मास्क लगाएर पाटन उच्च अदालत प्रवेश निषेध ? कोरोना महामारीमा कसरी जाने त अदालत ?

डिसी नेपाल
१ असोज २०७७ ७:५२

काठमाडौं। नेपाल सरकार र स्वास्थ्यकर्मी सबैले घरबाट बाहिर निस्कदा मुखमा मास्क अनिवार्य लगाउन भन्दै आएका छन्। लकडाउनको समयमा मास्कविना घरवाहिर निस्कनेलाई त प्रहरीले घरसमेत फर्काएको थियो। तर, उच्च अदालत पाटनको मुख्य गेटको सूचना हेर्नुभयो भने तपाईंलाई मास्क लगाएर अदालत पस्न प्रतिबन्ध लगाइएको सूचना पढ्न सक्नुहुन्छ।

अदालतको प्रवेशद्वारमा राखिएको अदालत प्रवेश गर्दा के के गर्नु हुन्छ, के के गर्नु हुँदैन भन्नेसम्बन्धी सूचना एउटा बोर्ड नै बनाएर टांसिएको छ। सो बोर्डमा अदालतको इजलासभित्र पस्दा के के कुरा सर्वसाधारण र अन्य सरोकारवालाले पालना गर्ने भन्ने कुराहरु उल्लेख गरी १० बुँदे सूचना टाँसिएको छ। ‘इजलासभित्र प्रवेश गर्दा पालना गर्नुपर्ने कुराहरु’ शीर्षकको सूचनाको दोस्रो नम्बरमा लेखिएको छ,—‘ह्याट, कालो चस्मा तथा नकाव(मास्क) नलगाउनु होला।’

लुगा कस्तो लगाउनेसम्मका नियमहरु त्यहाँ उल्लेख गरिएको सो सूचनामा मास्कबारे किन यस्तो कुरा लेखिएको हो? के अदालतलाई कोरोनाले छोएको छैन? वा अदालतभित्र प्रवेश गरेपछि कोरोना हराउँछ? मानिसहरु यो सूचना पढेर अदालतभित्र प्रवेश गरेका छन् तर प्राय कसैले पनि पालना गरेका छैनन्।

किनकि कोरोना कहरमा अदालत पुग्ने बाध्यता परेकाहरु पनि मास्क लगाएरमात्र जाने गरेका छन्। अदालतमा बहश गर्ने वकिलहरु, अदालतमा कार्यरत कर्मचारी र न्यायाधीशहरु समेत मास्क नै लगाएर अदालत प्रवेश गर्ने गरेका छन्।

सो अदालतमा कार्यरत एक कर्मचारीका अनुसार, यो सूचना कोरोना महामारी आउनुअघि नै टाँस गरिएको हो। सूचना हटाउनका आगि अदालतका माथिल्लो तहका कर्मचारीको आदेश जरुरी छ। ‘खै कुनै श्रीमान् (उच्चतहका कर्मचारी) ले पनि हटाउनु भन्नुभएको छैन’, नाम उल्लेख नगर्ने सर्तमा अदालत परिसरमा भेटिएका एकजना कर्मचारीले भने, ‘वास्तवमा यो सूचनामा श्रीमानहरुको आँखा नै परेको छैन।’

अदालतभित्र प्रवेशको नियम टांस भएको सूचनाबारे ‘श्रीमान’ हरुलाई थाहा नहुनुले अदालत प्रशासनको हेलचेक्र्याइँ पुष्टि गर्दैन र?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *