नेपालमा भूकम्पको सम्भावित खतराबारे २ महिनाअघि प्रकाशित वैज्ञानिक शोधपत्रमा के छ ?

डिसी नेपाल
३१ भदौ २०७७ ८:४७

काठमाडौं। नेपालमा आज बिहान मात्र शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोक र तीब्रता ६ म्याग्नेच्युडको रहेको नेशनल सिस्मोलोजिकल सेन्टरले जनाएको छ । भूकम्पबाट नेपालमा त्रासको वातावरण बनेको छ । यसले के कति क्षति भयो भन्नेबारे आधिकारिक जानकारी आइसकेको छैन । ५ वर्षअघि २०७२ मा शक्तिशाली भूकम्प झेलेका नेपालीले त्यो पीडा अझै बिर्सन सकेका छैनन् । यही कारण पनि आजको भूकम्पले निकै त्रासको वातावरण बनाएको हो ।

नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा रहेको वैज्ञानिकहरुले यसअघि नै बताउँदै आएका छन् । नेपाल जुन ठाउँमा अवस्थित छ त्यहाँको जमिनमुनिबाट हिमालयन प्लेट्स र फल्ट्स सुरु हुन्छन् । यी प्लेट्स र फल्ट्स भारतीय टेक्टोनिक प्लेट्स र फल्ट्ससँग जोडिएका छन् । २ महिनाअघि प्रकाशित एक वैज्ञानिक शोधपत्रमा भारतीय टेक्टोनिक प्लेट्स र फल्ट्स लगातार हिमालयतर्फ सरिरहेकोले यहाँ भूकम्पको उच्च जोखिम रहेको बताइएको थियो । यसबारे २ महिनाअघि डिसीनेपालमा समाचार प्रकाशित भएको थियो ।

युनिभर्सिटी अफ अल्बर्टाका शोधकर्ताहरुले गरेको अध्ययनमा यस्तो खतरा पत्ता लागेको हो । शोधकर्ताहरुले नेपालमा पेट्रोलको खोजीको क्रममा जमिनभित्र फरक किसिमका आवाजहरु सुनेको बताएका छन् । यी आवाजहरु, जमिनको सतह र टेक्टोनिक प्लेट्समा लगातार भइरहेका परिवर्तनका आधारमा शोधकर्ताहरु यस्तो निष्कर्षमा पुगेका हुन् । शोधकर्ताहरुको पूरा शोधपत्र अमेरिकाको वैज्ञानिक जर्नल प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज (पीएनएएस) मा प्रकाशित गरिएको छ । यो शोधपत्र पहिलो पटक गएको जुलाइ १३ (असार २९) मा प्रकाशित भएको थियो ।

शोधकर्ताहरुका अनुसार यो भूकम्पले सबैभन्दा धेरै असर नेपालको दक्षिण पश्चिम क्षेत्रमा गर्ने अनुसन्धानले देखाएको छ । शोधपत्रका अनुसार नेपालमा आउने भूकम्पको लागि गंगा नदीको बहाव क्षेत्रको तल जमिनभित्र हुने परिवर्तन मुख्य रुपमा जिम्मेवार हुनेछन् । युनिभर्सिटी अफ अल्बर्टाका शोधकर्ता माइक डुभालका अनुसार उनको टिमले नेपालको हिमालय क्षेत्रको जमिनको तल तीव्र रुपमा भइरहेका परिवर्तनहरुलाई रेकर्ड गरेका छन् । यी परिवर्तनले बाक्लो बस्ती भएका क्षेत्रमा विनाश ल्याउन सक्ने उनले चेतावनी दिए ।

माइक डुभालको टिमले नेपालको जमिनको तलको लेयरको अध्ययन गरेका छन् । अध्ययनमा उनीहरुले नेपालको पहाडी जमिनको तलको लेयर गंगा नदीको बहाव क्षेत्रको तलको लेयरसँग जोडिएको पाएका छन् । गंगाको तलको जमिनबाट लगातार आवाजहरु आइरहेका छन् जसले गंगाको तल ठूलो हलचल भइरहेको बताउँछन् । यसको सीधा असर नेपालमा पर्नेछ । माइकका अनुसार हिमालयको तल जमिनका लेयरहरूको ठूलो र जटिल संजाल छ । यो यतिसम्म जटिल छ कि यसलाई बुझ्न निकै कठिन छ । कुन चाहीँ फल्ट कतिबेला हल्लिन्छ र त्यसबाट कति ठूलो भूकम्प आउँछ भन्ने अहिल्यै भन्न सहज छैन ।

नेपालमा पछिल्लो एक शताब्दीमा २०७२ को भूकम्पबाहेक अर्को ठूलो भूकम्प आएको छैन । तर, जमिनमुनि लगातार हलचल रेकर्ड भइरहेको छ । यो हलचलले ठूलो परिवर्तनको संकेत गर्छ र यो परिवर्तनका कारण नेपालमा कुनै पनि बेला ठूलो भूकम्प आउन सक्छ । यो भूकम्पले भयानक विनाश ल्याउने शोधकर्ताले चेतावनी दिएका छन् । यही टिमका जोन वाल्ड्रनका अनुसार आम रूपमा फल्टहरु करिब एक हजार वर्षको आसपासमा एक अर्कासँग ठोक्किन्छन् वा स्लिप हुन्छन् । नेपालको जमिनभित्र एक यस्तो फल्ट छ जुन कुनै पनि बेला सर्न सक्छ । यसबाट भयानक भूकम्पको खतरा छ ।

जोनका अनुसार नेपाल जुन ठाउँमा अवस्थित छ त्यहाँको जमिनमुनिबाट हिमालयन प्लेट्स र फल्ट्स सुरु हुन्छन् । भारतीय टेक्टोनिक प्लेट्स र फल्ट्स लगातार हिमालयतर्फ सरिरहेका छन् । यो दबाबका कारण गंगाको बहाव क्षेत्रको तलको जमिनबाट आवाज आइरहेका छन् । यी आवाजले यहाँ जमिन हल्लिन सक्ने बताइरहेका छन् । नेपाल भारत सीमा क्षेत्र र नेपालको दक्षिण पश्चिमी क्षेत्र बाक्लो जनसंख्या भएको क्षेत्र हो । यदि भूकम्प आएमा यहाँ भयानक विनाश हुनेछ । त्यो भूकम्प २०७२ को भन्दा शक्तिशाली हुन सक्ने समेत वैज्ञानिकले चेतावनी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *