कुरीतिको घुम्टो हटाएर उदाएकी शान्ति – Dcnepal

कुरीतिको घुम्टो हटाएर उदाएकी शान्ति

काठमाडौं। नेपाली समाजमा छोरा र छोरीमा अझै विभेद कायम छ। दिनभरी भाषणमा छोरा छोरी र छोरी बुहारी बराबर हुन भन्नेले पनि साँझमा विभेद गरेका उदाहरणहरु धेरै छन्। सामान्यतः नेपाली समाजको परम्परा नै हो ‘छोरालाई काख, छोरीलाई पाखा’।

नेपाली मौलिक तीजका गीतमा समेत भनिएको छ, ‘नौ भाइ छोरा भए पनि एउटै घरमा अटाउने, म एक्ली छोरीलाई डाँडै कटाउने।’ साच्चिकै अहिलेको अवस्थामा आइसक्दा पनि छोरीले बुहारी भएर पराइ घर जानै पर्ने बाध्यता छ। कोही पनि छोरीले ज्वाईँलाई आफ्नो घरमा ल्याएर राख्ने आँट गरेका छैनन्।

छोरा र छोरीमा हुने विभेद जस्तै छोरी र बुहारीमा हुने विभेद त झन गहिरो छ। सासु बुहारी भने झगडाको परीपूरक सम्झिने गर्छ अहिले पनि नेपाली समाजले। नेपाली समाजमा भएको यो विभेदसँगै मुसहर समुदायमा त यसको प्रभाव अझै कति छ कति। तर, मुसहर समुदायमा भएको विभेदको घुम्टो उघारेकी छन् शान्ति सदाले।

छोरी पठाउनु हुन्न, बुहारीले अरुलाई मुख देखाउनु हुन्न भन्ने मान्यता रहेको मुसहर समुदायकी शान्ति त्यस्ती पात्र हुन् जसले स्नातकसम्मको अध्यायन पूरा गरेकी छन्। सिराहको गोलबजार घर भएकी शान्ति विगत २ वर्षदेखि काठमाडौंमा छिन्।

‘संगीत सिक्नकै लागि काठमाडौं आएकी हुँ।’ मुसरहर समुदायबाट भए पनि स्पष्ट नेपाली बोल्ने शान्तिले भनिन्, ‘कुरीतिको कालो बादल छ मेरो समाजमा। धेरै दुःख पाएकी छु मैले कु–संस्कार सँगको लडाइमा।’ छोरीलाई पढाउन हुँदैन भन्ने समुदायकी शान्तिले बुहारी भएर पनि पढ्न, लेख्न पाइन्। गीत गाउन पाइन्। खुसी छन् उनी।

नेपाली समाजमा छोरा र छोरीमा अझै विभेद कायम छ। दिनभरी भाषणमा छोरा छोरी र छोरी बुहारी बराबर हुन भन्नेले पनि साँझमा विभेद गरेका उदाहरणहरु धेरै छन्। सामान्यतः नेपाली समाजको परम्परा नै हो ‘छोरालाई काख, छोरीलाई पाखा’।

उनले भनिन्, ‘छोरी पनि पढाउनु हुन्न भन्ने समुदायको मान्छे हुँ म। तर, बुहारी हुँदा पनि पढन पाएँ। घरमा दादाहरुले पढ्नु पर्छ भन्नु भयो। म ९ कक्षा पढ्दा विहे भयो। विहे भए पछि पनि मैले पढेँ। व्याचुलर गरेकी छु।’ ‘यसै पनि छोरीको विहे सानै उमेरमा गरिन्छ हाम्रोमा।’

शान्तिले भन्दै थिइन्, ‘झन मेरो त आमाले विहे गरिदिने इच्छा जाहेर गर्नुभयो। दाइले बहिनी पढ्दै छ भन्दा पनि म मरिहाल्छु होला यसको विहे गरेको देख्ने रहर छ भन्नु भयो। दादाले पनि त्यो कुरा अस्वीकार गर्न सक्नु भएन र मेरो विहे भयो। विहे भएको १ वर्षपछि आमाले छोडेर जानु भयो।’

आमाले छोडेर जानुभए पनि आत्मा बनेर हरपल हेरचाह गरेको अनुभव हुने गरेको शान्तिले सुनाइन्। सासुआमाले आमाभन्दा कमी नगरेको उनको भनाइ छ। उनले सासु आमाले पनि आमाझै हरेक पाइलामा हात समाएर हिडाएको अनुभव सुनाइन। ‘सासु आमा पनि अब म सँग हुनुहुन्न।’

अलि विचलित हुँदै शान्तिले भनिन्, ‘सायद अबका यात्राहरु कठिन हुन्छन् होला। जुन लक्ष लिएकी थिएँ। जुन बाटोमा सासुआमाले हरेक पटक लड्दाखेरी उठाउनु भएको छ। अबको यात्रामा त्यो हुँदैन कि। कतिकति बेला अबको यात्रामा विचलित हुन्छु कि झैं पनि लाग्छ।’ शान्तिले श्रीमानले पनि सासु आमाको भूमिका निर्वाह गर्न सक्ने अपेक्षा व्यक्त गरिन्।

‘सासु आमा हुँदासम्म आमा नभएको पीर मेटियो। अब दुबै जना हुनुहुन्न तर पनि श्रीमान हुनुहुन्छ भन्ने लागेको छ।’ समाजमा उनी भन्दा बढी कु–रीतिका विरुद्ध सासुआमा लडेको उनको ठम्याइ छ। उनी सासु आमाले गरेको सहयोगको आजीवन ऋणी भएको सुनाउँछन्।

‘जति सासुआमा कुरीति र कुसंस्कारका विरुद्ध लड्नु भयो, मैले त त्यसको २० प्रतिशत पनि लडेन। म बुहारी भएर घर आएपछि पनि स्कर्ट, सर्ट लगाएर स्कुल जान थालेँ। बुहारीलाई पढाइस भने बिग्रिन्छ भनेर समाजले प्राहर गरेका वचन सासु आमाले छल्नु भयो। सधै गर्वका साथ भन्नु भयो मेरो बुहारी हो म पढाउँछु। बुहारी भएपछि मुख नदेखाउने समुदायकी मान्छे हुँ। तर, पनि सासु आमाको सहयोगले मैले यतिसम्मको यात्रा तय गर्न पाएँ।’

हरेक पाइलामा श्रीमानले साथ दिएको अनुभव छ उनीसँग। ‘किन पति परमेश्वर भनेको होला भन्ने सोच्थेँ,’ शान्तिले भनिन्, ‘साच्चिकै पति परमेश्वर नै हुँदा रहेछन्। यदि मैले परमेश्वर पति पाउँथिन भने मेरो जीवन के हुन्थ्यो होला। हरेक आशुँका थोपा उहाँको हौसलाले जमीन खस्न पाएनन्। म जेठो बुहारी हुँ। घरको सबै जिम्मेवारी काँधमा हुँदा पनि उहाँ (श्रीमान) ले सधैं तिम्रो कला, गलालाई मर्न दिनु हुँदैन भन्नुभयो। गीत गाउँन पाउँदिन होला भनेर श्रीमानको काखमा कति रोएँ। जति रोएँ सधै उहाँले तिमीले गर्नु पर्छ भन्नु भयो।’

शान्ति विगतमा २०/३० रुपैयाँ दाउराको भारी बजारमा लगेर बेचेको स्मरण गर्छिन्। ‘हाल काठमाडौंको बसाईमा पसल गरेकी छु,’ शान्तिले भनिन्, ‘दिनमै २०/३० हजारको व्यापार गरेकी छु। मलाइ याद छ आमासँग दाउराको भारी बोकेर बजारमा पुग्दा २०/३० रुपैयाँ भारीमा बेच्नु पथ्र्यो।’

आमा बुबाका ५ जना सन्तानमा सबैभन्दा कान्छि सदा आफूले र कान्छा दाइले मात्र पढन पाएको सुनाउँ छिन्। नेपाली, मैथली, भोजपुरी, हिन्दी, तामाङ र अंग्रेजी लगायतका भाषा बोल्ने र बुझ्ने क्षमता छ शान्तिमा। ‘सानैमा तामाङ समुदायसँग हुर्किएँ।

त्यसैले तामाङ र नेपाली भाषा सिकेकी हुँ। मैथली, भोजपुरी र हिन्दी त अधिकांशले बोल्नु नै हुन्छ।’ गीत संगीतको काममा विदेशयात्रा गर्ने उनको इच्छा रहेको छ शान्तिको। नेपाल भित्रका र भारतका केही ठाउँमा बुढा बुढीसँग गीत गाउन गएको उनले सुनाइन्।

शान्तिका श्रीमान पनि गाउँछन्। बुढा बुढीले नै गाएका मैथली र नेपाली भाषाका गीतहरु बजारमा छन्। ‘हिमाल पहाड घर हो मेरो, तराई हो आगन्’, ‘तिमी बाहिर खोज्छौ मलाइ’, ‘युवा तिमी ध्रुव तारा हौ’, ‘ए कान्छी घुमाउला तिमीलाई गोलबजार सहर,’ जस्ता धेरै नेपाली गितमा उनले आवाज दिएकी छन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो