सिन्धुपाल्चोकमा प्राकृतिक विपत्ति : २०७१ साल यता ३ हजार ८ सय ४ जनाको मृत्यु
काठमाडौं। बुधबार विहानै सिन्धुपाल्चोकको राम्चे केन्द्र विन्दु भएर ६ रेक्टर स्केलको भूकम्प भयो। भूकम्पले सिन्धुपाल्चोक आसपासका क्षेत्र राम्रैसँग हल्लायो। राजधानी काठमाडौंमा सुतिरहेका मानिस घर बाहिर निस्किएका थिए। यद्यपि भूकम्को क्षतिको विवरण प्राप्त भइसकेको छैन।
पछिल्लो समय सिन्धुपाल्चोकमा नियमित जस्तो प्राकृति विपत्ति पर्न थालेको छ। जसबाट ठूलो संख्यामा जनधनको क्षति भएको छ। २०७१ साल यता सिन्धुपाल्चोकमा ठूला प्राकृतिक विपत्तिमा परी ३ हजार ८ सय ४ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो पटक भदौ २७ गते शनिबार बाह्रबिसे नगरपालिका–७ घुम्थाङको भीरकोट, नेवारटोल र नागपुजेमा भीषण पहिलो जाँदा ३१ जना बेपत्ता भएका थिए। ती मध्ये १५ जनाको शव फेला परेको छ भने १६ जना बेपत्ता भएका छन्। उनीहरुको पनि मृत्यु भएको प्रहरीले आशंका गरिएको छ।
गत साउन ३० गते जुगल गउँपालिका–२ गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोले ३७ घर पुर्यो। पहिरोमा पुरिएर बेपत्ता भएका ३९ जना मध्ये ३७ जनाको शव फेला परेको छ भने दुई जना अझै बेपत्ता भएका छन्।
उनीहरुको पनि मृत्यु भएको प्रहरीले आशंका गरेको छ। उनीहरुको खोजी भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। साउन १८ गते मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकै पहिरोमा परी ८ जना मजदुरको मृत्यु भएको थियो। सोही दिन बरुवा स्वास्थ्य चौकीसँगै जोडिएको घर पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको थियो।
यसैगरी असार २४ गते बाह्रबिसे नगरपालिका–५ को जम्बु बजारमा माथिबाट आएको पहिरोले बस्ती पूरै पुरिएर दुई जनाको मृत्यु भएको थियो भने १७ जना बेपत्ता भएका थिए। बेपत्ताको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ। उनीहरुकाले अहिले पनि खोजी जारी रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
सोही दिन भोटेकोशी गाउँपालिकाको बुल्कुटेमा पहिरो जाँदा एक जनाको मृत्यु भएको भने तीन जना बेपत्ता भएका छन्। बेपत्ताको मृत्यु भएको प्रहरीको अनुमान छ।
यसैगरी असार ३१ गते राति भेटेकोशी गाउँपालिकाको फुल्पिङ गाउँमा पहिलो खस्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो। यसैगरी २०७२ साल वैशाख १२ गते आएको विमानकारी भूकम्पका कारण सिन्धेलाल्चोकमा मात्रै ३ हजार ५ सय ७१ जनाको मृत्यु भएको थियो। २०७१ साल साउन २७ गते जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भएको थियो।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्राकृति विपत्तिको क्षति र जोखिम कम गर्न स्थानीय प्रशासनले काम गरिरहेको बताएका छन्।
‘प्राकृतिक विपत् थाहा दिएर आउने होइन,’ प्रजिअ ढकालले डिसी नेपालसँग भने, ‘प्रशासनले क्षति र जोखिम कम गर्न काम गरिरहेको छ। हामीले राहत र उद्धारका काममा कमी आउन दिएका छैनौं।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment