अब बसमै जानुस् बेलायत ! दिल्लीदेखि लण्डनसम्म बस चल्ने, १८ देशमा स्टप, ७० दिनको यात्रा

डिसी नेपाल
११ भदौ २०७७ १२:५६

काठमाडौं। नेपालबाट बेलायतसम्म सार्वजनिक बस चढेर जाने कल्पना गर्नुभएको छ ? सिधा हवाइ मार्गबाट समेत ७ हजार ३३० किलोमिटर टाढा रहेको बेलायतको लण्डन पुग्ने सडक रुट २१ हजार किलोमिटरभन्दा धेरै लामो छ । यति लामो यात्रा सार्वजनिक बसमा गर्ने कल्पना गरिँदैन । तर, अब भने तपाइँ काठमाडौंबाट लण्डनसम्म बसमै पुग्न सक्नुहुन्छ त्यो पनि केवल २ वटा बसमा । काठमाडौंबाट ११ सय किलोमिटर टाढा नयाँ दिल्लीसम्म एउटा बसमा गएपछि तपाइँले नयाँ दिल्लीबाट सिधै लण्डन जाने बस पाउनुहुनेछ ।

काठमाडौंदेखि दिल्लीसम्म यसअघि नै सार्वजनिक बस संचालित छ । महामारीका कारण अन्तर्राष्ट्रिय सीमा बन्द हुनुपूर्वसम्म काठमाडौंदेखि दिल्लीसम्म ५ वटा बस संचालनमा थिए र यो बसको यात्रा करिब २० घण्टा लामो हुन्छ । अब नयाँ दिल्लीबाट लण्डनको लागि पनि सार्वजनिक बस चल्दैछ । यो बसले १८ वटा देश पार गर्दै लण्डन पुग्नेछ र यो यात्रा ७० दिन लामो हुनेछ । बेलायती अखबार द मिररका अनुसार यो रुटमा २०२१ देखि बस संचालन हुनेछ र यो रुट २० हजार किलोमिटर लामो हुनेछ ।

यो बसले युरोपका ठूला शहरहरु मस्को, भिल्नियस, पग, ब्रसेल्स, फ्रयांकफर्टसँगै उज्वेकिस्तानको तास्कन्द, समारकन्द पार गर्नेछ । कजाखस्तान छेउको क्यास्पियन सागरमा यो बसले पानीजहाजमार्फत समेत यात्रा तय गर्नेछ र चीनको गोबी मरुभूमि हुँदै अगाडि बढ्नेछ । चीनको ग्रेटवाल हुँदै चेंगडुमा जाइन्ट पाण्डा पनि यो यात्राको क्रममा हेर्न पाइनेछ । त्यसपछि यो चीनको सिल्क रुटमा अगाडि बढ्नेछ । यो बस भारत आउनुअघि म्यानमार समेत पुग्नेछ ।

यो बस २०२१ को जुलाइमा सुरु गर्ने तयारी गरिएको छ । एडभेन्चर्स ओभरल्याण्ड नामक कम्पनीले यो बस संचालन गर्न लागेको हो । कम्पनीका संस्थापक संजय मदन र तुषार अग्रवालका अनुसार उनीहरुले लामो यात्राको रुट संचालन गरेकोमा एउटा गिनिज बुक रेकर्ड र १५ लिम्का बुक रेकर्ड बनाइसकेका छन् । बसले १८ देश पार गर्ने भएकोले ती देशको प्रवेशाज्ञासहित अन्त कागजातको जिम्मेवारी कम्पनीले नै लिने अग्रवालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *