु भएको थियो। खानु पाउनु ठूलो कुरा होइन्। उहाँ आउनु भयो त्यो सबैभन्दा खुसीको कुरो हो। हामी त एकदमै खुसी छौं। समाजको नजर पनि परिवर्तन भएको छ।’

‘हामीले त आमा पाएको महशुस गरेका छौं,’ ती संक्रमितले भनिन्, ‘जसरी एउटा परिवारमा भएको समस्याको बारेमा बुबाभन्दा धेरै आमाले बुझ्नु हुन्छ। हौसला र साहस दिनुहुन्छ। र, छोराछोरी माथि परेको बज्रपात रोक्ने साहस राख्नु हुन्छ। त्यस्तै गर्नु भएको छ उहाँले पनि। आफ्नो स्वास्थ्यको प्रवाह नगरी संक्रमितको घरघरमा पुग्नु भएको छ। समाजमा संक्रमितलाई हेर्ने गलत नजर रहेको थियो। सम्झाइ बुझाइ गर्नु भएको छ। अहिले समाजको हेराईँ पनि परिवर्तन भएको छ। साँच्ची मनैदेखि खुसी लागेको छ।’

संक्रमितहरुको प्रतिक्रिया बुझेपछि डिसी नेपालले उपमेयर लक्ष्मी गौतमसँग अनुभव माग्यो। गौतमले आफ्नो अनुभव सुनाउँदै थिइन्। ‘अहिलेसम्म होम आइसोलेसनमा बसेकालाई भेटिरहेकी छु। होम आइसोलेसनमा बसेकालाई समाजले गर्ने व्यवहारले उहाँहरुको आत्मबल कमजोर भयो होला भन्ने लागेर म आफै भेट्न गएकी हुँ।’

‘गुर्जोले कोरोना रोगप्रतिरोधात्मक क्षमता विकास गर्ने भएको हुँदा मैले बाँड्ने गरेकी छु,’ उनले भनिन्, ‘म गुर्जोसँग पहिलेबाट नै परिचित छु। त्यसैले आफैं जान्छु। हिजो पनि गएर ल्याएकी छु। अहिले गुर्जो बनाउँदै छु। आज मेयरसाबलाई पनि सँगै लिएर जाने तयारी गरेकी छु।’

उपमहानगरबासी आफ्नै परिवार जस्तो लाग्ने गरेको गौतमले सुनाइन्। उनी आफ्नो परिवारलाई परेको समस्यामा ठानेर डटिरहेकी छन्। एउटा परिवारलाई आमा भन्दा राम्रोसँग चिन्ने अवसर अरुले पाउँदैन्। घरको मुलमान्छे महिलाले जति घरभित्रका सदस्यको ख्याल गर्ने बारेमा सोच्छन्, त्यो भन्दा कम छैन लक्ष्मीको मनमा पनि। उनी पनि उपमहानगरको उपप्रमुख नै भएपनि आमाको भूमिकामा छन्।

आमाले गर्ने व्यवहार उपमहानगरबासीले पाएका छन्। ‘माया, ममता बाँड्दा, हौसला दिँदा धेरैको आधा रोग निको हुने गर्छ।’ लक्ष्मी भन्छिन्, ‘मैले नगरबासीलाई दिने हौसला हो। म छु चिन्ता नगर भन्छु। कोरोना संक्रमित भएकाहरु पनि घरमै बस्न रुचाएको मलाइ फोन आउँछ। उनीहरु अस्पताल भन्दा घरमा सुरक्षित हुने अनुभव सुनाउँछन्।’

समाजमा सदभाव कायम गर्न कै लागि आफू नै सक्रिय भएको लक्ष्मीको भनाइ छ। उनले गाउँमा कोरोना संक्रमितको घरमा आगो लगाइदिने जस्ता कुरा आफूले सुनेको र यो भएपछि त सदभाव खलबलिन्छ भनेर आफै यसमा लागेको सुनाइन्। गाउँको घटना सुनाउँदै उनले भनिन्, ‘एकजना भाइ विरामी पर्नु भएछ। अस्पतालमा लगेछन् र ल्याए छन् गाउँलेहरुले घरमा आगो लगाइदिन्छौ भने छन्।

उनलाई होटलमा लगेर राखिए छ। आखिरमा उहाँको रिपोर्ट पनि नेगेटिभ थियो। मैले सोचे कोरोना संक्रमण बढ्दो छ। आइसोलेसनमा राख्ने ठाउँ छैन समाजको व्यवहार पनि यस्तो भयो भने सदभाव खलबलिन्छ झै लाग्यो। कसरी सामाजिक सद्भाव कायम गर्ने भन्ने सोचेँ। र आफैबाट परिवर्तन सुरुवात गर्नु पर्छ झै लाग्यो र यो कामको सुरुवात गरेको हुँ।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो