‘स्वाब दिएपछि रिपोर्ट नआउँदासम्मको समय साह्रै तनावपूर्ण’

डिसी नेपाल
३१ भदौ २०७७ ९:३६

म एपी वान टेलिभिजनमा काम गर्छु। एपी वानबाट आउने नेपाल आइडलको डाइरेक्टर भएकै कारण सधैं काममा गइरहनु पर्ने भयो। कोरोनाका कारण ग्राण्ड फिनाले अफिसबाट नै गर्ने भन्ने कुरा भएको थियो। जुन दिन ग्राण्ड फिनाले हुने दिन बेलुका ५ बजेसम्म भोटिङको समय छुट्याएका थियौं। त्यसैले ५ बजेपछि मात्र रिजल्टको काम मात्र लाइभ गर्ने भन्ने सोचमा थियौं। यो कुरा भदौ १२ गते शुक्रबारको थियो।

दिउँसो नै हामीसँगै काम गर्ने एकजना भाइले मलाइ त साह्रै जिउ दुख्न थाल्यो दाइ भन्नु भयो। अब अहिलेको बेला सबैभन्दा पहिला शंका जाने भनेकै कोरोना हो। मैले कोरोना नै चेक गराउनुहोस् भने। उहाँले स्वाब दिनु भयो। उहाँ अहिले पनि संक्रमण मुक्त हुनु भएको छैन।

हामीले अनुरोध गर्यौं, बेलुकी हाम्रो यस्तो कार्यक्रम छ। रिपोर्ट चाडैँ भए राम्रो हुने थियो भनेर। बेलुका ५ बजे रिपोर्ट पनि आयो। भाइको रिपोर्ट पोजेटिभ आएपछि हाम्रो टिमको आपतकालीन बैठक बस्यो र हामीले ग्राण्ड फिनालेको रेकर्ड नगर्ने, अध्यक्षज्यूले रिजल्ट घोषणा गर्ने भन्ने निर्णय भयो।

सबै आ–आफ्नो घरमा सुरक्षित भएर बस्ने भन्ने कुरा भयो। शुक्रबारको त्यो घटना भयो। अनि शनिबार सबै घरमै बस्यौं। म पनि शनिबारसम्म त ठिकै थिएँ। आइतबार मलाइ १०१ डिग्री ज्वरो आयो। मैले अफिसमा खबर गरेँ। ज्वरो आएपछि शंका त स्वभाविकै हो। हामीले सबैजनाको चेकअप गराउने भन्ने कुरा गर्यौं। सोमबार झण्डै १ सय ४० जना एकैपटक स्वाब संकलन गरियो। त्यसमध्ये ४÷५ को पोजेटिभ आयो।

शुक्रबारदेखि नै हामी एक प्रकारको आइसोलेसनमै थियौं। हामी करिव १ सय जना भन्दा बढीको टिमसँगै बसेर काम गर्नु पर्ने, कहिले. कतै खाना समेतसँगै खानु पर्ने भएका कारण हामी सबैमा त्रास थियो। सोमबार सबैको रिपोर्ट गएपछि मैले डाक्टरलाई फोन गरेँ।

डाक्टरले मलाइ सरकारी अस्पतालबाट फोन आउँछ भन्नु भयो। उहाँले त्यसो भने पछि मैले आफूलाई मानसिक रुपले तयार गरेँ। मैले पहिले नै नेगेटिभ भएको खबर सम्बन्धित अस्पतालले नै दिने। पोजेटिभ भएको फोन मात्र सरकारी अस्पतालले आउँछ भन्ने कुरा सुनेको थिएँ।

म आफ्नै घरमा विश्व स्वास्थ्य संगठनले तयार पारेको प्रोटोकल अनुसार होम आइसोलेसनमा बसेँ। होम आइसोलेसनमा बसेको २ दिनपछि मात्र मलाइ फोन आयो। सरकारी स्तरबाट आउने फोनले पनि कतिपयलाई त हतोत्साहित नै बनाउँदो रहेछ भन्ने मेरो अनुभव छ।

स्वाब दिएको अस्पतालले सरकारी अस्पताललाई भन्ने, उसले जिल्ला, स्थानीय निकाय र वडासम्म पुग्दा त सबैलाई प्राय थाहा नै भइसकेको हुने। स्थानीय निकायमा फोन गर्ने कस्ता मान्छे राखेका छन् मलाइ थाहा छैन। तर, मलाइ मात्र हो कि अरुलाई पनि यस्तो हुन्छ थाहा भएन। मलाइ त एउटा अपराधिलाई नै फोन गरे जस्तो अनुभव हुने गरी फोन आयो।

मलाइ २ पटकसम्मको परीक्षणबाट पनि कोरोना पोजेटिभ नै आएको थियो। स्वाब संकलन गरेको दिनदेखि रिपोर्ट नआउँदाको दिनसम्मको समय भनेको एकदमै भयानक हुँदो रहेछ। मैले त अनुभव गरेँ। धेरैको आत्मबल त्यो समयभित्र कम भइसक्दो रहेछ।

मैले पनि के होला कसो होला भन्ने सोची रहेँ। मैले त विनम्रका साथ अनुरोध नै गर्ने भन्ने सोचेको छु। सकेसम्म स्वाब लिएपछि रिपोर्ट चाडैँ दिउँ। रिपोर्ट दिएपछि पनि सरकारी कार्यालयको तर्फबाट गरिने फोनमा पनि अलिकति हौसला प्रदान गर्ने खानको फोनहरु गरौं। कुरा गरौँ।

म त यो समाजमा नयाँ थिएँ। धेरैलाई म संक्रमित भएको कुरा पनि थाहा भएन होला। तर, मेरो नजिकैको छिमेकिलाई भनेको थिएँ। उहाँ छिमेकिले मलाई राम्रो व्यवहार गर्नु भयो। तर, सरकारी अस्पताल कि वडाबाट आउने फोन भने साह्रै अत्यास लाग्दो आयो। उहाँहरुको फ्लोअप गर्ने नीति होला। बोल्दा त कोरोना संक्रमितलाई राहत पुग्ने तरिकाले बोल्ने कि अपराधिलाई खबरदारी गरे जस्तै तरिकाले बोल्ने त। यो चाहीँ मलाई एकदमै बिज्यो।

खाने कुरामा त त्यस्तो केही होइन, डाक्टरहरुले मलाइ ज्वरो बढेमा सिटामोल खानुहोला भन्नु भएको थियो। हामीले गुर्जो, बेसार पानी, ड्राइफूडहरु जस्तै, काजु, बदाम, किसमीस जस्ता चिजहरु बढी खाइयो। आफूलाई सकारात्मक राखियो।

घरमा त म एकदमै टाढिएको महशुस गरेँ। बाध्यता थियो, मैले खाएको भाडाँ आफै धुन्थे। श्रीमतीले मलाइ भात ल्याएर अर्को भाडाँबाट मेरो भाँडामा खन्याउँ थिइन्। मैले उठाएर लिएर आफ्नो कोठामा खान्थे। सबै भाँडा मैले बेलुकी आफै माझ्थेँ। कपडा पनि आफै धुन्थेँ। १५ दिनसम्म एक्लै बस्दाको पीडा त भनि साध्य छैन। सामाजिक मान्छे भइसकेपछि हामी कहिलै पनि त्यसरी बस्ने अनुभव थिएन। यो बेलामा त साह्रो भयो त।

अझ पीडाको कुरा त मैले अघि पनि गरेँ। स्वाब लिएर रिपोर्ट नआउँदासम्म त निद पनि नलाग्ने भोक पनि नलाग्ने, छटपट छटपट हुने, र सरकारी अफिसरहरुको तर्फबाट आएको फोनले आफू अपराधी पो हुँ की झै फिल गराउने। यो दुइवटा कुरा सुधार्न जरुरी देखेको छु। १ रिपोर्ट चाँडो दिनु पर्छ। २ सरकारी अफिसरले कोरोनाको संक्रमितलाई फोन गर्दा अपराधी हैन विरामी हो भन्ने  कुरा सम्झाउनुपर्छ।

पौडेलसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *