प्रहरीमा संक्रमणको जोखिम बढ्दै जाँदा शान्ति सुरक्षा प्रभावित हुने चिन्ता

डिसी नेपाल
२९ भदौ २०७७ २०:४१

काठमाडौं । शान्ति सुरक्षाको मूख्य जिम्मेवारी वहन गरिरहेको नेपाल प्रहरीभित्र कार्यरत अधिकृत, जवानहरुमा कोरोना संक्रमण बढ्दै गएपछि शान्ति सुरक्षा प्रभावित हुनसक्ने चिन्ता बढेको छ । प्रहरी प्रधानकार्यालले संक्रमण बढ्दै गएपछि उच्च सर्तकता अपनाउन निर्दैशन दिँदै सो चिन्ता व्यक्त गरेको हो ।

प्रधानकार्यालय स्रोतका अनुसार संक्रमण बढ्दै गएपछि दुई दिन यता उच्च अधिकृतहरुबीच संक्रमण न्यूनिकरणबारे छलफल भएको छ । यद्यपी गृहमन्त्रालयले सावधानी अपनाउन भने पनि प्रहरीमा पर्याप्त स्वास्थ्य सुरक्षा सामाग्री नहुँदा संक्रमणको जोखिम बढ्दै गएको छ । शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीभित्र संक्रमण जोखिम बढेको प्रहरीको निष्कर्ष छ । कार्यक्षत्रमा खटिएका प्रहरीमा संक्रमण हुँदा व्यारेक नै सिल गर्नुपर्ने, कार्यालयको काम नै बाहिरबाट गर्नुपर्ने र त्यहाँ कार्यरत रहेका भन्दा फरक स्थानबाट डिउटी खटाउनु पर्ने अवस्था आएपछि शान्ति सुरक्षामा असर पर्ने चिन्ता बढेको हो ।

काठमाडौं उपत्यकामा हुने भीडभाड, चोरी डकैती तथा सार्वजनिक यातायात खुलेपछि झन संक्रमण बढ्ने प्रहरीको निष्कर्ष रहेको छ । ‘ सरकारले दशैंको लागि लामो दुरीको सार्वजनिक यातायात खोल्यो भने त्यसमा हुने भीड व्यवस्थापन, चाडवाडको बेलामा हुनसक्न चोरी डकैती नियन्त्रण तथा भैपरी आउन दूघर्टनाको क्रममा प्रहरी परिचालन हुँदा संक्रमणको जोखिम छ’, प्रधानकार्यालय निकट स्रोतले भन्यो, ‘तर हामी यो जोखिम कम गर्ने उपाएसहित परिचालिन हुने तयारीमा छौं ।’

प्रहरीले त्यसका लागि सबै प्रहरीलाई पीपीई लगायतका स्वास्थ्य मापदण्ड पूरा भएका सामाग्रीसहित परिचालन गर्ने तयारी गरेको छ । ‘हामीले पीपीई बनाउने भनेका छौं तर त्यसका लागि प्रयाप्त बजेट छैन। नियमित बजेटले पुग्दैन गृहमन्त्रालयलाई यो विषयमा जानकारी गराइएको छ जवाफ आएको छैन’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो । स्रोतका अनुसार गृहमन्त्रालयले अहिलेसम्म त्यो विषयमा छलफल समेत गरेको छैन ।

‘जोखिम भत्ता त अहिलेसम्म उपलब्ध हुन सकेको छैन सबैलाई पीपिई उपलब्ध हुन्छ भन्ने अपेक्षा त छैन तर पनि तालुकदार मन्त्रालय भएकाले कुरा राखेका छौ’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने । उनका अनुसार देशभर नै जोखिम छ । दुई नम्बर प्रदेश र वाग्मती प्रदेशमा सबैभन्दा बढी जोखिम छ । साथै काठमाडौं उपत्यकामा पनि समूदायस्तरमै संक्रमण फैलिएकाले झन जोखिम रहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि मातहत निकायलाई जोगिएर डिउटी गर्न निर्दैशन दिएको छ । ‘प्रहरी सँधै फ्रन्टलाईनमा खटिने भएकाले जति नै जोगिए पनि संक्रमणको खतराई भैरहन्छ’, प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले भने । अहिलेसम्म जोगिएर नै धेरै कम संक्रमण भएको उनको दावी छ । अहिले सबैभन्दा बढी नेपाल प्रहरीमै संक्रमितहरु रहेका छन् ।

प्रहरीमा चार डीआईजीसहित २ हजार ६ सय ४२ जनालाई कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ८ सय ६६ प्रहरी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । काठमाडौमा रहेका संक्रमितहरुलाई दुई नम्बर गणको आइसोलेशन कक्ष र प्रहरी अस्पतालमा राखिएको छ भने लक्षण नदेखिएका सिनियर अफिसरहरुलाई आफ्नै घरका आइसोलनशमा बस्न आग्रह गरिएको छ ।

प्रहरीले असोज महिनामा यो संख्या दोब्बर बढ्न सक्ने अनुमान गरेको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै सडकमा सवारी चाप बढेको , डिपार्टमेण्ट स्टोर र सपिङ मलहरु खुलेका तथा अन्य बजार क्षेत्रमा पनि भीडभाड बढेको कारण प्रहरीको डिउटी पनि बढ्दै गएको छ । प्रहरीले सबैलाई सामाजिक दुरी कायम गर्न र मास्क अनिवार्य लगाउन आग्रह गरे पनि भीडभाड भने कम गर्न नसकिएको गुनासो गर्न थालेका छन् । ‘भीडभाड कम गर्नुस भन्यो हामीमाथि गाली गर्न थाल्छन् त्यसकरण समस्या बढ्ने र समस्या आएसँगै संक्रमणको जोखिम रहेको छ ’, महानगरीय प्रहरी परिसरका एक प्रहरी अधिकृतले भने । उनका अनुसार काठमाडौं उपत्यकामा बजार खुलेसँगै सावधानी अपनाउन भनिएको र माइकिङ समेत गरेको भए पनि सर्वसाधारणले वेवास्था गरिरहेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सुशीलकुमार यादवले कोरोना भाइरस रोग तनाव मापन स्केल भन्ने फारम भराएर प्रहरी जवानको डिउटी विवरण र कन्ट्राक्ट विवरण समेत राख्ने गरेका छन् । ‘ हामीले कोरोना संक्रमण फैलिन नदिन र सजिलै कन्ट्राक्ट टे«सिङ होस भनेर फारम भराएका छौं त्यसले पनि सबै प्रहरी जवानसम्म फैलिन नदिन सहयोग पुग्छ’, प्रवक्ता यादवले भने । उनका अनुसार अहिलेसम्म सावधानी अपनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *