कंगना र शिवसेनाबीच जुन मुम्बईका लागि विवाद भएको छ, त्यो बेलायतीले बिहेमा उपहार पाएका थिए

डिसी नेपाल
२७ भदौ २०७७ २२:३४

नयाँ दिल्ली (बीबीसी)। यो कुरा १९३० पहिला को हो। जतिबेला जलसेनाका अधिकारी केआरयू टोड कोलाबास्थित समुद्र तटको यात्रा गरिरहेका थिए, उनले एक ढुंगा फेला पारे। उनले सो ढुंगालाई त्यत्तिकै उठाएका थिए, तर त्यसलाई हातमा राख्दा उनलाई लाग्यो यो कुनै सामान्य ढुंगा होइन। यसपछि सोही ढुंगाको कारण मुम्बईको ऐतिहासिक टाइमलाइनबारे थाहा भयो।
हाल फिल्म अभिनेत्री कंगना रनौत र शिवसेनाका सांसद संजय राउत एकअर्काको तिब्र आलोचना गरिरहेका छन्। अभिनेता सुशान्तसिंह राजपूतको मृत्युपछि शुरु भएको विवादमा लगातार ‘मुम्बई कसको हो’ भन्ने प्रश्न उठिरहेको छ।

पाषणकालीन युगमा मुम्बई

आजको मुम्बईमा धनीभन्दा पनि धनी मानिसले केही मिटर जमीन पनि किन्न सक्दैन, तर यो थाहा पाउनु रोचक छ, मुम्बईको इतिहास पाषणकालीन युगमा एकअर्कादेखि टाढा रहेका प्रायद्वीपबाट शुरु हुन्छ।

मुम्बईमा सबैभन्दा पनि मानिसहरु कहिले पुगे भन्ने थाहा पाउन २५ लाख वर्ष पूर्व जानुपर्छ। त्यसलाई पुष्टि गर्ने प्रमाण छन्। नरेश फर्नान्डीसको पुस्तक ‘सिटी एड्रिप्ट’मा यसको जानकारी दिइएको छ।

जब १९३० मा बेलायती जलसेनाका अधिकारी केआरयू टोड कोलाबास्थित समुद्र तटमा घुमिरहेका थिए, त्यसबेला उनले एक ढुंगा फेला पारेका थिए। त्यो ढुंगा खासमा पाषणकालीन युगमा मानिसहरुको हतियार थियो। यो ढुंगा भेटाएपछि जलसेनाका अधिकारी निकै आकर्षित भए र उनले कोलाबा समुद्री तटमा अनुसन्धान शुरु गरे। उनले सोक्रममा यस्तै ५५ वटा ढुंगा फेला पारेका थिए। ती मध्ये केही मध्य पाषणकालमा मानिसहरुले प्रयोग गर्ने हतियार थिए भने केही जीवाश्म थिए।

आफ्नो यो अनुसन्धानमा टोडले १९३२ मा रिसर्च पेपर प्रकाशित गराए, जसको शीर्षक ‘बम्बईको प्रागऐतिहासिक मानव’ थियो। यसपछि १९३९ मा उनले अन्य रिसर्च पेपर ‘बम्बईको पुरापाषणयुगीन उद्योग’ रोयल आर्कोलोलिजकल इन्सिट्युटबाट प्रकाशित गरे।

१९२० मा ‘ब्याक बे रिक्लेमेशन स्कीम’अनुसार समुद्री तटलाई माटोले भरेर दक्षिण मुम्बई बनाइयो। यसका लागि कांदिवलीको पहाडबाट माटो र ढुंगा ल्याइएको थियो। जयराज सलगांवरले मुम्बई सिटी गजटमा मुम्बईमा मछुमाराको पाषणकालीन युगका मानिसहरुसँग कुनै सम्बन्ध रहेको हुन सक्ने बताएका छन्।

सलगांवरका अनुसार यी मछुमारा मुम्बईमा आर्य–पूर्वको गुजरातबाट आएका थिए। उनीहरुले आफूसँगै मुंबा देवीलाई पनि साथमा ल्याएका थिए। जो हाल मुम्बईकी पहिली देवी मानिन्छिन्।
गएका ७०–८० वर्षहरुमा मुम्बईलाई महाराष्ट्रबाट अलग गर्नुपर्ने, मुम्बई केन्द्र शासित प्रदेश बन्नुपर्ने र गुजराती नेताहरुले मुम्बईलाई गुजरातमा गाभ्नुपर्ने माग भइरहेका छन्।

यस पृष्ठभूमिमा हामी जब मुम्बईको इतिहास पढ्छौं भने लाग्छ मौजुदा समयमा के समयको चक्र उल्टिएको हो?

मानिसहरु आइरहे, समाज बन्दै गयो

मुम्बईको आर्थिक, सामाजिक र धार्मिक विकासका कैयौं चरण छन्। यो शहरमा कैयौं शासकले शासन गरे। विकासको चरणलाई हिन्दु काल, मुस्लिम काल, पोर्चुगिज काल, ब्रिटिश काल र स्वतन्त्रतापछिको समयका रुपमा वर्गीकरण गर्न सकिन्छ।

मौर्य वंशका शासक २५० ईसापूर्वमा उत्तरी कोंकण पुगेका थिए। यसपछि मुम्बई अन्य शासकको सम्पर्कमा आइरह्यो। मुम्बईको सेन्ट जेभियर्स कलेजकी प्राचीन भारतीय संस्कृति विभागकी प्रमुख डा. अनिता कोठारे मौर्यपछि उत्तरी कोंकणमा कैयौं शासकले शासन गरेको बताउँछिन्। उनले भनिन्, ‘कोंकणमा शासन गर्ने मौर्यलाई कोंकणका मौर्य पनि भनिन्छ। मौर्य वंशपछि सतवाहन वंशका अग्निमित्र नागपुर पुगे। कालीदासले आफ्नो महाकाव्यमा यसको चर्चा गरेका छन्। सतवाहन वंशपछि क्षत्रप वंशका मानिसहरु यहाँ आए, त्यसपछि व्यापारीहरु यहाँ आए।’
‘मुम्बईको आसपासमा कल्याण, ठाणे र नालासोपारा जस्ता बन्दरगाह छन्, यसैले शहरमा व्यापारीको आवतजावत लगातार बढ्दै गयो। यसपछि राष्ट्रकूट, यादव र शिलहार वंशको पनि शहरमा शासन रह्यो। यसपछि अरबी आए। यसको अर्थ के हो भने मुम्बई आसपासको क्षेत्र व्यापारिक गतिविधिका कारण पहिलादेखि नै कास्मोपोलिटन थियो।’

मुस्लिम र पोर्चुगिच काल

मुम्बई कहिलेदेखि मुस्लिम शासकको अधिनमा गयो, यसको मिति स्पष्ट छैन। तर १३ औं देखि १५ औं शताब्दिका बीचमा राजा बिम्बले माहिम द्वीपमा शासन गरे र गुजरातका सुल्तानले मुम्बईमा शासन गरे। गुजरातका सुल्तानले १५३४ मा मुम्बईलाई पोर्चुगिजलाई दिए।

पोर्चुगिच पहिला दीव, वसई र मुम्बई जस्ता क्षेत्रमा स्थापित भए। पछि उनीहरुले अन्य क्षेत्रमा पनि व्यापार बढाए। पोर्चुगिच शासकले त्यो बेला अन्य व्यापारी र धान खेती गर्नेहरुबाट कर असुल गर्थे। उनीहरुले एक किसिमले जलसेनाको बेसक्याम्प तयार गरेका थिए। त्यति नै बेला बेलायतीहरुमा पनि मुम्बईप्रति आकर्षण बढ्यो।

१६१२ मा सावलीमा भएको युद्धपछि बेलायती मुम्बई पुगे। उनीहरुले मुम्बईको महत्व बुझेका थिए। उनीहरु जलसेनाको वेसक्याम्प बनाउन चाहन्थे। त्यसैले उनीहरुले मुम्बईलाई पोर्चुगिचबाट हासिल गर्ने कोशिस शुरु गरे। अन्तमा २३ जुन १६६१ मा इंग्ल्याण्डका महाराजा चाल्र्स द्वितीय र पोर्चुगिच राजकुमारी क्याथरीको विवाह भयो। पोर्चुगिच शासकले यो विवाहको उपहार स्वरुप मुम्बईलाई बेलायतीलाई दिए।

ब्रिटिश शासन

ईस्ट इन्डिया कम्पनीले मुम्बईमा शासन शुरु गरेपछि उसले विभिन्न क्षेत्र र व्यापारलाई व्यवस्थित गर्न शुरु गर्यो। १६८५ मा ईस्ट इण्डिया कम्पनीले आफ्नो व्यापार सूरतदेखि मुम्बई पुर्याउने निर्णय गर्यो। चाल्र्स बुनले मुम्बई शहरलाई चौतर्फ किल्ला बनाए र सुरक्षाका लाति तोपको व्यवस्था गरे। उनले पोर्चुगिचसँगको सबै सम्बन्ध तोडेर उनीहरुको सम्पत्ति पनि जफत गरे। उनले पोर्चुगिच पादरीलाई मुम्बई छोड्ने आदेश दिए। यसपछि मुम्बईको विकास तिब्र रुपमा हुन थालयो। यहिदेखि मुम्बई एक व्यापारिक केन्द्रबाट शहरका रुपमा विकास हुन थाल्यो।

मराठाहरुको डर

ब्रिटिश शासनका क्रममा सबै लेनदेन मुम्बईको किल्ला भित्रै हुन्थ्यो। उनीहरुले यो क्षेत्रलाई पूरै किल्लाबन्दी गरेका थिए। हरेक क्षेत्रमा सुरक्षाको व्यवस्था थियो। तरपनि उनीहरु सुरक्षित अनुभव गरिरहेका थिएनन्। मराठाहरुले पोर्चुगिचलाई पराजित गरेर वसईलाई नियन्त्रणमा लिएका थिए। यसले ब्रिटिशरुको चिन्ता बढ्यो।

मराठाहरु मुम्बईको सीमासम्म पुगेको थाहा पाएपछि मुम्बईको सुरक्षाका लागि उनीहरुले यसमा काम गर्न थाले। मराठाहरु वसईपछि बान्द्रा र कुर्लातर्फ अगाडि बढेका थिए।

यसपछि ईस्ट इण्डिया कम्पनीले क्याप्टेन जेम्स इनकिबर्डलाई चिमाजी अप्पासँग भेट्न वसई पठाए। इनकिबर्ड चिमाजी अप्पाका १५ शर्तसहित मुम्बई फिर्ता भए।

यसपछि क्याप्टेन गोर्डनले सतरामा गएर छत्रपति शाहू महाराजसँग भेट गरे। इनकिबर्डले पनि पुणे गएर बाजीराव प्रथमसँग भेटे।

१७५५ मा बेलायतीहरुले सुवर्ण किल्लामा कब्जा जमाए। र यसपछि १७६१ मा मराठाले पानीपतमा पहिलो युद्ध हारे। यसबाट ईस्ट इण्डिया कम्पनीलाई फाइदा भयो।

१९ औं शताब्दीको मुम्बई

मुम्बई र बिट्रिशको सम्बन्धलाई लिएर १९ औं शताब्दी निकै महत्वपूर्ण रह्यो। १८)३ मा वसई सन्धीमा हस्ताक्षर भयो। यो सम्झौतापछि मराठा शासनको अन्त शुरु भयो र १८१८ मा मराठा शासन पतन भयो।

यसपछि मुम्बई पुग्ने प्रत्येक गभर्नरले मुम्बईलाई न्यायपालिका, राजस्व ब्यबस्ता र शिक्षा ब्यबस्थाको केन्द्र बनाए। उनीहरुले समयसँगै परिवर्तन गर्दै गए। टाउन हल, मिन्ट, म्यूजियम जस्ता भवनहरुको निर्माण भयो।

१८५३ मा रेलवेको शुरुआत भयो। १८५७ मा स्वतन्त्रता संग्रामको पहिलो आवाज पनि मुम्बईमै सुनिएको थियो। तर, ब्रिटिश शासकहरुले त्यसको दमन गरे। १८५७ मा मुम्बई विश्वविद्यालयको स्थापना भयो। मुम्बईको विकास गर्नुमा सबैभन्दा धेरै योगदान हेनरी बार्टेल फरेरेको छ। जो १८६२ मा त्यहाँ तैनाथ थिए। उनले मुम्बईमा भवनहरुको निर्मार्ण शुरु गरे। उनकै समयमा मुम्बई नगरनिगमको शुरुआत भयो। यससमयमा मुम्बईमा उद्योग धन्दाको विकास भयो र जनसंख्या पनि बढ्न थाल्यो। १९ औ शताब्दीको उत्ताराद्र्धमा नयाँ भवन र अस्पतालहरुको निर्माण भयो। यसैक्रममा व्यापारिक, सामाजिक र आर्थिक रुपमा मुम्बई विकासको शिखरमा पुग्यो।

स्वतन्त्रताभन्दा पहिलाको समय
मुम्बई शहर पूरा मुम्बई प्रान्तको मुख्यालय थियो। मुम्बईको जनसंख्या २० औं शताब्दीको शुरुदेखि नै बढ्न थाल्यो। यसका साथै मुम्बईमा स्वतन्त्रता आन्दोलमा तिब्र हुन थाल्यो। काँग्रेसको गठनपछि मुम्बई स्वतन्त्रता आन्दोलनको केन्द्र पनि बन्यो। सामाजिक, आर्थिक र राजनीतिक सुधारका साथै मुम्बईले स्वतन्त्रतातर्फ पाइला अगाडि बढायो।

स्वतन्त्रतापछिको तस्वीर

भारतलाई १९४७ मा स्वतन्त्रता प्राप्त भयो। जबकी बिट्रिश ३२५ वर्ष पहिला भारत आउका थिए। राज्य पुनर्गन आयोगको निर्देशन अनुसार १९५६ मा मुम्बई राज्य बनाउने निर्णय गरियो। यसमा कच्छ र सौराष्ट्रका क्षेत्र पनि समावेस गर्ने प्रस्ताव थियो। यसका साथै मध्य प्रदेशको नागपुर डिभिजन र हैदराबादको मराठावाडा क्षेत्र पनि समावेस गरियो। मराठी बोल्नेहरुले जहाँ सँयुक्त महाराष्ट्र गठनको माग गरिरहेका थिए, उता गुजराती बोल्नेहरु गुजरातको माग गरिरहेका थिए। दुबैतर्फ मागहरुलाई लिएर आन्दोलन पनि भयो। अन्तमा एक मे १९६० मा एक अलग राज्यका रुपमा महाराष्ट्रको गठन भयो। गुजराती बोल्नेहरुलाई गुजरात र मराठी बोल्नेहरुलाई महाराष्ट्र प्राप्त भयो।

मुम्बई महाराष्ट्रको राजधानी बन्यो। स्वतन्त्रता पछि पनि व्यापारिक लेनदेन मुम्बईबाटै भइरह्यो। फरक फरक दलका सरकार बने। शताब्दीदेखि विभिन्न जाति तथा र्धमका मानिसहरु यहाँ बस्दै आएका छन्। हिन्दु, मुस्लिम, पारसी, सिख, यहुदी र बौद्ध धर्मका मानिसहरुको मुम्बईको विकासमा महत्वपूर्ण योगदान छ। (बीबीसी हिन्दीबाट अनुवाद)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *